समाजिक सञ्जालको उपयोगले बालिकालाई बेचिनबाट जोगायो
भारत, उत्तरप्रदेशको गाजियावादमा बन्धक बनाइएकी एक नेपाली बालिका सामाजिक सञ्जालको उपायोग गरेर बेचिनबाट जोगिएकी छन् ।
स्मार्ट फोनमा सामाजिक सञ्जाल आइएमओ (इमो) चलाउन जानेकी बालिकाले त्यही सञ्जालबाट नेपालस्थित आफ्नो घरमा खबर गर्न र आफूलाई बन्धक बनाइएको घरको तस्वीर पठाउन सकेकी हुन् ।
मोरङ रंगेलीकी बालिकालाई भारतीय नागरिक मुजफ्फर हुसेन (३०) ले दिल्ली नजिकको गाजियावाद पु¥याई शारीरिक शोषण गर्दै राखेका थिए । हुसेनकै मोबाइलबाट उनले ठूलोबुवालाई खबर गरिन् र, उद्धार भयो ।
“मलाई कोठामा बन्द गरेर ऊ कतै गएको थियो” उनले भनिन्, “मोबाइल छोडेको रहेछ, त्यही मोबाइलबाट इमो खोलेर ठूलोबुवालाई फोन गरें ।” उक्त फोनबाट सोझै नम्बर डायल गर्दा सम्पर्क हुन नसके पनि, इमो चलेको बालिकाले बताइन् ।
बालिकासँग उनका ठूलोबुवाले घरको फोटो खिचेर इमोमा पठाउन लगाएका थिए । प्रहरीले पेश गरेको मुद्दामा ‘रंगेली झ’ नाम दिइएकी ति बालिकाले भनिन् “भोलिपल्टै ठूलोबुवा मलाई लिन आइपुग्नु भयो ।”
उनले फोटो पठाएको २४ घण्टामै भारतीय प्रहरीसहितको उद्धार टोली त्यहाँ पुगेको थियो । रोजगारीका लागि मलेशिया रहेका बुवासँग कुरा गर्न उनले इमो चलाउँदै आएकी थिइन् । भर्खरै ८ कक्षा पास गरेकी ‘रंगेली झ’ ले भनिन्, “गाडीमा दुई दिनमा नेपाल आइपुग्यौं ।” बालिकालाई २६ वैशाखमा नेपाल ल्याइएको हो ।
हुसेनलाई प्रहरीले नियन्त्रणमा राखेर चार वटा मुद्दा चलाएको छ भने बालिकालाई माइती नेपाल विराटनगरमा राखिएको छ ।
प्रेमको नाटक
भारतीय नागरिक हुसेन रंगेली ८ स्थित ससुरालीमा १० महिनादेखि बस्दै आएका थिए । ससुराको ट्याक्टर चलाउने काम गर्दै आएका उनले प्रेमको नाटक गरेर ७ वैशाखमा ‘रंगेली–झ’ लाई फकाएर भारतकोे गाजियावाद पुर्याए ।
“कम उमेरकी बालिकामाथि प्रेमको बहानामा यौन शोषण बढी भएकाले उनले उद्धारको आग्रह गरेको देखिन्छ” इलाका प्रहरी कार्यालय रंगेलीका निरीक्षक सञ्जीवबाबु खड्काले भने । रंगेली झका अनुसार, असहमति जनाउँदा हुसेनले पिट्थे ।
एकदिन हुसेनले कोठा बाहिर सिंढीमा केही युवाहरुसँग कुरा गरेको बालिकाले सुनिन् । उनी भन्छिन, “हिन्दी भाषामा मलाई बेच्ने कुरा गर्दै थिए,” । उनलाई सिंगारेर राखिएको अवस्थामा उद्धार भएको माइती नेपाल विराटनगरका प्रमुख बिनोद पोखरेलले बताए ।
७ वैशाखमा बालिका बेपत्ता भएपछि प्रहरी र माइती नेपालमा खोजतलासको आग्रहसहित निवेदन दिइएको थियो । रंगेली झका ठूलोबुवाले भने, “नानीले इमोबाट फोन गरेर जुन तस्वीर र लोकेशन दिएकी थिई हामी प्रहरी लिएर त्यहाँ पुग्यौं ।”
प्रहरी पुग्दा कोठामा बालिका एक्लै थिइन । तर, भारतीय प्रहरीको सहयोगमा हुसेनलाई पनि पक्राउ गरी नेपाल ल्याइएको छ ।
हुसेनलाई चार मुद्दा
प्रहरीले हुसेनलाई जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धक, मानव बेचबिखन र झूटो विवरण पेश गरी नागरिकता लिएको गरी चारवटा मुद्दा चलाएको छ ।
भारत बिहार अररिया जिल्लाको कुर्साकट्टा १३ अहुवाबाडी घर भएका हुसेनले आफ्ना ठूलोबुवा (नेपाली नागरिक)को नाति बनेर नेपालको नागरिकता लिएका छन् ।
हुसेनले लिएको नागरिकताको छानविन हुन थालेपछि रंगेली नगरपालिका ८ का वडाअध्यक्ष ढकप्रसाद आचार्य र इलाका प्रशासन कार्यालय रंगेलीका अधिकृत जयप्रकाश बस्नेत बिदामा बसेका छन् ।
हुसेनले आफ्ना ठूलोबुवाका छोरा बुहारी दाजु गुलजार र भाउजु चन्दा खातुनको छोरा भएको विवरण पेश गरेर राजा मियाँको नामबाट गत १७ माघमा इलाका प्रशासनबाट ०५०२७४÷०४७६२ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए ।
विहार सरकारले १० जनवरी २०१८ मा प्रकाशन गरेको नामावलीमा मोहमद हासिमका छोरा मुजफर हुसेनको यु एक्स बी १३८०५१८ नम्बरको मतदाता परिचयपत्र रहेको छ ।
झूटो बिवरण पेश गरेर नागरिकता बनाउने कार्यलाई सहयोग गर्ने सबै कारवाहीको दायरामा आउने प्रहरी निरीक्षक खड्काले बताए ।
कमल रिमाल, विराटनगर