रिपोर्टमंगलवार, जेठ १, २०७५

शैक्षिक परामर्श केन्द्रः विद्यार्थीका सारथि

राउण्ड टेबल

मस्त केसी

शैक्षिक परामर्श केन्द्रहरूकै कारण विदेशका ठूला विश्वविद्यालयहरूको शिक्षा आम नेपाली विद्यार्थीको पहुँचमा पुगेको मात्रै छैन, शैक्षिक संस्था रोज्न पनि विद्यार्थीलाई सहज भएको छ।

तस्वीरः गोपेन राई

पछिल्लो दुई दशकदेखि नेपालमा शैक्षिक परामर्श केन्द्रको व्यवसाय निकै फस्टाएको छ । शुरुमा राजधानीकेन्द्रित शैक्षिक परामर्श केन्द्रहरू अहिले अन्य शहर हुँदै देशभर फैलिएका छन् । विदेशका कलेज/विश्वविद्यालयमा पढ्नका लागि परामर्श दिने यस्ता केन्द्रहरूले विद्यार्थीका लागि आवश्यक कागजात बनाउन सघाउनेदेखि आईईएलटीएस, टोफल, जिम्याट, जीआरई जस्ता विभिन्न योग्यता परीक्षाका तयारी कक्षा पनि सञ्चालन गरिरहेका छन् । 

नेपाली विद्यार्थी विदेशका कलेज, विश्वविद्यालयमा पढ्न जाने क्रम मात्रै बढेको छैन, उतै बस्ने (सेटल हुने) क्रम पनि बढेको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष विष्णुहरि पाण्डेका अनुसार पछिल्ला केही वर्षमा विदेशिएका विद्यार्थीमध्ये २२ प्रतिशत मात्रै पढाइपछि स्वदेश फर्किएका छन् । गत वर्ष मात्रै ६१ हजार ४५२ विद्यार्थीले विदेशमा पढ्नका लागि शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ लिएका थिए ।

नेपालमा शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर सञ्चालन भइरहेका शैक्षिक परामर्श केन्द्रको संख्या मात्रै १ हजार २४३ छ । शैक्षिक परामर्श केन्द्रहरूको संख्यात्मक वृद्धिसँगै चुनौती र अप्ठ्याराहरू पनि थपिएका छन् । परामर्श केन्द्रले अनावश्यक र चर्को शुल्क लिएको आरोप पनि लाग्ने गरेको छ ।

परामर्श केन्द्रबीचको प्रतिस्पर्धाले विद्यार्थीलाई परामर्श लिन सहज त बनाएको छ, सँगै शैक्षिक परामर्शको नाममा कामदारलाई विदेश पठाउनेदेखि विद्यार्थीलाई ठगी गरेको आरोप पनि बेलाबेला सार्वजनिक भइरहन्छ ।

यति ठूलो संख्यामा विद्यार्थी किन विदेशिन्छन् ? अध्ययन सकेर स्वदेश फर्किन्छन्/फर्किंदैनन् ? विदेश पठाउने प्रक्रियाका क्रममा परामर्श केन्द्रहरूले लिने शुल्क, परामर्श केन्द्रहरूको योगदान आदि विषयमा शैक्षिक परामर्श केन्द्रका प्रतिनिधिहरूसँग गत साता हिमाल ले गरेको छलफलमा व्यक्त विचारको सम्पादित अंशः

शैक्षिक परामर्श केन्द्रहरूले चर्को शुल्क असुल्ने तर गुणस्तरीय सेवा नदिएको गुनासो सुनिन्छ, यस्तो किन भएको ?

