रिपोर्टशनिवार, जेठ २६, २०७५

ज्यानमारा बाथरुम

सविना देवकोटा

दैनिक जीवनमा अत्यावश्यक ट्वाइलेट–बाथरुम सानोतिनो असावधानीका कारण ज्यान लिने कारण बनिरहेका छन् ।

 

२८ वैशाख दिउँसो पोखराको नागढुंगास्थित आफ्नै घरको बाथरुममा लडेर गम्भीर घाइते भई भैंसेपाटी, ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका प्रदेश–४ का सभामुख नेत्रनाथ अधिकारी । तस्वीरः बिक्रम राई

प्रदेश–४ का सभामुख नेत्रनाथ अधिकारी २८ वैशाख दिउँसो पोखराको नागढुंगास्थित आफ्नै घरको बाथरुममा लडेर गम्भीर घाइते भए । टाउकोमा गम्भीर चोट लागेका उनको भैंसेपाटी, ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

कसरी लडें भन्ने उनलाई याद छैन । उनका स्वकीय सचिव लोकराज आचार्यका अनुसार स्वास्थ्य स्थितिमा सुधार आउन अझै केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्नेछ ।

काठमाडौं, नेपालटारकी जानुका अधिकारी (४२) का लागि अस्पतालको शौचालय नै दशा बन्यो । तीन वर्षअघि वीर अस्पतालमा उपचाररत बिरामी श्रीमान्‌काे कुरुवा बसेकी जानुका राति अस्पतालको शौचालयमा लडेर घाइते भइन् । दिसापिसाब र फोहोर पानीको आहाल बनेको अस्पतालको शौचालयमा लडेर आधा घण्टासम्म अचेत भएकी उनलाई श्रीमान्‌सँगै अस्पताल भर्ना गरेर उपचार गर्नुपर्‍यो ।

शौचालयमा लडेर गम्भीर घाइते भए पनि पोखराका नेत्रनाथ र काठमाडौंकी जानुकाको ज्यान जोगियो । तर, २६ माघ २०७२ मा वनस्थली, काठमाडौंस्थित घरको बाथरुमले धनबहादर गुरुङ (८६) को प्राण खोस्यो । बाथरुमभित्र चिप्लेर लडेका उनको होशमै नआई मृत्यु भएको थियो । धनबहादुरका छोरा समीरका अनुसार बाथरुम गएको १५ मिनेटसम्म बाहिर ननिस्केपछि ढोका फोडेर हेर्दा उनी अचेत भेटिए ।

काठमाडौंमै बस्ने शिक्षासेवी डा. बाबुराम पोखरेल (६४) ले पनि एक वर्षअघि आफ्नै घरको बाथरुममा लडेर ज्यान गुमाए । मुटुरोगबाट पीडित पोखरेललाई परिवारका सदस्यले अचेत अवस्थामा भेट्टाएका थिए । प्रजातन्त्र प्राप्तिको संघर्षमा होमिएर प्रजातन्त्र सेनानीको सम्मान पाएका दाङका पुराना कांग्रेस नेता शेरबहादुर खड्काको ६ माघ २०७३ मा ८३ वर्षको उमेरमा भएको मृत्युको कारण पनि शौचालय नै थियो ।

१० पुस २०७३ राति हात धुन जाँदा बाथरुममा लडेका नेपाल ब्यांक लिमिटेड, बिर्तामोड शाखाका प्रबन्धक उमेशचन्द घिमिरे (४१) को होशमै नआई मृत्यु भयो । नेपाली क्रिकेटका पितामह मानिने नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको ८९ वर्षको उमेरमा भएको निधनको कारण पनि बाथरुम नै थियो । बाथरुममा लडेर घाँटीमा लागेको चोटका कारण गएको २१ भदौमा नर्भिक अस्पतालमा उनको निधन भएको थियो ।

बाथरुममा अनेक जोखिम
पछिल्लो समय ट्वाइलेट–बाथरुममा हुने यस्ता दुर्घटनाको दर बढिरहेको छ । तर, अस्पतालदेखि प्रहरी कसैले पनि यस्ता दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेको आँकडा राखेका छैनन् । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र समीर यकिन आँकडा नभए पनि विभिन्न असावधानीका कारण बाथरुममा हुने दुर्घटना बढिरहेको बताउँछन् ।

प्रायः बाथरुम अँध्यारो हुनु, साबुन र शेम्पु राम्रोसँग नपखाल्दा भुइँ चिप्लो हुनु, विछ्याइएका चिल्लो टायलमा तलुवा खिइएका र दाँती नभएका चप्पल प्रयोग हुनु, राम्रोसँग निद्रा नखुल्दै ट्वाइलेट जाँदा होशियारी नअपनाउनु जस्ता कारणले यी दुर्घटना बढिरहेको डा. समीरको निचोड छ ।

