विश्वकप विशेषमंगलवार, जेठ २९, २०७५

विश्वकप सपना

हिमालखबर

सुषुप्त सही, हरेक विश्वकपको रौनकसँगै नेपाली मानसले पनि 'विश्वकप सपना' देख्छ । सधैँ सपनामा सीमित पार्ने छुट अब खेलसम्बद्ध निकाय र सरकारलाई छैन । 

मोन्टाज तस्वीर ।

- नवीन अर्याल
भीम थापा, नेपालका पूर्व फूटबल प्रशिक्षक । सन् १९९१ मा संयोगले उनी तालिमको सिलसिलामा फूटबलको ‘पागल देश’ भनिने ब्राजिल पुगेका थिए । 

तालिमताका उनले देखे– सधैंजसो एउटी अधबैंसे महिला आफ्नो सानो छोरो च्यापेर आउँथिन् र तालिम सकिएपछि सँगै लिएर जान्थिन् । स्कूल पढाउने समयमा छोरालाई फूटबल सिकाउन ल्याउने ती आमाको व्यवहारले थापालाई अचम्मित तुल्यायो ।

एकदिन त हिम्मत गरेरै सोधे, “छोरालाई पढाउन छाडेर किन फूटबल सिकाउन ल्याउनुहुन्छ ?”

ती महिलाले दोभाषे मार्फत थापालाई जे उत्तर दिइन्, त्यो सुनेर उनी चकित भए । “यसलाई हुर्काएर एमबीबीएस गराउँदा लाखौं खर्च मात्र हुँदैन, ६ वर्षको समय पनि बर्बाद हुन्छ । तर, यदि यसले एक वर्ष मात्र व्यावसायिक फूटबल खेल्यो भने मलाई पुग्छ”, महिलाको जवाफ थियो ।

फूटबलप्रति ब्राजिलियन जनताको ‘क्रेज’ जान्न यो पर्याप्त थियो ।

त्यतिबेला ब्राजिलको युवा टोली अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै थियो । तालिममै एक दिन थापालाई प्राध्यापक टिटोले प्रश्न गरे, “तिमीले कुनै दिन ब्राजिलसँग फूटबल खेल्ने सम्भावनाको कल्पना गरेका छौ ?” एकाएक आएको यस्तो कठिन प्रश्नको तयारी जवाफ थापासँग हुने कुरै भएन ।

“सपना भने देखेको छु”, उनले भनिदिए ।

आफ्नो ३० वर्षे प्रशिक्षक जीवनमा थापाले अनगिन्ती सपना देखे । तीमध्ये एउटा, ब्राजिल विरुद्ध नेपालको खेल अर्थात् नेपालको विश्वकप यात्रा थियो । तर, उनको कार्यकालमा यो सम्भव भएन । अहिलेको नेपाली फूटबलको बेहालले त यस्तो कल्पना समेत ‘मूर्खतापूर्ण’ हुने देखिन्छ ।

फूटबलको ‘महाकुम्भ’ मानिने विश्वकप फूटबल आउँदो ३१ जेठदेखि रूसमा शुरू हुँदैछ । यस अवसरमा आम नेपाली फूटबलप्रेमीले देशको भविष्यलाई लिएर यस्तो चासो राख्नु अस्वाभाविक पनि होइन । तर विडम्बना, विगतमा हाम्रा क्षमताभन्दा कमजोरीमै बढ्ता चर्चा गरिएका छन् ।

जस्तो कि, सन् १९८५ मा भएको एशियन क्वालिफाइङ राउन्डमा नेपाल तयारीका साथ मैदानमा उत्रिएको पनि थियो । तर, सबै खेलमा हारसँगै समग्रमा ३० गोल खायो ।

लज्जास्पद पराजयले रन्थनिएका राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य–सचिव शरदचन्द्र शाहले कप्तान रूपकराज शर्मासँग कड्किएर सोधे, “हामीले यति राम्रो तयारी गरेका थियौं । खेलाडीलाई उच्चस्तरको किट्स, डाइट पनि दिएका थियौं । यति गर्दा पनि नेपालले ३० गोल कसरी खायो ?”

