रिपोर्टशनिवार, जेठ २६, २०७५

फिलिपिन्समा लोकतन्त्रः पहिलो निशाना प्रेस

रामेश्वर बोहरा

नागरिक समाज कमजोर भए लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारले नै लोकतन्त्रलाई बर्बाद पार्ने पछिल्लो उदाहरण फिलिपिन्स बनेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवस, (३ मे) मा राजधानी मनिलामा आयोजित कार्यक्रममा राष्ट्रपति रोड्रिगो दुतेर्तेको २२ महिने शासनकालमा प्रेसमाथि भएका आक्रमणको विस्तृत प्रतिवेदन सार्वजनिक गरिंदै ।

१४ वैशाखमा मनिलाको निनाय अक्विनो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेपछि फिलिपिन्सको ‘अनअराइभल भिसा’ का लागि अध्यागमन फारममा पेशा उल्लेख गर्नुपर्ने भयो । नेपालबाट उड्नुअघि शुभचिन्तकहरूले फिलिपिन्समा सकभर परिचय नखुलाउन, आफूलाई पर्यटककै रूपमा चिनाउन सल्लाह दिएका थिए ।

कारण थियो– राष्ट्रपति रोड्रिगो दुतेर्तेको सरकारले पत्रकार र सञ्चारमाध्यममाथि शुरू गरेको नियन्त्रण । साथमा रहेका परिचयपत्र लगायतका कागजातबाट सजिलै परिचय खुल्ने भएकाले पछि अप्ठेरोमा पर्नु भन्दा फारममा पेशा खुलाउनु उपयुक्त हुन्छ भन्ने लाग्यो । राहदानी हेर्नासाथ अध्यागमन अधिकृतले सोधे, “तपाईं पत्रकार हो ?” उत्तर पाएपछि उनले राहदानीमा छाप लगाइदिए । 

करीब दुई वर्षअघि मुलुकको प्रमुख कार्यकारी बनेका दुतेर्तेको नेतृत्व फिलिपिन्सका पत्रकार र सञ्चारमाध्यमका लागि ठूलै ‘थ्रेट’ बनेको छ, अहिले । दुतेर्ते प्रशासनको नीति र विरोधाभासपूर्ण गतिविधिको विरोध गर्ने, राज्य–संयन्त्रमाथि प्रश्न उठाउने पत्रकारहरूको हत्या भएको छ । केही सञ्चारमाध्यमको दर्ता खारेज भएको छ ।

कैयौं पत्रकारले ज्यानकै धम्की खेपिरहेका छन् । पत्रकारका कार्यालयदेखि निवाससम्म निगरानी बढाइएको छ । सडकमा पिछा गर्न थालिएपछि पत्रकारका परिवारजन त्रासमा बाँचिरहेका छन् । फिलिपिन सेन्टर फर इन्भेन्स्टिगेटिभ जर्नालिज्म (पीसीआईजे) ले हाम्रो अध्ययन भ्रमणको सहजीकरण गर्ने जानकारी पाएपछि मनिलामा स्थापित नेपाली व्यवसायीहरूले सुझाए– ‘दुतेर्ते सरकार त्यो संस्थाप्रति पनि निकै आक्रामक छ, होशियार रहनुहोला ।’

राज्य–आतंकको छायाँमा
राष्ट्रपति दुतेर्तेले पदभार सम्हाल्नासाथ ‘ड्रग वार’ का नाममा रक्तपातपूर्ण अभियान शुरू गरे । लागू औषध नियन्त्रणका नाममा प्रहरीलाई जहिले, जहाँ र जसलाई पनि ‘इन्काउन्टर’ गर्ने छूट दिइयो । फिलिपिन्सको संविधान र कानूनले मृत्युदण्ड निषेध गरे पनि राष्ट्रपतिको तजबिजमा प्रहरीलाई मान्छे मार्ने ‘लाइसेन्स’ दिइयो ।

त्यसको पाँच महीनापछि १९ डिसेम्बर २०१६ मा हत्या भएका ल्यारी के, दुतेर्तेको शासनमा मारिने पहिलो पत्रकार थिए । क्याटान्डुवानेस प्रान्तको सामुदायिक पत्रिका ‘न्यूज नाउ’ का प्रकाशक तथा स्तम्भकार उनलाई विराकस्थित आफ्नो घरमा छिर्ने क्रममा मोटरसाइकलमा आएका बन्दूकधारीले हत्या गरेका थिए ।

