रिपोर्टबुधवार, जेठ ३०, २०७५

युवाका सिर्जनात्मक उद्यम

रमेशकुमार

परम्परागत र घरानियाँ व्यवसायको दबदबाबीच अर्थतन्त्रलाई चलायमान बनाउने नौला र सिर्जनात्मक उद्यमले गति समात्न थालेको छ ।

बाइक राइडर्सका लागि सेफ्टी गेयर उत्पादन गर्न लगानी खोजिरहेको ‘हिमालयन एक्सेसोरिज’ ले जेठको पहिलो साता काठमाडौंमा ‘एन्जेल इन्भेष्टर्स’ (सम्भावित लगानीकर्ता) हरूको गतिलै भन्न सकिने जमघट गरायो ।

कार्यक्रममा संस्थाका प्रवर्तकहरूको ‘बिजनेस आइडिया’ सुनेपछि सहभागीहरू रु.४० लाख ऋण लगानी गर्न तयार भैहाले । नवप्रवद्र्धनात्मक उद्यममा लगानी गर्न उत्सुक ‘एन्जेल इन्भेष्टर्स’ जुटाउन नेपालमा गरिएको यो अभ्यास सम्भवतः पहिलो थियो । 

पूँजी अभावमा थन्किएका तर राम्रो व्यावसायिक सम्भावना भएका ‘इनोभेटिभ आइडिया’ प्रवद्र्धन गर्ने ‘एन्जेल इन्भेष्टर्स’को अवधारणा अन्य देशहरूमा अभ्यासमा रहे पनि नेपालका लागि नौलो नै हो ।

नवीनतम उद्यमका खाकालाई लगानी गरेर परिपक्व बनाउन सहयोग गर्ने ‘सीड इन्भेष्टर्स’ होउन् वा स्थापना भैसकेका उद्यमलाई विस्तारित पार्ने ‘भेन्चर क्यापिटल’, सिर्जनात्मक व्यवसायलाई गति दिन नौला तौरतरिका खोज्न थालिएको छ ।

यसले पूँजी र व्यवसायको परम्परागत अवधारणामा बदलाव ल्याएको छ । त्यस्तै, स्टार्टअपका लागि इकोसिस्टम बनाउन मार्गनिर्देश गर्ने संस्थाहरू पनि जन्मिइरहेका छन् ।

राजनीतिक संक्रमण, नीतिगत अस्थिरता, पूर्वाधार अभाव र अन्य व्यावसायिक चुनौतीका कारण ठूला लगानीकर्ता हच्किइरहेका बेला कल्पनाशील नवउद्यमीहरू जुर्मुराउँदैछन्, नौला–नौला उद्यमका खाका बोकेर । चुनौतीकै बीच अवसर सिर्जना गर्ने खूबी भएका कल्पनाशील उद्यमीहरूले इच्छाशक्ति र मिहिनेतको बलमा आफ्ना व्यावसायिक सपनालाई साकार बनाइरहेका छन् ।

न पारिवारिक विरासत, न ठूलो पूँजी ! नवीनता बोकेका र स्थापित व्यवसायीको आँखामा नपरेका स–साना लगानीका उद्यम (स्टार्टअप) हरूले नजानिंदो तरिकाले हाम्रो व्यावसायिक परिदृश्यलाई बदल्दैछन् ।

र, रोजगारी सिर्जना एवं अर्थतन्त्रको पैयाँलाई चलायमान बनाउन खोज्दैछन् । “स्टार्टअपहरूको सानोतिनो लहर नै शुरू भएको छ”, स्टार्टअप अभियन्ता तथा नवउद्यमीका लागि मार्गनिर्देश र लगानी प्रवद्र्धन गर्ने संस्था अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनाल भन्छन्, “यसलाई अभियानकै रूपमा अघि बढाउनुपर्छ ।”

अवसर छ
मनोहर अधिकारीले ८ वर्षअघि यौटा कोठाबाट शुरू गरेको खाना र खाजा पुर्‍याउने ‘फुडमाण्डु’ अहिले सफल उद्यममा दरिइसकेको छ । उनले घर वा कार्यकक्षबाट फुडमाण्डु डटकममा एक क्लिक गरेर रोजाइको खाना अर्डर गर्न सकिने नौलो व्यवसाय थालेका थिए ।