त्यसबेलाका रूपकसँगै रहेका राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर कृष्ण थापा अहिले पनि त्यो प्रसंग सम्झ्रिहन्छन् । “नेपाली दिदीबहिनीलाई रसियनसँग विवाह गराएर जन्मिएका सन्तानलाई फूटबल सिकायो भने चाहिं केही होला कि ! रूपकले ठट्यौलो शैलीमा जवाफ दिएको थियो”, थापा सुनाउँछन् ।

धेरैलाई अन्यथा लागेको हुनुपर्छ । तर, रूपकको आशय ‘अन्तर्राष्ट्रिय फूटबलमा नेपाली खेलाडीको सबैभन्दा कमजोर कडी नै हाम्रो शारीरिक बनोट हो’ भन्ने थियो । “प्रतियोगिताको दुई महीना अघि मात्र खेलाडीलाई दिइने सुविधाका बलमा नेपाली फूटबल कहीं नपुग्ने उसको भनाइ थियो”, थापा भन्छन् । 

१८ वर्षपछि सन् २००३ मा दक्षिणकोरिया विरुद्ध इन्चेनमा भएको एशिया कपको छनोट खेलमा नेपाल १६–० गोलले पराजित भयो । लगत्तै धेरै खेल पदाधिकारीको मुखबाट सुनियो– नेपाल गरीब र सानो देश हो । त्यसैले पनि सुखद नतिजाको आशा बेकार हो ।

नेपाली राष्ट्रिय फूटबल टोली । तस्वीर: विक्रम राई

संघर्षका तीन दशक
नेपालले सन् १९८५ देखि नै विश्वकप छनोट प्रतियोगिता खेल्न शुरू गरेको हो । सन् १९८६ मा मेक्सिकोमा आयोजित विश्वकपका लागि भएको छनोट चरणको पहिलो खेल नेपालले दक्षिणकोरिया विरुद्ध दशरथ रंगशालामा खेलेको थियो ।

त्यतिबेला रंगशालामा करीब ४० हजार दर्शक उपस्थित थिए । २–० ले पराजित नेपालले सुरेश पन्थीको आत्मघाती प्रहार मार्फत पहिलो गोल खाएको थियो । श्रीराम रञ्जितकारले डिबक्स भित्र फाउल खेलेपछि पेनाल्टीबाट कोरियाको दोस्रो गोल सम्भव भयो ।

नेपालको भिडन्त दक्षिणकोरिया र मलेशियासँग भएको थियो । ‘होम’ र ‘अवे’ दुवै गरेर चार वटै खेल नेपालले गुमायो । प्रतियोगितामा नेपालका तर्फबाट एउटै पनि गोल भएन । नेपाल कोरियासँग समग्रमा ६–० र मलेशियासँग ५–० ले पराजित भयो ।

सन् १९९० को विश्वकप छनोटमा पनि एएफसी क्षेत्रको समूह चार अन्तर्गतका चार वटै खेलमा नेपाल नराम्ररी पराजित भयो । दक्षिणकोरियासँग पहिलो लेगमा नेपाल ९–० ले हार्न पुग्यो । सिंगापुरले ७–० ले हरायो । छनोटको ६ खेलमा नेपालले कुल २८ गोल खायो, एकै गोल पनि फर्काउन सकेन ।

सन् १९९४ मा अमेरिकामा आयोजित १५औं विश्वकपका लागि नेपालले छनोट खेल नै खेलेन । कारण भने अनौठो थियो, भिसाको समस्या र खेलाडी पलायन हुने डरले एन्फाले खेलको पहल नै गरेन ।