ल्यारीले हत्या हुनुभन्दा केही दिनअघि आफ्नो प्रान्तमा लागूऔषधका प्रमुख उत्पादकहरूप्रति गरिएको बेवास्ताबारे लेख लेखेका थिए । उनका साझेदार इडरलाइन पंगिलिनानले २ मे २०१७ मा राजधानी मनिलास्थित ‘डिपार्टमेन्ट अफ जस्टिस’ मा प्रान्तका गभर्नर जोसेफ कुआ, प्रहरी अधिकृत भिन्सेन्ट टाक्रोडा, कुआका सहयोगी प्रिन्स लिम सबिअन लगायत विरुद्ध हत्याको अभियोग दर्ता गरे ।

प्रहरी अधिकृत टाक्रोडाले पत्रकार ल्यारीलाई एन्टी ड्रग अपरेसन– टोखाङको नाममा हत्या गर्न गभर्नर र उनका सहयोगीले आदेश दिएको उल्लेख गरेका थिए । उनले यसको प्रमाण दिने भन्दै ल्यारीका परिवारसँग पैसा समेत मागेका थिए ।

विश्व प्रेस स्वतन्त्रता दिवसको दिन (३ मे) मा मनिलामा सार्वजनिक एक प्रतिवेदनमा दुतेर्तेको शासनकाल शुरू भएयताका २२ महीनामा फिलिपिन्समा ल्यारीसहित ९ जना पत्रकारको हत्या भइसकेको उल्लेख छ ।

सेन्टर फर मिडिया फ्रिडम एन्ड रेस्पन्सिबिलिटी (सीएमएफआर), नेशनल युनियन अफ जर्नालिस्ट्स अफ द फिलिपिन्स (एनयुजेपी), फिलिपिन प्रेस इन्ष्टिच्युट (पीपीआई) र पीसीआईजेद्वारा प्रकाशित प्रतिवेदनमा विस्तृत ‘केस स्टडी’ समेटिएका छन् । त्यस अनुसार उनीहरू सबैको हत्या ‘ड्रग वार’का नाममा परिचालित बन्दूकधारीहरूले गरेका हुन् ।

महत्वपूर्ण पक्ष, हत्या भएका सबै पत्रकारले आफ्नो अन्तिम समाचार सामग्री वा स्तम्भमा ‘ड्रग वार’, सरकारी अधिकारीहरूको भ्रष्टाचार वा स्थानीयस्तरका अपराधबारे लेखेका थिए ।

दुतेर्ते प्रशासनले पत्रकारमाथि गरेको ८५ वटा आक्रमण समेटिएको प्रतिवेदनमा ६ जना पत्रकारमाथि ज्यान लिने उद्देश्यले आक्रमण गरिएको, तर उनीहरू जोगिएको उल्लेख छ । त्यस्तै, राष्ट्रपति दुतेर्ते र सरकारी अधिकारीहरूबारे आलोचनात्मक समाचार लेखेबापत ११ पत्रकारलाई ज्यान लिने धम्की दिइएको र १६ जनाविरुद्ध मानहानि वा चरित्रहत्याको अभियोग दर्ता गरिएको उल्लेख छ ।

प्रतिवेदनमा दुतेर्तेका समर्थकहरूले पत्रकारलाई अनलाइन मार्फत ‘हरास्मेन्ट’ गरेका १४ वटा घटना पनि समेटिएका छन् । सरकारी निकाय वा अधिकारीहरूले ‘हरास्मेन्ट’ गरेका ६ वटा, स्थानीय अधिकारीहरूले धम्की दिएका पाँच वटा, वेबसाइट आक्रमणका चार वटा, भौतिक आक्रमणका चार वटा, साइबर क्राइम (लाइबल) सम्बन्धी अभियोग लगाइएका तीन घटना, राष्ट्रपति कार्यालयले समाचार संकलन गर्न रोक लगाएका तीन वटा, दर्ता खारेज गरिएका दुई र ‘स्ट्राफिङ’ को एउटा घटना भएको उल्लेख छ ।

