रिपोर्टबुधवार, जेठ २, २०७५

फेरिएला किनमेलको शैली ?

रमेशकुमार

चिनियाँ बहुराष्ट्रिय ई–कमर्श समूह अलिबाबाको प्रवेशले नेपालमा परम्परागत किनमेलको शैलीमा अभूतपूर्व परिवर्तन ल्याउन सक्छ।

अनलाइन कारोबार तथा सूचनाप्रविधिको व्यवसायमा अन्तर्राष्ट्रिय ख्याति कमाएको चिनियाँ कन्ग्लोमेरेट अलिबाबा ग्रुप होल्डिङले ८ मे (२५ वैशाख) मा नेपालसहित दक्षिण एशियाली मुलुकमा अनलाइन व्यापार गरिरहेको दराज समूहको सम्पूर्ण स्वामित्व खरीद गर्‍यो ।

दक्षिणएशियाका बाङ्लादेश, पाकिस्तान, श्रीलंका र नेपालसहित म्यानमारमा पनि ई–कमर्श व्यवसाय गरिरहेको दराज को खरीद ‘डिल’ को रकम भने खुलाइएको छैन ।

सन् २०१२ मा जर्मन भेन्चर क्यापिटल रकेट इन्टरनेटमार्फत स्थापित क्यामु अनलाइन प्लेटफर्मलाई मर्ज गरेर गत वर्ष ‘ब्राण्ड नेम’ दराज राखिएको थियो ।

यसले नेपालमा पनि अनलाइनमार्फत कपडादेखि विद्युतीय सामग्रीको कारोबार गरिरहेको छ । यो डिलसँगै अलिबाबा ले नेपालमा आफ्नो पहिलो पाइलो राखेको छ, यद्यपि, कुन स्वरुप र मोडलमा अलिबाबा ले काम गर्नेछ भन्ने खुलिसकेको छैन ।

“ई–कमर्शको विशाल कम्पनीको नेपाल प्रवेश सानो कुरा होइन, यसले देशको अनलाइन कारोबारको परिदृश्य नै बदल्न सक्छ”, ई कमर्शका विज्ञ तथा एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकाल भन्छन् ।

दराज को नेपालस्थित एक अधिकारीले हाललाई दराज कै ब्राण्ड अन्तर्गत कारोबार सञ्चालन हुने बताएका छन् । तर, अलिबाबाले बजार विस्तारका लागि लिने रणनीतिमा सबै कुरा भर पर्ने ती अधिकारी बताउँछन् ।

चिनियाँ अर्बपति ज्याक माले सन् १९९९ मा स्थापना गरेको अलिबाबा अन्तर्गतका थाओपाओ र टीमल अनलाइन खुद्रा शपिङ साइटले चीनमा खरीददारीको परम्परागत शैलीलाई नै बदलेको मानिन्छ । सिंगल डे भनिने ११ नोभेम्बर, २०१७ को २४ घण्टामा थाओपाओ र टीमल मा मात्रै २५ अर्ब अमेरिकी डलर बराबरको सामान किनमेल भएको थियो ।

अनलाइन हाटबजारले किनमेलको परम्परागत शैलीलाई फेरिदिएपछि चीनमा गत वर्षभरिमा ३६६ अर्ब डलर बराबरका मालमत्ताको खुद्रा किनमेल अनलाइनमार्फत भएको थियो ।

जुन, अमेरिका र बेलायत– दुवैको अनलाइन शपिङ जोड्दा निस्कने कारोबार रकमभन्दा बढी हो । अलिबाबा ले दक्षिण एशियाली बजारमा प्रवेशको रणनीतिअनुरूप दराज खरीद गरेको अनुमान गरिएको छ ।

यसअघि, दुई वर्षअघि अलिबाबा ले दक्षिणपूर्वी एशियामा कारोबार विस्तार गर्न लजादा खरीद गरेर ई–कमर्शको विस्तारका लागि करीब रु.१ खर्ब लगानी गरेको थियो ।

रकेट इन्टरनेटले जारी गरेको विज्ञप्तिमा दक्षिणएशियाका पाँच देशमा उपलब्ध ४६ करोड जनसंख्या र त्यसको ६० प्रतिशत युवा रहेकाले ई–कमर्श बजारको ठूलो सम्भावना रहेको उल्लेख छ ।