वीर अस्पतालका हड्डी रोग विशेषज्ञ डा. श्रीकृष्ण गिरी बाथरुममा लडेपछिको हेड इन्जुरी (टाउकोको चोट) मृत्युको मुख्य कारण बन्ने गरेको बताउँछन् । त्यसरी लड्दा हुने स्पाइनल इन्जुरी (मेरुदण्डको चोट) ले दुर्घटनापछि गम्भीर खालको अपांगता हुने गरेको उल्लेख गर्दै गिरी भन्छन्, “ट्वाइलेट–बाथरुममा लड्दा ठोक्किएको अङ्ग मात्र नभई हड्डीमा समेत असर पर्ने हुँदा दृष्टि गुम्ने, दाँत, करङ, मेरुदण्ड र हातखुट्टा भाँचिने, शरीरका भित्री अङ्गमा रगत जम्ने, गर्भवती महिलाको गर्भ तुहिने जस्ता जोखिम निम्तिन सक्छन् ।”

शौच गर्दा कहिलेकाहीं अचानक रक्तचाप घटबढ भएर बेहोश हुने समस्या आउने र त्यो अवस्थामा समेत दुर्घटनाको जोखिम रहने न्यूरो सर्जन डा. जगदीशप्रसाद अग्रवाल बताउँछन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डीन समेत रहेका डा. अग्रवालका अनुसार, त्यसबाहेक धेरैमा ‘पोस्टुरल हाइपोटेन्सन’ (बसेर उठ्दा रिंगटा लाग्ने समस्या) हुने र मधुमेह तथा रक्तचापका बिरामीहरूको रक्तचाप अचानक घटबढ हुने हुँदा रिंगटा लागेर लड्न सक्ने खतरा अधिक रहन्छ । मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई भन्छन्, “शौचको समयमा समेत हृदयघातको जोखिम हुन्छ, त्यस्तो बेला लडेर अचेत हुने र ज्यानै जाने खतरा रहन्छ ।”

हुन पनि सामाखुसी, काठमाडौंका बिहारी रेग्मी (७६) को एक वर्षअघि बाथरुममा भएको मृत्यु जो–कोहीलाई झ्स्काउने खालको थियो । किनभने, उनी बाथरुममा लडेका पनि थिएनन् । बाथरुम गएका रेग्मी आधा घण्टासम्म ननिस्केपछि ढोका फोरेर हेर्दा कमोडमा बसिरहेकै अवस्थामा उनको शव भेटिएको थियो ।

छोरा गणेश भन्छन्, “बाथरुम सफासुग्घर थियो, भुइँ चिप्लो पनि थिएन, झयाल पनि खुल्लै थियो । बुबाको मृत्यु कसरी भयो भनेर हामी अहिलेसम्म पनि अन्योलमै छौं ।” आफन्तको निधनमा १३ दिन नून नखाएर आशौच बारेलगत्तै यो घटना भएकाले शरीरमा नूनको मात्रा नपुग्दा एक्कासि रक्तचाप घटेर मस्तिष्कमा रगत नपुगेको हुनसक्ने परिवारको अनुमान भए पनि पोस्टमार्टम नगरिएकाले मृत्युको कारण यकिन छैन । रेग्मी परिवारका सदस्यहरूले त्यसयता ट्वाइलेट जाँदा चुकुल लगाउन छाडेका छन् ।

अमेरिकामा वर्षेनि करीब ४० हजार व्यक्ति शौचालयमा हुने दुर्घटनाको शिकार बनिरहेको अमेरिकी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा प्रकाशित एक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

जनस्वास्थ्य विज्ञ डा. समीरका अनुसार, ट्वाइलेट–बाथरुमलाई सफा, सुक्खा, खस्रो र लडिहालेमा कम क्षति हुने गरिको बनाउँदा यस्ता जोखिमबाट बच्न सकिन्छ ।

पावरयुक्त चश्मा लगाउने व्यक्तिले बाथरुम जाँदा पनि चश्माको प्रयोग गर्ने, निद्राबाट ब्युँझिएको केही बेरपछि मात्र बाथरुम जाने, निद्रा लाग्ने औषधि खाएका, रक्तचापका बिरामी र वृद्धवृद्धालाई एक्लै बाथरुम नपठाउने गरेमा पनि यस्ता दुर्घटना कम गर्न सकिने उनको सुझव छ । त्यसैगरी पर्याप्त प्रकाश छिर्ने बाथरुम बनाउने, खस्रो तलुवा भएको चप्पल प्रयोग गर्ने, साबुन र शेम्पुको चिप्लो नरहने गरी भुईं सफा गरिराख्ने तथा मिल्ने ठाउँमा खस्रो कार्पेट राख्ने गरेमा यस्ता दुर्घटना न्यूनीकरण गर्न सकिने जानकारहरू बताउँछन् ।

प्रतिकृया दिनुहोस