रिपोर्टबुधवार, जेठ २३, २०७५

स्वास्थ्य क्षेत्रमा दयनीय अवस्था: डब्ल्यूएचओ भन्छ, 'नेपालमा वायु प्रदूषण पनि मृत्युको कारण'

रामु सापकोटा

विश्व स्वास्थ्य संगठनको हालै प्रकाशित अध्ययनले नेपालमा स्वास्थ्य क्षेत्रको दयनीय तस्वीर देखाएको छ।

लामो समयदेखि मर्मतमै अल्झिएको कलंकी थानकोट  सडक खण्ड । तस्वीर: बिक्रम राई

 

१४ जेठमा सार्वजनिक विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को ‘वर्ल्ड हेल्थ स्टाटिस्टिक्स, २०१८’ ले नेपाल सहित १९४ मुलुकको स्वास्थ्य क्षेत्रको पछिल्लो अवस्था देखाएको छ । त्यसमा नेपाल दक्षिण पूर्वी एशियामा सबभन्दा बढी मातृ मृत्युदर भएको देशमा दरिएको छ ।

नेपालमा प्रति वर्ष प्रति लाख जीवित जन्ममध्ये २५८ आमाको गर्भ सम्बन्धी समस्याबाट मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ  । तथ्यांक अनुसार थाइल्याण्डमा सबभन्दा कम प्रति लाख आमामध्ये २० जनाको मात्र यो कारणले मृत्यु हुन्छ ।

दिगो विकास लक्ष्य अनुसार आगामी सन् २०३० सम्ममा सबै मुलुकले यो मृत्युदरलाई प्रति लाख ७० भन्दा तल झर्नुपर्नेछ । 

कहाँ–कहाँ दुरवस्था

 किशोरी उमेरकी आमा बच्चासँगै ।

स्किल्ड बर्थ एटेन्डेन्स (एसबीए) तालिमप्राप्त जनशक्तिको उपलब्धतालाई मातृ मृत्युदर घटाउन महत्वपूर्ण मानिन्छ ।

डब्ल्यूएचओको तथ्यांकले नेपालमा हुने कुल वार्षिक जन्ममध्ये ५७ प्रतिशतमा मात्र त्यस्तो जनशक्ति सहभागी हुने देखाएको छ । यसबाट स्वास्थ्य मन्त्रालयले एसबीए तालिममा गरेको लगानी फलदायी नभएको प्रष्ट छ ।

जनशक्ति व्यवस्थापन नहुनु र खटाएका स्वास्थ्यकर्मी दुर्गममा नपुग्नुलाई सुत्केरीले दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा नपाउनुको कारण मानिएको छ ।

डब्ल्यूएचओका अनुसार, किशोरी अवस्थामा नै बच्चा जन्माउनेको संख्या दक्षिणपूर्वी एशियामा सबभन्दा बढी नेपालमा छ । नेपालमा प्रति हजार महिलामध्ये १०–१९ वर्षका ८८ किशोरीले बच्चा जन्माउने गरेको तथ्यांकले देखाएको छ ।

यो संख्या उत्तरकोरियामा सबभन्दा कम प्रति हजारमा ०.७ छ । बालविवाह, परिवार नियोजनका साधन बारेको अनभिज्ञता र जनचेतनाको अभावका कारण नेपालमा आमा हुने किशोरी संख्या बढेको हो । नेपालको स्वास्थ्य सेवा नै किशोर–किशोरी मैत्री हुन नसकेको विज्ञहरू बताउँछन् ।

तथ्यांकले नेपालमा नसर्ने रोगबाट हुने मृत्युको दर पनि बढ्दो देखाएको छ । कुल मृत्युमध्ये ३० देखि ७० वर्षको उमेर समूहका २१.८ प्रतिशत नेपालीको मृत्यु नसर्ने रोगका कारण हुने गरेको तथ्यांकले देखाएको छ ।