विष्णुहरि पाण्डे

विष्णुहरि पाण्डे, अध्यक्ष, इक्यान: इक्यान अन्तर्गत ३८८ वटा संस्था छन् । सबै संस्था इक्यानको आचारसंहिता र नीतिनियम अनुसार सञ्चालन हुन्छन् । यी सबै संस्थाले शैक्षिक परामर्श र सेवा शुल्कबापत ५०० देखि १००० अमेरिकी डलरसम्म लिन पाउँछन् । यो बाहेक विद्यार्थीले शुरुमा विश्वविद्यालयलाई बुझाउनुपर्ने शुल्क साथै सम्बन्धित देशमा पुगिसकेपछि केही समयको लागि खाने–बस्ने सुविधा प्राप्त गरेबापत तिर्ने रकम हो ।

देश र विश्वविद्यालय अनुसार, प्रक्रियामा लाग्ने समय आदि कारणले शुल्क कम वा बढी हुन्छ । यदि कसैले तोकिएभन्दा बढी शुल्क लिएको छ भने इक्यानभित्रको अनुशासन कमिटीले कारबाही गर्छ, गरिरहेको पनि छ । नियमभन्दा बाहिर वा इक्यानको मापदण्ड नमान्नेलाई हामीले सदस्यता निलम्बन लगायतका कारबाही समेत गरिरहेका छौं । इक्यानभन्दा बाहिरका संस्थाले बढी शुल्क लिएका हुन सक्छन् ।

शेषराज भट्टराई, सञ्चालक,अर्बिट इन्टरनेशनल एजुकेशन: केही समय अघिसम्म विदेश पढ्न

शेषराज भट्टराई

जानेहरूमा अधिकांश धनाढ्य र पहुँचवालाका छोराछोरी हुन्थे । छात्रवृत्ति समेत पहुँचवालाको मुट्ठीमा थियो । यसलाई चिरेर विदेशको गुणस्तरीय शिक्षा आम नेपालीको पहुँचमा पुर्‍याउने काम त शैक्षिक परामर्श केन्द्रहरूले नै गरेका हुन् ।

हामीले लिने निश्चित शुल्क र सहज परामर्शकै कारण मध्यम र निम्न आय भएका नेपाली विद्यार्थी समेत विदेशी विश्वविद्यालयमा पढ्न सक्ने भएका छन् । हामीले न्यूनतम शुल्क लिएर संसारका प्रख्यात विश्वविद्यालयसम्म नेपाली विद्यार्थी पठाएका छौं । ‘ग्लोबल सिटिजन’ उत्पादन गर्नमा परामर्श केन्द्रहरूको पनि ठूलो योगदान छ ।

नेपाली विद्यार्थी विदेशिनुको मुख्य कारण के हो ?
विष्णुहरि पाण्डेः
 नेपालका विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम सान्दर्भिक भए पनि शिक्षण विधि प्रयोगात्मक हुनसकेको छैन । कक्षा सञ्चालन परम्परागत शैलीमै छ । हामी सबैले युवालाई सपना देखायौं तर, सपना पूरा नहुँदा निराशा मात्रै बढ्यो । नेपालको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय नै संकाय र विद्यार्थीको संख्यामा अल्मलिएको छ ।

सेमेष्टर प्रणालीमा पढाइ भइरहँदा विद्यार्थीलाई कसरी ग्रेडिङ गर्ने उसैलाई थाहा छैन । शैक्षिक क्यालेण्डर लागू हुनसकेको छैन । विश्वविद्यालय सञ्चालनको नेतृत्व लिएकाहरूको कार्ययोजना पूरै असफल भएको छ । पढाइ सकिएपछि अवसरको सुनिश्चितता छैन । त्यसैले नेपाली युवाहरू विदेशका विश्वविद्यालयमा जान चाहन्छन् ।