प्रतिवेदनमा राष्ट्रपति दुतेर्ते स्वयम्‌ले राजधानी मेट्रो मनिलामा सार्वजनिक रूपमै पत्रकारमाथि गालीगलौज गरेको र केही सञ्चारमाध्यम बन्द गर्ने धम्की समेत दिएको उल्लेख छ ।

पत्रकार र सञ्चारमाध्यमविरुद्ध भएका ८५ घटनामध्ये ३० वटा रेडियो, २२ वटा अनलाइन, १९ घटना छापामाध्यम र १२ घटना टेलिभिजन पत्रकारसँग सम्बन्धित छन् । ५३ वटा घटनामा पुरुष पत्रकार प्रभावित छन् भने १६ वटामा महिला ।

त्यस्तै, १६ वटा सञ्चारमाध्यमले सीधा ‘थ्रेट’ व्यहोरेका छन् । ८५ मध्ये ४० वटा घटना राजधानीभित्रै भएका छन् । फिलिपिन्समा पत्रकार हत्याको घटना नयाँ नभए पनि यसअघिका कुनै पनि राष्ट्रपतिको २२ महिने शासनकालमा यति धेरै पत्रकार मारिएका थिएनन् ।

पीसीआईजेकी कार्यकारी निर्देशक मलु मंगहसका अनुसार अहिले पत्रकारको ज्यान र सञ्चारमाध्यमको भविष्य भन्दा पनि ठूलो चिन्ताको विषय हो– फिलिपिनी जनताको सत्य–तथ्य जान्न पाउने अधिकार ।

किनभने, पत्रकार र सञ्चारमाध्यमलाई सत्य बोल्न र लेख्न नसक्ने गरी नियन्त्रण गरिंदैछ । “जनताको अधिकारबारे बोल्ने, लेख्ने र लड्ने कसैले संरक्षण पाउन सक्ने अवस्था छैन” उनी भन्छिन्, “किनभने, जनता स्वयम् भयभीत छन् ।”

‘ड्रग वार’ को कहाली
फिलिपिन्सको राष्ट्रपति बन्नुअघि मिन्दनाउ प्रान्तको दक्षिणी टापु शहर डेबाओमा चार कार्यकाल मेयर रहेका दुतेर्ते त्यसबेला नै ‘इन्काउन्टर मास्टर’ कहलिएका थिए । उनले लागूऔषध प्रयोगकर्ता, ओसारपसार गर्ने भरिया, कारोबारी सबैलाई ‘इन्काउन्टर’ गर्ने अधिकार प्रहरीलाई दिएका छन् ।

गत २२ महीनामा (२०१६ जुलाइ यता) ‘ड्रग वार’का क्रममा ४ हजार २५१ व्यक्ति ‘इन्काउन्टर’ मा मारिएको प्रहरीकै प्रतिवेदनमा उल्लेख छ । फिलिपिन्स प्रहरीले अहिलेसम्म लागूऔषध विरुद्ध ९८ हजार ७९९ अपरेसन चलाएको र एक लाख ४२ हजार ६९ जनालाई समातेको आँकडा पनि सार्वजनिक गरेको छ ।

प्रहरीले ‘इन्काउन्टर’ मा ४ हजार २५१ जना मारिएको बताइरहँदा फिलिपिन्सका सञ्चारमाध्यमहरूले १२ हजारभन्दा बढी व्यक्ति मारिएको समाचार प्रकाशन–प्रसारण गर्दै आएका छन् । प्रहरीले जिम्मा नलिएका यति धेरै हत्या ‘भिजिलान्ते’ हरूबाट भएको उनीहरूको भनाइ छ । मकुन्डो लगाएर मोटरसाइकलबाट आउने त्यस्ता बन्दूकधारी ‘भिजिलान्ते’ हरूलाई प्रहरीले फुक्काफाल छाडेको यहाँका पत्रकारहरू बताउँछन् ।

ड्रग वारबारे लगातार रिपोर्टिङ गरिरहेका बेलायती समाचार संस्था रोयटर्सका फिलिपिन्सस्थित संवाददाता मानुएल मुगतो भिजिलान्ते भनिए पनि त्यसका पछाडि प्रहरीकै हात रहेको संकेत गर्छन् । उनी भन्छन्, “रिपोर्टिङका क्रममा मैले भेटेका एक जना अवकाशप्राप्त प्रहरी अधिकृतले ‘यहाँ कोही भिजिलान्ते छैन, ती सबै पुलिस हुन्’ भनेका थिए ।”