नसर्ने रोगबाट हुने मृत्युदर दक्षिणपूर्वी एशियामा सबभन्दा बढी इन्डोनेसिया (२६.४ प्रतिशत) र सबभन्दा कम माल्दिभ्समा (१३.४ प्रतिशत) छ ।

कार्डियोभास्कुलर, क्यान्सर, क्रोनिक रेस्पेरेटरी डिजिज्, उच्च रक्तचाप, मधुमेह लगायतका रोगहरूको समयमै पहिचान नहुँदा नसर्ने रोग बढिरहेको छ । नेपालमा यस्ता रोगको रोकथाममा कार्यक्रम र स्वास्थ्य सेवा प्रभावकारी नहुँदा जोखिम बढेको हो ।

प्रदूषणको डरलाग्दो तथ्यांक
डब्ल्यूएचओको तथ्यांकले नेपालमा प्रदूषण र यसको कारण हुने मृत्युदर पनि बढिरहेको देखाएको छ । तथ्यांकले नेपाललाई दक्षिणएशियामा यो कोटिको दोस्रो स्थानमा राखेको छ । त्यस अनुसार, नेपालमा हरेक वर्ष प्रति एकलाख जनसंख्यामध्ये वायु प्रदूषणका कारण १९३ जनाको मृत्यु हुने गरेको छ ।

प्रदूषणको कारण सबभन्दा बढी मृत्यु हुने देशमा उत्तरकोरिया (प्रति लाखमा २०७.२) परेको छ भने सबभन्दा कम माल्दिभ्स (प्रति लाखमा २५.६) देखाएको छ । नसर्ने रोगका अनुसन्धानकर्ता डा. कृष्ण अर्याल पेट्रोलियमदेखि दाउरा र गुईंठासम्मको धुवाँले प्रदूषणको दर बढाएको बताउँछन् ।

नेपालमा वातावरण प्रदूषणको मात्रा पनि डरलाग्दो छ । शहरी क्षेत्रमा पीएम २.५ को धूलोका कणको मात्रा वार्षिक ९९.५ माइक्रोग्राम प्रति घनमिटर रहेको देखाएको छ ।

सरकारले हावामा पीएम २.५ को मात्रा ४० माइक्रोग्राम प्रति घनमिटर तोकेको छ । डब्ल्यूएचओका अनुसार नेपाल अति प्रदूषित मुलुकहरूमध्ये पहिलोमा छ । सरसफाइको कमीबाट हुने मृत्युदरमा पनि नेपाल दक्षिणएशियामा पहिलो स्थानमा छ । नेपालमा यसखाले मृत्युदर प्रति लाख जनसंख्यामा १९.८ र माल्दिभ्समा सबभन्दा कम ०.३ छ ।

नेपालको २७ प्रतिशत जनसंख्याले मात्र स्वच्छ खानेपानी पाइरहेका छन् । तथ्यांक अनुसार, पाँच वर्ष मुनिका बालबालिकामा मोटोपन भन्दा पनि ख्याउटेपनको समस्या बढी (९.७ प्रतिशत) छ ।

भारतमा पाँच वर्ष मुनिका २१ प्रतिशत बालबालिकामा ख्याउटेपनको समस्या रहेको तथ्यांकले देखाएको छ । त्यस्तै, आत्महत्याबाट मर्नेको दर माल्दिभ्समा सबभन्दा कम प्रतिलाख २.३ प्रतिशत र भारतमा १६.३ प्रतिशत छ ।

नेपालमा यो संख्या प्रति लाख ८.८ प्रतिशत छ । मानसिक स्वास्थ्यमा सरकारको लगानी कम हुँदा आत्महत्या गर्नेको संख्या बढेको मानिन्छ । 

डब्ल्यूएचओको तथ्यांकले नेपालमा सडक दुर्घटनाका कारण प्रति लाखमा १७ जनाको मृत्यु हुने गरेको देखाएको छ । यो दर थाइल्याण्डमा सबभन्दा बढी प्रति लाखमा ३६.२ र सबभन्दा कम माल्दिभ्समा ३.५ छ ।