अर्को कुरा, नीतिनिर्माण तहमा रहेका, राजनीतिज्ञ, पहुँचवाला अधिकांशले आफ्ना छोराछोरी विदेशका विश्वविद्यालयमा पढाइरहेका छन् । यसले गर्दा पनि आम–अभिभावकको चाहना आफ्ना छोराछोरीले पनि विदेशमा पढुन् भन्ने हुन्छ । नेपाल जस्ता विकासशील राष्ट्रका मात्रै हैन विकसित देशका विद्यार्थी पनि एक ठाउँबाट अर्को ठाउँमा गएर पढिरहेका छन् । ‘ग्लोबल भिलेज’ को समयमा यो स्वाभाविक हो ।

शेषराज भट्टराईः नेपाली विद्यार्थीको पहिलो रोजाइमा क्यानाडा, अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका देश पर्छन् । ती देशको ब्राण्ड भ्यालू, शिक्षण विधि, एक्सपोजर, सुरक्षा, पढाइपछि पाइने अवसर लगायतले त्यहाँको आकर्षण बढेको हो ।

अर्को कुरा यी देशका विश्वविद्यालय/कलेजहरू नेपाली विद्यार्थी भर्ना लिनमा सकारात्मक छन् । त्यहाँ शिक्षामा भएको लगानी, शिक्षाको पद्धति, शिक्षण सिकाइले पनि नेपाली विद्यार्थीलाई तानेको छ । संसारमा धेरै ‘स्टार्ट–अप’ व्यवसाय विश्वविद्यालय पढ्दै गरेका विद्यार्थीले नै शुरु गरेका छन् र पछिल्लो समय नेपाली विद्यार्थी पनि यस्ता व्यवसायमा संलग्न छन् ।

वासुदेव दाहाल

वासुदेव दाहाल, प्रमुख कार्यकारी अधिकृत, प्रान्जल एजुकेशन कन्सल्टेन्सी: नेपालमा लगातार पाठ्यपुस्तक पढ्ने चलन छ । प्रमाणपत्र लिने र दिने मानसिकतामा चलेको छ–शिक्षा प्रणाली । विद्यालयदेखि विश्वविद्यालयसम्मले विद्यार्थीमा जागिरे मानसिकता भरिदिएका छन् । पढेर उद्यम गर्नुपर्छ, आफ्नो व्यक्तिगत परिचय स्थापित गर्नुपर्छ भन्ने सिकाउन नेपालको शिक्षा प्रणाली चुकेको छ । यसले गर्दा विदेशका शिक्षण संस्थाहरूमा नेपाली विद्यार्थीको आकर्षण बढेको हो ।

विदेशका विश्वविद्यालयबाट पढेर आउँदा विद्यार्थीले पढाइसँगै आफ्नो क्षमता पनि चिन्छ । विदेशमा पढाइदेखि खाने, बस्ने खर्च आफैं जुटाइरहेको विद्यार्थीले अरु कसैको हस्तक्षेप वा दबाब व्यहोर्नुपर्दैन । स्वतन्त्रताको चाहनाले पनि नेपाली विद्यार्थी विदेशिने क्रम बढेको हो ।

बिक्रम केसी, प्रबन्ध निर्देशक,यूरो अमेरिकन एडुकेयर: युवा जहाँ अवसर हुन्छ त्यही जान चाहन्छन् । गुणस्तरीय शिक्षा र समृद्ध जीवनयापनको चाहनाले विद्यार्थीमा विदेश मोह बढेको छ । संसार हेर्न र फरक ठाउँको जीवन भोग्न चाहनेहरूको रोजाइमा विदेशी विश्वविद्यालय पर्नु स्वाभाविक हो ।

बिक्रम केसी

हामीले पठाएका धेरै विद्यार्थी संसारका विभिन्न विश्वविद्यालयबाट उत्कृष्टता हासिल गरिरहेका छन् । अमेरिकाको नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मै नेपाली विद्यार्थीले काम गरिरहेका छन् । अष्ट्रेलियाका अत्यन्तै राम्रा विश्वविद्यालयमा थुप्रै नेपाली विद्यार्थी स्कलर छन् । मुख्य कुरा अवसर नै हो ।

