गंगामाया फेरि आमरण अनशनमा
सत्याग्रही गंगामाया अधिकारीले आजदेखि पुनः आमरण अनशन शुरु गरेकी छन् ।
छोरा कृष्णप्रसादको हत्या आरोपीलाई पक्राउ र अदालतमा विचाराधिन मुद्दा छिटो फैसला गर्न माग गर्दै अधिकारीले आमरण अनशन शुरु गरेकी हुन् ।
२४ जेठ २०६१ मा गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको माओवादीले हत्या गरेका थिए । हत्या आरोपी छविलाल पौडेल, जानुका पौडेल, पर्शुराम पौडेल र भीष्मराज पौडेल विरुद्ध ३० चैत २०७० देखि चितवन जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । राजनीतिक संरक्षणमा मुद्दा फैसलामा ढिलाई गरिएको गंगामायाले आरोप लगाएकी छन् ।
सर्वोच्च अदालतले ६ पुष २०७२ मा मूख्य आरोपी छविलाल पौडेललाई पुर्पुक्षका लागि थुनामा राख्न आदेश दिएपनि उनी पक्राउ परेका छैनन् ।
यसअघि अधिकारी दम्पत्तिले न्याय माग्दै आमरण अनशन बसेका थिए । अनशनको ३३४ औं दिनमा ६ असोज २०७१ मा गंगामायाका पति नन्दप्रसाद अधिकारीको निधन भएको थियो । नन्दप्रसादको अझै अन्तिम संस्कार हुन सकेको छैन ।
अनशन शुरु गरेको ५ वर्षसम्म पनि कुनै सरकारले न्याय नदिएको र दण्डहिनतालाई प्रश्रय दिएको गंगामायाको भनाई छ ।