राजदूत नियुक्ति सिफारिस फिर्ता लिने मन्त्रिपरिषद निर्णय
आज बसेको मन्त्रिपरिषद बैठकले केपी ओली नेतृत्वको सरकारले राजदूतका लागि सिफारिस गरेका २२ मध्ये राजनीतिक पृष्ठभूमिका १४ जनाको नाम फिर्ता लिने निर्णय गरेको छ।
पराराष्ट्र सेवामा कार्यरत ८ राजदूतबाहेक बाँकी १४ को सिफारिस सरकारले फिर्ता लिने भएको हो । परराष्ट्र सेवाका ८ जनाको संसदीय समितिमा सुनुवाई समेत भइसकेको छ भने बाँकी १४ जनाको समितिले सुनुवाइ समेत गरेको छैन ।
राजनीतिक पृष्ठभूमिबाट महेन्द्रबहादुर पाण्डे, डा. खड्गबहादुर केसी, डा. नारदनाथ भारद्वाज वाग्ले, डा. शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी, युवराज कार्की, युवनाथ लम्साल, प्रा डा. महेन्द्रप्रसाद सिंह राजपुत, पदम सुन्दास, लक्की शेर्पा, खगेन्द्र बस्न्यात, भरतबहादुर रायमाझी, निरञ्जनकुमार थापा र शर्मिला पराजुली ढकाललाई ओली नेतृत्वको सरकारले ७ वैशाखमा राजदूतका लागि सिफारिस गरेको थियो ।
त्यसैगरी परराष्ट्र सेवाबाट राजदूतमा प्रस्तावित सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, ऋषिराम घिमिरे, रमेश खनाल, झवीन्द्रप्रसाद अर्याल, डा दुर्गाबहादुर सुवेदी र लोकबहादुर थापाको सुनुवाइ गरिसकेका छ। परराष्ट्र सेवाबाट प्रस्तावित यी बाहेक राजनीतिक पृष्ठभूमिबाट प्रस्तावित बाँकी १४ राजदूतहरुको सिफारिस पुष्पकमल दाहाल नेतृत्वको सरकारले फिर्ता लिन लागेको हो।
त्यस्तै सरकारले गत वर्षको मधेश आन्दोलनमा मारिएकाका परिवारलाई रु १० लाख राहत दिने र घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ।
आजको मन्त्रिपरिषद बैठकले जन्मदर्ता गराउन आउने कर्णालीका सबैलाई र देशभरका दलितलाई रु १ हजार दिने निर्णय गरेको छ ।
त्यस्तै सरकारले राजेश्वर सिंह र लव देव अवस्थीलाई सचिवमा बढुवा गरेको छ ।
कपिल भट्ट