विदेशिएका विद्यार्थी फर्किने क्रम कस्तो छ ?
विष्णुहरि पाण्डेः
 विदेशमा अध्ययन गरेका विद्यार्थीको सीप र क्षमताको उपयोगका लागि राज्यले नीति नै बनाउनुपर्र्ने बेला आएको छ । विदेशिएका विद्यार्थी फर्किएका छैनन् भन्ने हैन तर, विदेशिनेको तुलनामा फर्किनेको संख्या निकै कम छ । पछिल्लो समय फर्किने विद्यार्थीको संख्या करीब २२ प्रतिशत मात्र छ ।

विश्वका उत्कृष्टमध्येका केही विश्वविद्यालयहरू एशियामा पनि छन् तर, पढाइपछिको अवसर र उनीहरूको क्षमता चिन्ने नराख्ने राज्यको नीतिकै कारण यूरोप, अमेरिका पढ्न जाने विद्यार्थीको संख्या धेरै छ । विद्यार्थीले जहाँ अवसर देख्छन् त्यहाँ जानु स्वाभाविक हो । त्यसैले राज्यले त्यस्ता जनशक्तिको लागि अवसर सिर्जना गर्न सक्नुपर्छ ।

वासुदेव दाहालः पढाइ सकेर स्वदेश फर्कनै पर्छ भन्ने पनि होइन । कुनै पनि व्यक्तिले आफ्नो क्षमता अनुसारको काम जहाँ पाउँछ, त्यहीं बस्छ । एक व्यक्तिको प्रगतिको बाधक अर्को व्यक्ति वा समाज त बन्न मिलेन नि ! विद्यार्थी नफर्किंदैमा देशलाई घाटा हुन्छ भन्ने मलाई लाग्दैन, स्वदेशमा अवसरहरू धेरै भए भने विद्यार्थी मात्रै होइन अरु पनि फर्किएलान् ।

भूटान सरकारले आफैंले लगानी गरेर विद्यार्थी विदेश पठाउँछ । किनभने उसलाई विश्वस्तरको जनशक्ति चाहिएको छ । हामीले फर्कने वातावरण बनाउने हो दबाब दिने होइन ।

दीपकराज भुसाल

दीपकराज भुसाल, प्रबन्ध निर्देशक, इन्लाइटन इन्टरनेशनल एजुकेशन: पढ्दा–पढ्दै पाइने काम र पढिसकेपछिको अवसर लगायतका कारणले विद्यार्थी विदेशिन्छन् । पैसाकै भरमा कुनै परामर्श केन्द्रले विद्यार्थीलाई विदेश पठायो भने त्यस्ता विद्यार्थीले पढाइ पूरा नगर्न पनि सक्छन् । त्यसैले, विद्यार्थीले पढाइ पूरा गर्ने/नगर्ने भन्नेमा परामर्शदाताहरूको पनि उत्तिकै भूमिका हुन्छ ।

तर, पढेपछि फर्कनैपर्छ भन्ने मान्यता मेरो छैन । अहिले विदेशमै उद्योग–व्यवसाय गरेर धनाढ्य भएका एनआरएन पनि कुनै बेला विद्यार्थीको रुपमा हामीले नै पठाएका हौं । उनीहरूले भित्र्याउने लगानी, सीप आदिबाट पनि देशले फाइदा लिन सक्छ ।

शैक्षिक परामर्श व्यवसायप्रति सामाजिक दृष्टिकोण अझै सकारात्मक हुन नसकेको किन होला ?
विष्णुहरि पाण्डेः
 परामर्शदाताहरूले विद्यार्थी र विश्वविद्यालयबीच पुलको भूमिका निर्वाह गरिरहेका छन् । सम्पूर्ण जोखिम वहन गरेर विद्यार्थीलाई सहज वातावरणमा विदेश पठाउने परामर्शदाता संस्थाहरूले विदेशी विश्वविद्यालयमा भर्ना गरिदिने मात्रै नभएर त्यसपछिका विभिन्न समस्या र अवसरका बारे पनि सहजीकरण गरिरहेका छन् ।