अहिले काठमाडौंमा नाम चलेका २२० रेस्टुरेन्ट उनको सञ्जालमा जोडिएका छन् । फुडमाण्डु अनलाइन मार्फत अर्डर गरेपछि तिनका परिकार तात्तातै आइपुग्छ । प्रति महीना १२ हजार अर्डर पाउन थालेका अधिकारीले व्यवसायलाई पोखरामा पनि विस्तार गर्दैछन् ।

त्यस्तै, एक दशकअघि यौटा कम्प्युटरबाट विश्वास ढकालले थालेको ई–सेवाले नेपाली सूचनाप्रविधिको क्षेत्रमा कायापलटै गरिदिएको छ । अमेरिकाबाट फर्किएर केही समय अन्योलमा बिताएका आशिष अधिकारीले थालेको रेडमड क्याफे उसैगरी फैलिरहेको छ । “

नयाँपन र लगनशीलता भए स्टार्टअपलाई स्थापित गर्न सकिन्छ भन्ने यी उदाहरण हुन्” अभियन्ता खनाल भन्छन्, “गर्न खोज्नेलाई नेपालमा अवसरै अवसर छ ।” खनालले भने जस्तै, नौला उद्यममा भाग्य अजमाउन खोज्ने युवाले अवसर समात्ने प्रयास जारी राखेका छन् ।

खासगरी, विदेशबाट फर्किएका उद्यमशील चेत भएका युवाले स्टार्टअप अभियानलाई गति दिएका छन् । लुगाफाटा धोइदिने अनलाइन लाउण्ड्री सेवा होस् वा अनलाइन औषधि पसल, बोलाएको ठाउँमा ट्याक्सी सर्भिस दिने सारथि होस् या घर–अफिस सफा गरिदिने क्लिन एण्ड फ्यासिलिटी म्यानेजमेन्ट वा कवाडी सामानको डिजिटल प्लेटफर्म खाली सिसी, नयाँ–नयाँ उद्यमले बजारमा स्थान जमाउँदै गर्दा तपाईं हाम्रो दैनिकीलाई सहज पनि पारिरहेका छन् ।

पारिवारिक विरासत, पूँजी र धितो राख्ने सम्पत्ति नहुनेलाई नयाँ उद्यम फलामको च्युरा सरह छ । पूँजीमा पहुँचको अभावकै कारण उद्यमशीलता फस्टाउन सकेको छैन । ब्याङ्क तथा वित्तीय संस्थाले व्यावसायिक परियोजनालाई धितो नमान्दा सिर्जनशील उद्यमीहरू हात बाँधेर बस्न बाध्य छन् । उद्यम शुरू वा विस्तार गर्न पूँजी जुटाइदिने संस्थाहरूको क्रमिक उदयले पछिल्ला वर्षहरूमा महत्‍वपूर्ण फेरबदल ल्याएको छ ।

स्टार्टअपहरूमा शुरूमा बीउ पूँजी मार्फत लगानी हुन्छ । दोस्रो चरणमा विस्तारको सम्भावना हेरेर एन्जेल इन्भेष्टर्स मार्फत लगानी जुटाइन्छ । तेस्रो चरणको लगानी शेयर स्वामित्व साझेदारी गर्ने गरी भेन्चर क्यापिटलिस्टबाट जुटाइन्छ ।

सम्भावना भएका इनोभेटिभ आइडियालाई व्यवसाय बन्ने अवसर दिन बीउ पूँजी लगानी गरिदिने सीड इन्भेष्टर्सहरू पनि देखिन थालेका छन् ।

व्यावसायिक सिर्जनाशीलता, अठोट र लगनशीलता भएका नवउद्यमीलाई लगानी गरेर स्थापित गराउने राष्ट्रिय/अन्तर्राष्ट्रिय संस्थाहरू थपिइरहेका छन् । अन्तरप्रेरणा सहितका संस्थाहरूले नवउद्यमीलाई दिशानिर्देश, तालिम इत्यादिमा सहयोग गरिरहेका छन् । “स्टार्टअपहरूलाई प्रोत्साहनका लागि इकोसिस्टम विस्तार हुँदै गएको छ, जुन असाध्यै सकारात्मक हो”, अर्का स्टार्टअप अभियन्ता अभय पौडेल भन्छन् ।