प्रहरीबाटै भइरहेका इन्काउन्टर पनि अधिकांश ‘फेक’ भएको उनको निक्र्योल छ । आफूले भेटेका दुई जना पुलिस अफिसरले इन्काउन्टरपछि शवमा बन्दूक र लागूऔषध राखिदिने गरेको बताएको मुगतो बताउँछन् । उनी भन्छन्, “कुनै व्यक्तिले बन्दूक समातेको छ भने इन्काउन्टरमा मर्दा पनि उसको हातमै बन्दूक हुन्छ होला त ? बन्दूक त केही मिटर पर भेटिनुपर्ने हो नि !”

उनका अनुसार, स्थानीय सरकारी कर्मचारीहरूले उपलब्ध गराउने सूचीकै आधारमा प्रहरीले ‘इन्काउन्टर’ गर्ने हुनाले ‘ड्रग वार’का नाममा कसको ‘इन्काउन्टर’ हुन्छ भन्ने कुनै टुंगो हुँदैन । अर्थात्, इबी साध्न पनि इन्काउन्टर गरिन्छ ।

९ मे २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा दुतेर्तेले ३९.०१ प्रतिशत मत ल्याएका थिए । पाँच जना उम्मेदवारले प्रतिस्पर्धा गरेको निर्वाचनमा उनका निकटतम प्रतिद्वन्द्वी मार रोक्सासले २३.४५ प्रतिशत मत ल्याएका थिए ।

लोकतान्त्रिक प्रक्रियाबाट चुनिएको सत्ताले विधि, व्यवस्था र नागरिकको बाँच्न पाउने अधिकारको योविघ्न धज्जी उडाइरहँदा फिलिपिन्सको सञ्चारजगत निशानामा परेको छ । ‘ड्रग वार’ का नाममा भइरहेको हत्या शृंखलालाई अन्तर्राष्ट्रिय जगतमा प्रवाह गरेको र पश्चिमा मुलुकहरू आफूप्रति खनिएकाले राष्ट्रपति दुतेर्ते मिडियासँग क्रूद्ध छन् ।

दुतेर्ते मूलधारका सञ्चारमाध्यमहरूलाई ‘पूर्वाग्रही’ र तिनीहरूले प्रकाशन/प्रसारण गर्ने समाचारलाई ‘फेक न्यूज’ भन्ने गर्छन् । फिलिपिन्समा अहिले सरकार संरक्षित–प्रवद्र्धित ‘एन्टी मिडिया प्रोपोगान्डा’ को बिगबिगी छ । राष्ट्रपति दुतेर्ते समर्थित अनलाइनहरूले पत्रकारमाथि आक्रमणका लागि उक्साउने सामग्री प्रवाह गरिरहेका छन् ।

सामाजिक सञ्जालमा यस्ता अनगिन्ती ‘ट्रोल’ हरू सक्रिय छन् । सरकारको विरोध गर्नेलाई ‘राष्ट्रघाती’को बिल्ला भिराउने गरिएको छ । दुतेर्ते प्रशासनमा चीनको सहयोगबाट गरीबी–बेरोजगारी अन्त्य गर्ने र पश्चिमा मुलुकलाई ठेगान लगाउने ‘राष्ट्रवाद’ मौलाएको छ ।

देशलाई लागूऔषध मुक्त गर्न खोज्दा आफूमाथि प्रहार भएको दुतेर्तेको प्रचारबाजीले पत्रकारबीच पनि विभाजन ल्याएको छ । “मानवअधिकारकर्मीहरू संगठित छैनन्” पीसीआईजेकी कार्यकारी निर्देशक मलु मंगहस भन्छिन्, “यसले गर्दा प्रेस स्वतन्त्रतादेखि नागरिक स्वतन्त्रता समेत संकटमा छ ।”