सन् १९९८ मा फ्रान्समा आयोजित विश्वकपका लागि नेपालले जापान, मकाउ र ओमनसँग प्रतिस्पर्धा गर्‍यो । जापान र ओमनमा भएका खेलमा नेपालले फेरि पनि जित आत्मसात् गर्न सकेन । तर, २३ मार्च १९९७ मा मकाउ विरुद्धको खेल १–१ गोलको बराबरीमा राख्न सफल भयो । नेपालले पहिलो पल्ट छनोट खेलमा गोलको खाता खोल्यो । नेपालले ६ खेलमा १९ गोल खाँदै, दुई गोल गर्‍यो ।

“धनी देशले मात्रै फूटबल खेल्ने भए खाडीका सबै राष्ट्रले विश्वकप खेल्नुपर्ने हो । ” 
श्रीराम रञ्जितकार, पूर्व डिफेण्डर

सन् २००२ को विश्वकप छनोटमा भने नतिजा मिश्रित थियो । नेपालले मकाउलाई ४–१ र ६–१ ले हराउँदै विश्वकप छनोटको पहिलो जित दर्ता गरायो । तर, इराक विरुद्ध ९–१ र ४–२ तथा कजाकस्तान विरुद्ध ५–० र ४–० ले पराजित भयो । स्ट्राइकर निराजन रायमाझीले मकाउ विरुद्ध ह्याट्रिक गरे । रायमाझ्ी एक्लैले छनोटमा ७ गोल गरेका थिए ।

सन् २००६ मा जर्मनीमा आयोजित विश्वकपका लागि नेपालले छनोट खेल नै खेलेन । तर, २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपका लागि ओमनसँगको खेलमा समग्रमा ४–० गोलले पराजित हुँदै नेपाल फेरि पहिलो चरणबाटै बाहिरियो ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपका लागि नेपाल छनोटको पहिलो चरणमा जोर्डनसँग समग्रमा १०–१ गोलले पराजित भयो भने सन् २०१८ मा रूसमा आयोजना हुन लागेको प्रतियोगिताको पहिलो चरणको छनोटमा भारतबाट समग्रमा २–० गोलले पछाडि परेपछि नेपाल बाहिरियो। पहिलो लेगमा २–० ले पराजित नेपालले दोस्रो लेग भने गोलरहित बराबरी राख्न सफल भएको थियो ।

३३ वर्षको विश्वकप संघर्षमा नेपालले छनोटका ३० खेलमध्ये २४ मा पराजय, २ मा जीत र ४ खेल बराबरी गरेको छ । यसमा नेपालको प्रदर्शन निखारिंदो होइन झन् झन् निरास पार्ने खालको छ ।

तर, यसैको आधारमा नेपालले कहिल्यै विश्वकप खेल्न सक्तैन भन्ने निष्कर्ष निकालिहाल्नु चाहिं चरम निराशावादी सोच मात्र हुनेछ । सपना देख्न र सकारात्मक सोच राख्न आइसल्यान्ड र नाइजर ताजा र गतिला उदाहरण बनेका छन् ।

विश्वकप फूटबल २०१८ को छनोटमा भारतीय कप्तान सुनिल क्षेत्रीलाई रोक्ने प्रयास गर्दै नेपाली खेलाडी ।

आइसल्याण्ड आदर्श
साढे तीन लाख हाराहारी जनसंख्या भएको आइसल्यान्ड यूरोप जस्तो कठिन समूहबाट छनोट हुँदा सबै तीनछक्क परिरहेका छन् । गत वर्ष भारतमा आयोजित यूथ–१७ विश्वकपको फाइनल पुगेर अफ्रिकी राष्ट्र नाइजरले यस्तै आश्चर्यमा पारेको थियो । विश्वको दोस्रो गरीब राष्ट्र नाइजरका नागरिकको कमाइ दैनिक १ डलरभन्दा कम छ ।