साना तथा मझैला व्यावसायिक आइडिया र कार्यान्वयन क्षमता भएका उदीयमान कम्पनीलाई सहयोग गर्न बिजनेस अक्सिजन, डोल्मा इम्प्याक्ट फण्ड, वान टु वाच लगायतका संस्थाले सहयोग गरिरहेका छन् ।

बीड म्यानेजमेन्ट, एभरेष्ट क्यापिटल, सफल पार्टनर्स, बिरुवा भेन्चर्स, ट्रु नर्थ एशोसिएट्स, लगायतका संस्थाले पनि सहयोग गरिरहेका छन् । उदीयमान उद्यमीहरूलाई साझ्ेदारीमा लगानी गरिदिने भेन्चर क्यापिटलको अभ्यास क्रमशः बढ्दैछ ।

जस्तो, कुमुद सिंह र साथीहरूले शुरू गरेको काठमाण्डू कफीलाई नेदरल्याण्डको आईसीसीओ इम्प्याक्ट इन्भेष्टमेन्टको सहयोग छ । फुडमाण्डुले ट्रु नर्थफेस मार्फत भेन्चर क्यापिटल भिœयाएको छ ।

लगानीयोग्य पूँजी र सम्पत्ति नभए पनि व्यावसायिक सम्भावना भएका परियोजना विस्तार गर्न भेन्चर क्यापिटलले ऋण भन्दा इक्विटी (शेयर पूँजी) का रूपमा लगानी गरिदिन्छ ।

बिजनेस अक्सिजनले सात वटा परियोजनामा ३० लाख डलर (करीब रु.३० करोड) लगानी गरिसकेको छ । अर्को भेन्चर क्यापिटल वान टु वाचले १५ परियोजनामा ४० लाख यूरो लगानी गरेको छ । भेन्चर क्यापिटलले सम्भावना भएका कम्पनीलाई व्यावसायिक उँचाइमा पुर्‍याउने लक्ष्य राख्छ ।

जस्तो, नेपालमा पर्वतारोहणसँग सम्बन्धित सामानहरू उत्पादन गर्दै आएको शेर्पा एड्भेन्चरले अमेरिकी भेन्चर क्यापिटलको लगानीसँगै ३२ देशबाट उत्पादन गर्ने भएको छ । जर्मन भेन्चर क्यापिटल रकेट इन्टरनेटले प्रवद्र्धन गरेर व्यावसायिक उँचाइमा पुगेको दराज अनलाइन शपिङ साइट भने भर्खरै चिनियाँ अलिबाबा समूहले किनेको छ ।

छैन सरकारी नीति
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१५ मा स्टार्टअपको देशव्यापी विस्तार अभियान घोषणा गरेका थिए । सन् २०१६ देखि सञ्चालनमा आएको यो अभियानमा नवउद्यमीलाई प्रवद्र्धन गर्न १० हजार करोड भारुको फण्ड खडा गरिएको छ ।

यो अभियानले अपेक्षित प्रतिफल नदिएका रिपोर्टहरू आइरहे पनि साना–ठूला शहरहरूमा नवउद्यमको लहर भने सिर्जना भइरहेको विश्वास गरिन्छ । त्यसले रोजगारी सिर्जना र आर्थिक विकासलाई गति दिने आशा गरिएको छ ।

नेपालमा भने स्टार्टअपहरूलाई प्रोत्साहन त टाढाको कुरा, प्रष्ट अवधारणाको समेत अभाव छ । स्टार्टअप नीति बनाउन सरकारले दुई वर्षअघि समिति गठन गरे पनि काम अघि बढेन ।

नरोत्तम अर्याल नेतृत्वको समितिले तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई बुझाएको नीतिको मस्यौदा अलपत्र परेको छ । त्यस्तै, स्टार्टअपहरूलाई सहयोग गर्न बजेट मार्फत भएका घोषणाहरू पनि घोषणामै सीमित भएका छन् । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष २०७१/७२ को बजेटमा घोषणा गरेको रु.५० करोडको स्टार्टअप फण्ड कार्यान्वयनका लागि कुनै खाका नबनेपछि त्यसै थन्कियो ।

त्यसयता च्यालेन्ज फण्डका नाममा हरेक वर्षजसो बजेटमा यो विषय दोहोरिए पनि कार्यान्वयन हुनसकेको छैन । अहिलेको बजेटमा पनि नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यमीलाई व्यवसाय सञ्चालन गर्न शुरूआती पूँजी दिन च्यालेन्ज फण्डको व्यवस्था गरेको उल्लेख छ ।