सूचनाप्रविधिका जानकार ढकाल दराज को शतप्रतिशत स्वामित्व खरीद गरेको अलिबाबा ले आफ्नै ग्लोबल ब्राण्डको छनक दिने गरी रि–ब्राण्डिङ गर्न सक्ने सम्भावना देख्छन् । “मुख्य कुरा अलिबाबा को प्रवेशले ई–कमर्शका लागि भर्जिन नेपाली बजारमा अन्य ठूला खेलाडीको प्रवेशको ढोका खोलेको छ”, ढकाल भन्छन् ।

अवसर छ
नेपालमै अनलाइन किनमेलको श्रीगणेश सन् २००० तिरै भए पनि यसले गति समातेको छैन । नेपालमा हुने कुल खुद्रा कारोबारको अत्यन्तै सानो हिस्सा मात्रै अनलाइनमार्फत हुन्छ ।

ठूलो जनसंख्या सहितका छिमेकी भारत र चीनमा ई–कमर्शको बजार तीव्र गतिमा बढिरहेको छ । यस्तोमा नेपालमा अनलाइन कारोबारको सम्भावना देखेर ठूला अन्तर्राष्ट्रिय खेलाडीहरू प्रवेश हुनसक्ने सम्भावना ढकाल देख्छन् ।

भारतमा केही वर्षअघि प्रवेश गरेको अमेजन ले नेपालमा पनि सेवा शुरू गर्न लागेको चर्चा केही महीना अघि चलेको थियो । अमेजन ले नेपालमा बजार सम्भावनाका विषयमा अध्ययन गरेको बुझेका एक जानकार चल्तीको कुनै अनलाइन शपिङ साइटसँगको सहकार्यमा सेवा विस्तार गर्ने सम्भावना देख्छन् ।

घरमै बसीबसी अमेजन जस्ता ठूला शपिङ साइटमा कारोबार सम्भव भए त्यसले खरीददारीको परम्परागत शैलीलाई परिवर्तन गर्नेछ ।

सूचनाप्रविधिका विज्ञ मनोहर भट्टराई साखका लागि पनि धेरै देशमा कारोबार गर्ने ग्लोबल ब्राण्डहरू बजार विस्तारको सम्भावना भएको नेपाल प्रवेश गर्न सक्ने बताउँछन् ।

व्यापारका हिसाबले नेपालबाट तत्कालै पैसा बनाउन सम्भव नभए पनि ग्लोबल ब्राण्डहरूले भविष्य हेरेर लगानी गर्ने उनी बताउँछन् । “नेपालमा सिरियस ई–कमर्श नभएको र सम्भावित बजारका लागि वातावरण तयार हुँदै गरेकाले स्ट्राटेजिक मूभ स्वरुप ग्लोबल ब्राण्ड आउने सम्भावना रहन्छ” भट्टराई भन्छन्, “अलिबाबा को दक्षिणएशियाको प्रवेश पनि ‘स्ट्राटेजिक मूभ’ हो ।”  

बढ्दो इन्टरनेट प्रयोगकर्ताको संख्या, कुल जनसंख्यामा युवाको बाहुल्य र अनलाइन कारोबारप्रतिको युवाहरूको रुचिका कारण नेपाल ई–कमर्श विस्तारका लागि राम्रो बजार बनिरहेको छ ।

“तर, आजको भोलि ई–कमर्शले ठूलो छलाङ मार्दैन, ई–कमर्श विस्तारका लागि थुप्रै चुनौती बाँकी छन्”, भट्टराई भन्छन् । उनका अनुसार, नेपालमा अनलाइनमार्फत हुने कारोबारको व्यवस्थापन, नियमन, ग्राहक चेतना, उपभोक्ता संरक्षण एवं बौद्धिक सम्पत्तिको सुरक्षा जस्ता विषयको प्रष्टता अझै छैन ।

“अनलाइनमार्फत ग्राहक ठगिंदा कहाँ उजुरी गर्ने भन्ने ठेगान छैन”, भट्टराई भन्छन् । सबैभन्दा महत्वपूर्ण चाहिं अनलाइनमार्फत हुने कारोबारको भुक्तानी र डेलिभरीमा ठूलो व्यवधान कायम छ ।

नेपालमा अहिले अनलाइन खुद्रा कारोबार गरिरहेकाहरूले ‘क्यास अन डेलिभरी’ अर्थात् सामान पुर्‍याएपछि नगद रकम लिने अभ्यास छ । तर, अनलाइन शपिङको मर्म भने इन्टरनेटमार्फत तत्काल भुक्तानी गरेर सामान किनमेल गर्ने सुविधा हो ।