विश्वकपको सपना देखेर मात्र हुँदैन, सिंढी पनि बनाउनुपर्छ। त्यसका लागि घरेलु फूटबलको मेरुदण्ड मानिने लिगको संरचना मजबूत बनाउँदै लिगमा अनुबन्धित विदेशी खेलाडीको मापदण्ड निर्धारण गर्नुपर्छ। 
भीम थापा, पूर्व प्रशिक्षक

नेपाली राष्ट्रिय टोलीका पूर्व डिफेन्डर श्रीराम रञ्जितकार पनि ठूलो स्तरको प्रतियोगिता खेल्न देशको आर्थिक अवस्था र भूगोलले खासै अर्थ नराख्ने बताउँछन् । “धनी देशले मात्रै फूटबल खेल्ने भए खाडीका सबै राष्ट्रले विश्वकप खेल्नुपर्ने हो ।

विश्वकै सुपर पावर अमेरिका यसपालि छनोट नै हुन सकेन । दोस्रो ठूलो जनसंख्या भएको भारत अझ्ै विश्वकप पुग्नै सकेको छैन”, उनी भन्छन् ।

उसो भए के हो त विश्वकप खेल्ने सूत्र ? आइसल्यान्ड फूटबलका प्राविधिक निर्देशक आर्नर बिल गुनार्सनले हालै दिएको अन्तर्वार्तामा फूटबल विकासमा तीन चीज महत्वपूर्ण हुने बताएका छन् । ती हुन्, प्राविधिक रूपमा दक्ष प्रशिक्षक, जरैदेखि फूटबलको विकास र पूर्वाधार निर्माण ।

भनाइ नै छ– ‘एउटा सक्षम शिक्षकले हजार सक्षम विद्यार्थी उत्पादन गर्न सक्छ ।’ पाँच वर्ष अघिसम्म आइसल्यान्ड विश्व फूटबल महासंघ (फिफा) को वरियतामा १३१औं स्थानमा थियो । तर, अहिले २२औं स्थानमा छ । यही आइसल्याण्ड हो, जसले १९६७ मा डेनमार्कसँग १४–२ गोल खाएको थियो ।

सन् १९९८ मा विश्व विजेता भएपछि फ्रान्स मैत्रीपूर्ण खेलका लागि आइसल्यान्ड आएको थियो । त्यही प्रतियोगिताले आइसल्याण्डमा विश्वकप सपनाको बीजारोपण गरिदियो । फ्रान्सलाई १–१ गोलको बराबरीमा रोकेपछि आइसल्यान्डका खेलाडीमा विश्व फूटबलमा हामी पनि केही गर्न सक्छौं भन्ने आत्मविश्वास भरिएको थियो ।

२०११–२०१६ का पाँच वर्ष आइसल्यान्डको टोली सम्हालेका स्वीडिस प्रशिक्षक लार्स लागेरब्याकले भनेका छन्, “आइसल्यान्डमा शिक्षित प्रशिक्षक प्रशस्त छन्, जसले ५–६ वर्षका केटाकेटीलाई सानैदेखि फूटबल सिकाउँछन् । अहिले आइसल्याण्डमा ६०० दक्ष प्रशिक्षक छन्, ४०० ले त युएफा ‘बी’ लाइसेन्स कोर्ष नै गरिसकेका छन् । यहाँ प्रत्येक ८२५ जनालाई एक प्रशिक्षक उपलब्ध छ ।”

फूटबल एसोसिएसन अफ आइसल्यान्डले फूटबल विकासमा तल्लो तहमा निकै लगानी गरेको छ । धेरै वटा रंगशाला बनाउनुभन्दा विद्यालयहरूमा सुविधासम्पन्न सानो मैदान निर्माण गरिएको छ । निजी लगानीमा इन्डोर मैदान पनि बनाउन थालिएको छ ।

