भूकम्पपछि उठ्यो ओराङ
कल्पना भट्टराई
दोलखाको विगु गाउँपालिका वडा नम्बर–२ मा ५६० घरको पुनर्निर्माण सम्पन्न भएको छ ।
साविक ओराङ गाविसमा कारितास नेपालको सहयोगमा निर्माण भएका उक्त घर २९ वैशाखमा हस्तान्तरण गरिएको छ । भूकम्पपछि ओराङलाई उठाउन कारितास नेपालले प्राविधिक सहित १६ कर्मचारी खटाएको थियो ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था कारितास नेपालले ओराङका सम्पूर्ण घर निर्माणको लागि आर्थिक सहयोग गरेको थियो । १९ करोड ६३ लाख ८५ हजार रुपैयाँ लागतमा ५६० घर निर्माण गरिएको कारितास नेपालका फादर सिलास बोगटीले जानकारी दिए ।
कारितासले घर निर्माणको लागि २०७३ कार्तिकमा पहिलो किस्ता बापत् प्रति घर ५० हजार उपलब्ध गराएको थियो । त्यसपछि ५० हजार दुवानी खर्च सहित प्रत्येक परिवारलाई तीन लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको संस्थाका आवास कार्यक्रम संयोजक सागर तिवारीले जानकारी दिए ।
संस्थाले घर निर्माणको लागि स्थानीयलाई डकर्मी तालिम समेत दिएको थियो । सबै घर निर्माण सम्पन्न गर्न १९ महीना लागेको कारितास नेपालका सामुदायिक परिचालक सूर्यबहादुर तामाङले बताए । ढुङ्गा र माटोको प्रयोगमा बनाइएका अधिकांश घर दुई कोठाका छन् । घरमा स्थानीय काठकै प्रयोग गरिएको छ ।
एउटा घर निर्माण सम्पन्न भएपछि मात्रै अर्को घर बनाउन शुरु गरेकाले पनि निर्माण चाँडै सकिएको विगु गाँउपालिकाका अध्यक्ष युधिष्टीर खड्काले जानकारी दिए । थोरै लगानीमा भूकम्प प्रतिरोधात्मक घर निर्माण भएको उनको भनाइ छ ।
गाउँभरीकै सम्पूर्ण निजी आवास पुर्ननिर्माण सम्पन्न गर्ने ओराङ दोलखाकै पहिलो गाउँ भएको विगु गाँउपालिका वडा नं–२ का वडाअध्यक्ष कृष्ण ठकुरीले बताए ।
२९ वैशाख २०७२ को भूकम्पले ओराङका सबै घर ध्वस्त बनाएको थियो ।