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षलाई राष्ट्रपति दुतेर्तेले ‘तिमी आफ्नो काम गर, मलाई आफ्नो काम गर्न देऊ’ भन्दै धम्क्याउने गरिरहेका छन् । रोयटर्सका संवाददाता मुगतो लोकतान्त्रिक प्रक्रियाबाट चुनिएको सरकारबाटै फिलिपिन्सको लोकतन्त्र खतरामा परेको बताउँछन् ।

उनका अनुसार, आम जनताले मिडियाको भूमिका राम्ररी नबुझ्नु अर्को ठूलो समस्या हो । “राष्ट्रपतिको स्वेच्छाचारी कदमको विरोध गर्दा जनताले मिडियालाई उनको शत्रुका रूपमा बुझिदिन्छन्” मुगतो भन्छन्, “अनि पत्रकारमाथि आक्रमण हुनुलाई पनि स्वाभाविक मानिदिन्छन् ।”

त्यसो त, सरकारको आलोचना गर्न नपाउने गरी प्रेसमाथि भएको आक्रमणको अनुभूति अन्य पेशाकर्मीलाई समेत हुनथालेको छ । मनिलामा कार्यरत अधिवक्ता जोनी अयोसले फिलिपिन्समा लोकतन्त्रको नाममा सबथोक भइरहेको बताए ।

अपराधी तह लगाउने राष्ट्रपतिको उद्देश्यले सबैको मन जितेको बताउँदै उनले भने, “तर, यसले गर्दा कुनै दिन म जस्तो पेशाकर्मीको बोल्ने स्वतन्त्रता पनि कुण्ठित हुनसक्छ ।”


आक्रमणबीच टिक्ने उपाय
रोड्रिगो दुतेर्ते राष्ट्रपति बनेपछि सबभन्दा धेरै सताइएको सञ्चारमाध्यम हो– र्‍याप्लर । सोसल न्यूज नेटवर्कका रुपमा शुरु भएर ‘सिटिजन

“सन् २०१६ सम्म हाम्रो रेभेन्यू बढिरहेको थियो, सरकारको आक्रमणपछि सन् २०१७ मा सेटव्याक भयो।” 
जेम्मा मेन्डोजा,
संस्थापक र्‍याप्लर

जर्नालिज्म’ को नमूना बनेको यो अनलाइन न्यूज पोर्टललाई दुतेर्ते प्रशासनले दर्ता खारेज गरेर तह लगाउने निर्णय गर्‍यो ।

तर, र्‍याप्लरले सर्वोच्च अदालतको ढोका ढक्ढक्यायो । अदालतले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । त्यसपछि सरकारले कर छलीको आरोपमा कारबाही थालेपछि र्‍याप्लरले फेरि अदालत गुहार्‍यो । यो विषय पनि अहिले अदालतमा विचाराधीन छ ।

यसबीचमा साइबर कानून बन्नुअघि प्रकाशित समाचारलाई लिएर साइबर अपराधको मुद्दा चलाइयो । र्‍याप्लरका संवाददातालाई राष्ट्रपति भवनमा हुने कार्यक्रमको रिपोर्टिङ गर्न रोक लगाइयो । राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि र्‍याप्लरका संवाददातालाई ‘एक्रिडियसन’ दिइएन ।

दुतेर्ते प्रशासनले दातृसंस्थाहरूको सहयोगमा समेत रोक लगाउन सक्ने देखेर र्‍याप्लरले आत्मनिर्भर हुने उपायको खोजी गरेको छ । किनभने दातृसंस्थाको सहयोग यसको मुख्य स्रोत थियो ।

मनिला र इण्डोनेसियाको राजधानी जकार्तामा कार्यालय रहेको र्‍याप्लरको संस्थापकमध्येकी एक जेम्मा मेन्डोजाले ब्राण्ड प्रमोसन, इभेन्ट म्यानेजमेन्ट, क्राउड फन्डिङ जस्ता काममा हात हालेको बताइन् । “सन् २०१६ सम्म हाम्रो रेभेन्यू बढिरहेको थियो, सरकारको आक्रमणपछि सन् २०१७ मा सेटव्याक भयो” उनी भन्छिन्, “तर, यो हामीले आकलन गरेकै अवस्था थियो । हामीले जनताकै लागि पत्रकारिता गरिरहेकाले अब केही उपाय नलागे जनतासँगै सहयोग माग्छौं ।”

प्रतिकृया दिनुहोस