फूटबल गतिविधि र जनसंख्याको हिसाबले नेपालको फूटबल आइसल्यान्डभन्दा ठूलो मानिन्छ । तर पनि हामीसँग ३३१ को हाराहारीमा मात्र लाइसेन्स प्राप्त प्रशिक्षक छन्, जसमध्ये एएफसी गोलकिपिङ लाइसेन्स कोर्ष गरेका ८ जना र ‘ए’ लेभल कोर्ष गरेका ३१ जना छन् ।

नेपालमा पनि तल्लो तहबाटै छनोट भएर आएका खेलाडीलाई एकै ठाउँमा राखेर लामो समय अभ्यास गराउन एन्फा एकेडेमीको निर्माण भएको थियो । तर, अखिल नेपाल फूटबल संघ (एन्फा) को विगतको नेतृत्वले एकेडेमीलाई खेलाडी उत्पादन भन्दा ‘कमाएर खाने भाँडो’ बनाएपछि सबै लथालिङ्ग बन्न पुग्यो ।

आशाको त्यान्द्रो
चरम भ्रष्टाचार र बेथितिले ग्रस्त एन्फामा अन्योलकै बीच दुई दशकपछि बल्ल नेतृत्व परिवर्तन भएको छ । र, फूटबलले गति लिने आशा पलाएको छ ।

पूर्व प्रशिक्षक भीम थापा नेपाली फूटबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा ल्याउन सबैभन्दा पहिले दक्षिण एशियामा गुमेको साख फर्काउनुपर्नेमा जोड दिन्छन् । यसपछि एशियाको बलियो टोलीको रूपमा आफूलाई उभ्याउनुपर्ने उनको तर्क छ ।

फिफाले ८ वर्षपछि सन् २०२६ मा विश्वकप खेल्ने देशको संख्या ३२ बाट ४८ बनाउँदैछ । जसमा एशियाबाट मात्रै ८ राष्ट्रले विश्वकप खेल्ने अवसर पाउने छन् ।

“जुनियर लेभलमा नेपाली टीमले राम्रो प्रदर्शन गरे पनि सिनियर टोलीले त्यसलाई दोहोर्‍याउन सकेको छैन। साँच्चै विश्वकप खेल्ने हो भने २० वर्ष लामो भिजन लिएर अगाडि बढ्नुपर्छ।”
बालगोपाल महर्जन, प्रशिक्षक

“यो हाम्रो लागि मौका पनि हो । अब हामीले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउनुपर्छ र त्यसै अनुसार दौडनुपर्छ” थापा भन्छन्, “किनभने, विश्वकपको सपना देखेर मात्र हुँदैन, सिंढी पनि बनाउनुपर्छ ।”

त्यसका लागि घरेलु फूटबलको मेरुदण्ड मानिने लिगको संरचना मजबूत बनाउने र लिगमा अनुबन्धित विदेशी खेलाडीको मापदण्ड निर्धारण गर्नुपर्ने उनको भनाइ छ ।

अर्का प्रशिक्षक बालगोपाल महर्जन पनि थापासँग सहमत छन् । उनी एन्फा ‘ग्रासरुट लेभल’ मै केन्द्रित हुनुपर्ने बताउँछन् । “कुनै बेला हामीसँग खेल्न डराउने भूटानले १२ वटा ‘मिनी पिचेज’ तयार पारिसक्यो । अहिले एशिया कपको दोस्रो चरणको छनोट खेल्ने भइसक्यो”, उनी भन्छन् ।

जुनियर लेभलमा नेपाली टीमले राम्रो प्रदर्शन गरे पनि सिनियर टोलीले त्यसलाई दोहोर्‍याउन नसकेको महर्जनको स्वीकारोक्ति छ । “साँच्चै विश्वकप खेल्ने हो भने २० वर्ष लामो भिजन लिएर एन्फा अगाडि बढ्नुपर्छ”, उनी भन्छन् ।

प्रतिकृया दिनुहोस