थप समाचारबिहिवार, बैशाख २७, २०७५

पानीट्यांकी नाकामा रोकियो एघार ट्रक चिया

हिमालखबर

भारतीय अवरोधका कारण पूर्वीनाका काँकडभिट्टाबाट एक सातादेखि तयारी चियाको निर्यात हुन सकेको छैन । 

चियाको गुणस्तर परीक्षणलाई झण्झटिलो बनाएर भारतले अवरोध गरेपछि चिया निर्यातमा अवरोध सिर्जना भएको हो । हाल भन्सार जाँचपास भएका ११ वटा ट्रक एक सातादेखि भारतीय भन्सार पानीट्यांकीमा रोकिएको चिया विस्तार योजना, फिक्कलका प्रमुख इन्द्रप्रसाद अधिकारीले जानकारी दिए । 

उनका अनुसार तयारी चिया कोलकातास्थित ‘सेन्ट्रल फुड ल्याबोरेटरी’ मा नमूना परीक्षण गराएपछि मात्र निर्यातको इजाजत दिने व्यवस्था हालै भारतले लागू गरेको छ । “झण्झटिलो प्रक्रियाले नेपाली चिया निर्यातमा समस्या सिर्जना भएको छ”, उनले भने, “यसले नेपाली किसान र व्यापारी दुवै मारमा परेका छन् ।” 

पानीट्यांकी भन्सारमा रोकिएको ट्रकमा १७ हजार किलोभन्दा बढी तयारी चिया रहेको व्यवसायी रोशन अग्रवालले जानकारी दिए । “चिया बोकेको ट्रक वर्षाका बेला खुला ठाउँमा राख्दा चियाको गुणस्तर बिग्रिन्छ ।” 

अहिले ट्रकैपिच्छेको नमूना कोलकाता पठाएर गुणस्तर परीक्षण गर्नुपर्ने झण्झटिलो व्यवस्था भारतले लागू गरेपछि चिया निर्यात रोकिएको अग्रवालले बताए । 

एकपटक चियाको नमूना परीक्षण गराउँदा भारु २५ हजार खर्च लाग्ने गरेको छ । भारत निर्यात हुने चिया मात्रै होइन, तेस्रो देश निकासीका लागि भारतीय भन्सार पुगेका चियाका ट्रक पनि रोकिएका छन् । 
रासस

प्रतिकृया दिनुहोस