गुणस्तरीय शैक्षिक संस्थाबारे विद्यार्थीमाझ सूचना प्रवाह गर्ने काम परामर्शदाताले नै गरिरहेका छन् । समाजले यसको महत्व बुझ्दै जाँदा दृष्टिकोण पनि सकारात्मक भइरहेको महसूस गरेका छौं ।

शेषराज भट्टराईः विदेशी विश्वविद्यालय र समाजले नेपाली परामर्श केन्द्र र विद्यार्थीलाई सम्मानजनक स्थान दिएका छन् । जुन कुरा हामीले हाम्रै समाजबाट पाएका छैनौं । शिक्षा मन्त्रालय, सरोकारवाला र कर्मचारीतन्त्रले हामीलाई हेर्ने दृष्टिकोण केही भिन्न छ । नेपालको उच्च शिक्षा प्रणालीप्रति हामी मात्रै हैन कोही पनि सन्तुष्ट छैनन् ।

अध्ययन अनुसन्धानमा समय बिताउनुपर्ने अधिकांश प्रा.डा. हरूको भूमिका अर्कै देखिन्छ । हामीले त शिक्षा कूटनीतिको पनि विकास गरिरहेका छौं । बाहिरिएका विद्यार्थीका कारण विदेशमा नेपालको प्रचार भइरहेको छ । विदेशमा पढिरहेका विद्यार्थीको समाजमा निकै ‘ग्ल्यामर’ छ । समाजमा हामी पनि त्यसरी नै स्थापित हुँदैछौं ।

वासुदेव दाहालः विद्यार्थीले विदेशमा गएर बुझेको जीवन, पाएको अवसर र क्षमतामा भएको वृद्धिले समाजमा उनीहरूको ग्ल्यामर बढेको हो । उनीहरूलाई विदेश पठाउने परामर्शदातृ संस्थाहरूप्रति पनि समाजको दृष्टिकोण बदलिंदो छ । दक्ष जनशक्ति शैक्षिक परामर्शको क्षेत्रमा भित्रिएको छ, ठूलो लगानी भइरहेको छ । विदेशको समाजले शैक्षिक परामर्श केन्द्रलाई गर्ने जस्तै व्यवहार हामी यहाँ खोजिरहेका छौं । त्यस्तो नभएको चाहिं पक्कै हो ।

दीपकराज भुसालः इक्यानसँग आबद्ध जो व्यवसायीहरू छौं, हामी सबैभन्दा पहिले विद्यार्थीले नेपालमा पढ्न किन चाहेन भनेर बुझ्छौं । यो कुरामा प्रष्ट भएपछि विद्यार्थी जान चाहेको देशमा रहेका चुनौतीबारे प्रष्ट पार्छौं । काम गर्न वा पढ्नका लागि न्यूनतम शर्तहरूको जानकारी दिई आधारभूत कुराहरू यहीं सिकाएर पठाउँछौं ।

अन्तर्राष्ट्रिय विद्यार्थीलाई देश अनुसारका नियम र आचारसंहिता छन् तिनको गाइडलाइन पनि दिएका हुन्छौं । यो पेशामा अधिकांश ४० वर्ष मुनिका युवाहरू छन् । प्रत्येक व्यवसायी कम्तीमा ८/१० वटा देश घुमेर त्यहाँको शिक्षा लगायत यावत् विषयको बारेमा जानकारी लिएको छ । यी व्यवसायीहरूको महत्व सरोकारवालाले बुझ्न सकेका छैनन् । सकारात्मक र नकारात्मक पाटो त जहाँ पनि हुन्छन् ।

