एमाले–माओवादी मिलेर बन्यो ‘नेपाल कम्युनिष्ट पार्टी’
नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको छ ।
आज, ३ जेठमा राष्ट्रिय सभागृह काठमाडौंमा आयोजित पार्टी एकीकरण समारोहमा नेपाल कम्युनिष्ट पार्टीको घोषणा गरिएको हो ।
नवगठित नेपाल कम्युनिष्ट पार्टीले आजै निर्वाचन आयोगमा दर्ताको लागि निवेदन दिइसकेको छ ।
नेपाल कम्युनिष्ट पार्टीमा केपी शर्मा ओली र पुष्पकमल दाहाल सहअध्यक्ष बनेका छन् । पार्टीमा नौ सदस्यीय हाइकमाण्ड रहने व्यवस्था गरिएको छ ।
हाइकमाण्डमा सहअध्यक्षद्धयका साथ झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा छन् ।
विष्णु पौडेलले संगठन हेर्नेगरी महासचिवको जिम्मेवारी पाएका छन् भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
विघटित एमालेका २४१ र माओवादी केन्द्रका २०० जना मिलाएर ४४१ सदस्यीय केन्द्रीय समिति बनाइएकाे छ । त्यस्तै एमालेका २६ र माओवादीका १९ जना सम्मिलित ४५ सदस्यीय स्थायी समिति बनेको छ ।
संघीय संसद, प्रदेशसभा र स्थानीय सरकारमा प्रतिनिधित्वका हिसाबले नेकपा नेपालको इतिहासकै सबैभन्दा ठुलो पार्टी भएको छ ।
१७ असोजमा छ बुँदे सहमति गर्दै एमाले–माओवादी केन्द्रले चुनावी तालमेलका साथै पार्टी एकीकरण गर्ने घोषणा गरेका थिए ।