जसका लागि रियलटाइम कारोबार फरफारक गरिदिने राष्ट्रिय पेमेन्ट गेटवेको अभाव भएको विज्ञ भट्टराई बताउँछन् । त्यस्तै, सहज पहुँचका लागि खरीद गरिएको सामान पुर्‍याउने ठेगाना व्यवस्थित हुनुपर्ने भए पनि अव्यवस्थित शहरीकरणका कारण समस्या छ ।

१८ वर्षअघि ठमेल डटकम ले शुरू गरेको नेपालको अनलाइन शपिङलाई मुन्चा डटकम सहितले विस्तार गरेका थिए । हाल स्थानीय लगानीकर्ताले प्रवद्र्धन गरेका मुन्चा डटकम, सस्तोडिल डटकम, हाम्रोबजार डटकम, फूडमाण्डु डटकम सहितका अनलाइन शपिङ साइटहरू उपलब्ध छन् ।

बहुराष्ट्रिय प्रतिस्पर्धी थपिने भएपछि स्थानीय शपिङ स्टोर भाटभटेनी पनि अनलाइनमा आक्रामक ढंगले होमिने तयारीमा छ । मुन्चा डटकम का प्रमुख कार्यकारी अधिकृत अमृतमान तुलाधर बहुराष्ट्रिय कम्पनी प्रतिस्पर्धामा उत्रिंदा स्थानीय अनलाइन प्लेटफर्म मात्र होइन्, सानाठूला पसल नै बन्द गराइदिने सम्भावना देख्छन् ।

“बहुराष्ट्रिय कम्पनीसँग स्थानीयले प्रतिस्पर्धा गर्न सक्दैनन्, कस्ता कम्पनीलाई कुन शर्तमा आउन दिने भन्ने देशको आफ्नो रणनीति हुनुपर्छ,” तुलाधर भन्छन् ।

क्यासलेसको भविष्य
छिमेकी चीन र भारतमा क्यासलेस भनिने विद्युतीय कारोबारको चलन चामत्कारिक गतिमा अघि बढेको छ । कारोबारको भुक्तानी सहज भएकै कारण भारतमा फ्लिपकार्ट, अमेजन जस्ता अनलाइन शपिङ साइटको कारोबार आकार ह्वात्तै विस्तार भएको छ ।

संसारका थुप्रै देशमा बिहान उठेर पिइने कफीको रकम तिर्नदेखि रेलको टिकट काट्न, ट्याक्सी चढ्न वा रेस्टुरेन्टको बिल तिर्न तथा बजारमा किनमेल गरेर ट्याक्सीमा घर फर्कन खल्तीमा नगद बोकिराख्नुपर्दैन । पैसाको सानो इकाइदेखि लाखौं रुपैयाँसम्म तुरुन्त मोबाइलमार्फत लेनदेन गर्न सकिन्छ ।

नेपालमा ‘मोबाइल वालेट’ हरूले क्यासलेस कारोबारलाई सहज बनाए पनि पूर्वाधारहरू बनिसकेको छैन । ई–सेवा, खल्ती, प्रभु, आईएमई पे आदि स्थानीय मोबाइल वालेटहरूका खातामा रकम पठाएर वस्तु र सेवा वापतको रकम भुक्तानी गर्न सकिए पनि बजारमा उपलब्ध सबै खालका वस्तु र सेवाका खुद्रा बिक्रेताहरूले मोबाइल वालेटमार्फत रकम नस्वीकार्दा नगद बोक्नुको विकल्प छैन ।

विद्युतीय कारोबारका लागि ग्राहक मात्र होइन्, बिक्रेता पनि तयार हुनुपर्छ, जुन अहिलेसम्म व्यापक हुनसकेको छैन । मुन्चा डटकम का प्रमुख कार्यकारी अधिकृत तुलाधर पेमेन्ट र डेलिभरी सिस्टममा केही अवरोध भएको र त्यसमा सहजता हुनासाथ अनलाइन कारोबारले थप गति समात्ने बताउँछन् ।  

नेपाल राष्ट्र ब्यांकले ई–सेवा, आईएमई पे र प्रभु टेक्नोलोजी लाई भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्न अनुमति दिएको छ । खल्ती, आई पे लगायत १८ सेवा प्रदायकले राष्ट्र ब्यांकबाट सेवा सञ्चालनको एलओआई (लेटर अफ इन्टेन्ट) पाइसकेकाले केही महीनाभित्रै सेवा सञ्चालनको तयारीमा छन् । भारतमा नोटबन्दी पश्चात् तीव्र व्यवसाय विस्तार गरेको भुक्तानी सेवा प्रदायक पेटीएम र अक्सिजन पनि नेपाल भित्रने तयारीमा छन् ।

प्रतिकृया दिनुहोस