विदेशबाट फर्केका युवालाई नयाँ उद्यम शुरू गर्न रु.१० लाखसम्म ऋण दिने भनिएको छ, तर कार्यान्वयनको खाका छैन । छ त केवल यो कोष अर्थ वा उद्योग मन्त्रालयमध्ये कसले सञ्चालन गर्ने भन्ने विवाद ।

नवउद्यमीहरूको व्यावसायिक सिर्जनशीलता जोगाउन सरकारले नै शुरूआती सहयोग गर्ने चलन संसारभरि छ । त्यसका लागि स्टार्टअप फण्ड मात्र होइन, व्यवसायलाई सफल बनाउन परामर्श, दिशानिर्देश समेत दिइन्छ । अमेरिकामा केन्द्रीय कार्यालय रहेको वेबसाइट निर्माता पेजभ्याम्पका संस्थापक अतुल्य पाण्डे आफ्नो नवीनतम सोचको प्रवद्र्धनका लागि शुरूमा अमेरिकी सरकारले कानूनी र अन्य सहायता गरेको बताउँछन् ।

एन्जेल इन्भेष्टर्स र पछि उद्यम विस्तारका भेन्चर क्यापिटलको समेत सहयोग पाएपछि त पेजभ्याम्पले पछाडि फर्केर हेर्नुपरेको छैन । पाण्डेले दुई साथी लिएर शुरू गरेको यो स्टार्टअप अहिले नेपाल सहित ८० देशमा फैलिएको छ ।

नेपालका सरकारी अधिकारीहरूमा स्टार्टअप र यसको इकोसिस्टमबारे प्रष्ट धारणा नै नबनेको अभियन्ताहरूको भनाइ छ । उनीहरूका अनुसार, उद्यमशीलता बढाउने उत्पे्ररणामा सरकारको पहलकदमी विल्कुलै अपुग छ ।

बिजनेस अक्सिजनका प्रबन्ध निर्देशक सिद्धान्तराज पाण्डे भेन्चर क्यापिटल लगायतका विषयमा पनि कानूनी र नीतिगत अस्पष्टता रहेको बताउँछन् । परिणाम, कतिपय भेन्चर क्यापिटललाई स्टार्टअपहरूमा लगानी गरेर लाभांश लैजान कानूनी जटिलता छ ।

साना र मझैला नवउद्यमलाई प्रोत्साहन गर्न स्थापित औद्योगिक व्यवसाय विकास प्रतिष्ठान स्टार्टअपलाई परामर्श दिनमा सीमित छ । ३५ जना नवउद्यमीलाई तालीम र परामर्श दिएको प्रतिष्ठानका निर्देशक श्रीरञ्जन वस्ती बताउँछन् । तर, तीमध्ये ८ जना मात्र व्यवसायमा छन् ।

घरेलु उद्योग विभाग अन्तर्गतको बिजनेस इन्कुभेसन सेन्टर पनि प्रभावकारी छैन । सरकारी अधिकारीहरूले स्टार्टअपको खास चरित्र नै बुझ्न नसकेको अभियन्ता खनालको अनुभव छ । “स्टार्टअपमा नवीनतम सोच, दृष्टिकोण सहितको मौलिकता हुनुपर्छ र यसले भ्यालु एडिसन गर्नुपर्छ” उनी भन्छन्, “स्टार्टअपको खाकामै प्रतिफल प्रक्षेपण गरिएको हुन्छ, जसमा विस्तारको ठूलो सम्भावना हुन्छ र निश्चित अवधिपछि विस्तार हुनैपर्छ ।”

स्टार्टअपहरूको व्यावसायिक सम्भावना, सिर्जनशीलता परिचालन, सञ्चालन क्षमता, विस्तारको अवसर आदि हेरेर स्टार्टअप फण्ड मार्फत लगानी गरिन्छ । सामान्यतः स्टार्टअप फण्डको लगानीमा ब्याज मिनाहा हुन्छ, कतिपयमा त अनुदान पनि दिइन्छ । संसारभरका स्टार्टअपमा ९० प्रतिशत असफल र १० प्रतिशत मात्र सफल हुने मान्यता छ । फेसबूक, गुगल लगायतका कम्पनीहरू असाध्यै सफल भएका स्टार्टअपका उदाहरण हुन् ।

प्रतिकृया दिनुहोस