पढ्न भनी गएर पढाइ पूरा नगर्ने विद्यार्थी पनि होलान् नि !
वासुदेव दाहालः
 समग्रमा भन्न चाहिं गाह्रो छ । तर, अष्ट्रेलियामा ९० प्रतिशत विद्यार्थीले भनेको समयमा कोर्स पूरा गरेका छन् । भविष्य सुनिश्चित भएको देशमा यो प्रतिशत बढी छ, नभएकोमा केही कम होला । पढ्दै गर्दा जीवनयापनका अन्य विषयमा सोच्नुपर्ने भएको कारणले पनि कतिपय देशमा पुगेका विद्यार्थीले पढाइ पूरा गर्न सकेका छैनन् ।

आशिक कार्की

आशिक कार्की, प्रबन्ध निर्देशक,वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी: गएका सबै विद्यार्थीले राम्रो प्रगति गरेका छन् भन्ने छैन । तर, ९० प्रतिशत विद्यार्थीले राम्रो गरिरहेका छन् । पछिल्लो समय अष्ट्रेलिया पुगेका विद्यार्थीले पढाइ सकिए लगत्तै राम्रो काम पाइरहेका छन् । अमेरिकामा थोरै छन् तर, निकै राम्रो गरिरहेका छन् । यसमा विद्यार्थी स्वयम्को क्षमतासँगै उक्त देशको नीतिले पनि काम गरिरहेको छ ।

एउटै उद्देश्य भएका संस्थाको छुट्टाछुट्टै संगठन किन आवश्यक ?
विष्णुहरि पाण्डेः
 इक्यान २२ वर्ष पुरानो संस्था हो । यसले १२औं अधिवेशन पूरा गरिसकेको छ । इक्यान उद्देश्य मिल्ने अन्य संस्थाहरूसँग आबद्धता गरेर अगाडि बढ्ने पक्षमै छ । एक हुँदा हक अधिकारको लागि लड्न र समस्याको पहिचान गर्न पनि सहज हुन्छ । कम्तीमा पनि कार्यगत एकता गरेर अगाडि बढ्ने प्रयास भइरहेको छ ।

बिक्रम केसीः कुनै पनि संगठनमा आबद्ध नभएर काम गर्नेहरू पनि थुप्रै छन् । बीचमा केहीले व्यवसायलाई बदनाम गर्ने काम पनि गरे । क्षणिक फाइदाका लागि आउनेहरू पनि छन् । तर, हामी निरन्तर यो व्यवसायमा भएकाहरू इक्यानको आचारसंहिता र व्यवसायको मर्यादाभित्र रहेर स्वच्छ व्यवसाय गरिरहेका छौं । व्यावसायिकता मर्यादामा इक्यानका सदस्यहरू अगाडि छौं ।

इक्यान यस क्षेत्रमा भित्रिने तयारीमा रहेको विदेशी लगानी रोक्ने पक्षमा रहेको आरोप छ नि !
विष्णुहरि पाण्डेः
 हाम्रो आवश्यकता कति हो भनेर अब सोच्नुपर्ने बेला आएको छ । देशले धान्न नसक्ने संख्यामा परामर्श केन्द्रको आवश्यकता छैन । राज्यले नियमन, अनुगमन पनि गर्न सक्नुपर्छ । हामी भर्खरै बामे सर्ने बेला फ्रेन्चाइज र विदेशी लगानीका नाममा ठूलो रकम भित्रिन लागेको छ । यसरी भित्रिन खोज्नेहरूप्रति सरोकारवाला निकाय सचेत हुनुपर्छ ।

यसमा राज्यले अंकुश लगाउने ठाउँ छ, लगाउनुपर्छ । विदेशी परामर्श केन्द्रले विद्यार्थी भर्ना गर्‍यो र स्वदेश फर्कियो वा भाग्यो भने जिम्मा कसले लिने ? विद्यार्थी समस्यामा परे हारगुहार कहाँ गर्ने ?

प्रतिकृया दिनुहोस