त्यस्तै, प्राकृतिक विपत्का कारण हुने मृत्युमा नेपाल विश्वको पहिलो स्थानमा छ । नेपालमा वार्षिक प्रति लाख जनसंख्यामा सात जनाको मृत्यु प्राकृतिक विपत्का कारण हुने गरेको तथ्यांकले देखाएको छ ।

‘युनिभर्सल हेल्थ कभरेज’ मा भने नेपाल दक्षिणएशियामा अन्तिममा परेको छ । डब्ल्यूएचओले यसमा नेपाललाई ४६ अंक दिएको छ, थाइल्याण्डलाई ७५ । ८० भन्दा बढी अंक पाए ‘युनिभर्सल हेल्थ केयर’ राम्रो भएको मानिन्छ ।

स्वास्थ्य सेवामा उपलब्ध जनशक्ति, पहुँच र सेवा लिन सक्ने क्षमता, स्वास्थ्य सेवा स्तरको मापन गरेर सम्बन्धित मुलुकको युनिभर्सल हेल्थ कभरेज निकालिन्छ । स्वास्थ्य सेवामा सबैको पहुँच पुग्न नसक्नु, दक्ष जनशक्तिको अभाव र आर्थिक संकटका कारण नेपालको ‘युनिभर्सल हेल्थ कभरेज’ दयनीय छ ।

सुधार भएका क्षेत्र

एचआईभी/एड्सको संक्रमण न्यूनीकरणमा नेपालले सफलता पाएको छ । डब्ल्यूएचओको तथ्यांकले नेपालको प्रति हजार जनसंख्यामा नयाँ एचआईभी संक्रमितको संख्या ०.०३ मात्र देखाएको छ । यो संख्या बाङ्लादेशमा अझ कम प्रति हजारमा ०.०१ भन्दा कम छ ।

म्यानमारमा सबभन्दा बढी ०.२२ छ । त्यस्तै, नेपालमा एक वर्षमा प्रति लाख जनसंख्यामा १५४ जना क्षयरोगबाट संक्रमित हुने गरेको तथ्यांकले देखाएको छ । माल्दिभ्समा यो संख्या सबभन्दा कम प्रति लाख जनसंख्यामा ४९ र उत्तरकोरियामा सबभन्दा बढी ५१३ छ ।

तथ्यांकले नेपालमा मलेरियाको संक्रमण पनि घटेको (प्रति लाखमा ०.९) देखाएको छ । मलेरिया रोग निवारणका लागि सरकारले चलाएका कार्यक्रमको प्रभावकारिताका कारण यो जोखिम घट्दै गएको हो ।

नेपालले सन् २०२६ सम्ममा मलेरिया उन्मूलन गर्ने लक्ष्य राखेको छ । भारतमा मलेरिया संक्रमण प्रति हजार १८.८ र श्रीलंकामा शून्य छ । दिगो विकास लक्ष्य अनुसार, सबै मुलुकले सन् २०३० सम्ममा एड्स, क्षयरोग र मलेरिया निवारण गर्नुपर्नेछ ।

डब्ल्यूएचओको तथ्यांकले नेपालमा पाँच वर्ष मुनिका बालबालिकामा हेपाटाइटिस–बीको संक्रमणदर प्रति लाख जनसंख्यामा ०.३१ देखाएको छ ।

यो संख्या थाइल्याण्डमा सबभन्दा कम ०.१७ र सबभन्दा बढी म्यानमारमा २.०३ छ । बाल मृत्युदरमा नेपालको स्थान दक्षिणएशियामा बढी हुने मुलुकको चौथो स्थानमा छ । नेपालमा प्रति हजार जीवित जन्ममध्ये ३४.५ बालबालिकाको मृत्यु हुने गरेको छ ।

म्यानमारमा यो संख्या सबभन्दा बढी ५०.८ र माल्दिभ्समा सबभन्दा कम ८.५ छ । दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा बाल मृत्युदरलाई प्रति हजार जीवित जन्ममध्ये १२ मा झर्नुपर्नेछ।

प्रतिकृया दिनुहोस