ब्लगशनिवार, बैशाख २२, २०७५

चेपाङका खाना उत्तम हुँदाहुँदै अपहेलित

हिमालखबर

कर्णालीमा कोदो, फापर, सिमी प्रयोग गर्न नजान्दा ‘भोकमरी’ भनिए जस्तै हो, चेपाङ समुदायमा भोकमरीको चर्चा गरिनु।

डा‍. अरुणा उप्रेती
चेपाङहरूले गिठ्ठा भ्याकुर, तरुल, खाएर जीवन बिताउनु परेको छ । पौष्टिक खाना नपाउँदा उनीहरू कुपोषणको शिकार भएका छन् । सरकारले उनीहरूलाई चामल बाँड्नुपर्छ”, जताततै सुनिन्छ, पत्रिकामा पनि बारम्बार छापिन्छ ।

जर्मनी पुगेर केही दिनअघि मात्र फर्केका एकजना साथीले बडो जिज्ञासु हुँदै भने, “जर्मनीमा त एरिएल याम खाइयो । बडो मीठो र स्वस्थकर रहेछ । नेपालमा पाइन्छ कि पाइँदैन हँ ! पत्ता लगाएर बारीतिर रोप्न पाए हुन्थ्यो !” मलाई अचम्म लागेन । र, हामीकहाँ चेपाङले खाने गिठ्ठा नै एरिएल याम हो भनें ।

उनी एकछिन अकमक्क परे । “त्यसो भए किन त चेपाङले खान पाउँदैनन् भनिएको त ?” साथीको प्रश्न स्वाभाविक थियो । कारण, देशभित्रैका वनस्पति, जडीबुटी कति पौष्टिक छन् भन्नेतर्फ वास्ता नै गरिंदैन । बाहिरका कृषि उपज मात्र राम्रो र गुनिलो हुन्छ भन्ठान्छन् ।

चेपाङले जंगलमा पाइने गिठ्ठाको तीतोपन हराओस् भनी केहीबेर उमालेर तरकारी जस्तै गरेर पकाएर खान्छन् । गिठ्ठाबाट छ्याङ पनि बनाउँछन् ।

गिठ्ठा

बहुगुणी गिठ्ठा–भ्याकुर
संसारमा ६०० किसिमका गिठ्ठा पाइन्छ । पोषण र औषधीय तत्व पाइने भएकाले पश्चिम अफ्रिका, जापान र बेलायतमा यसको प्रयोग बढी हुने गरेको छ ।

गिठ्ठामा कार्बोहाइड्रेट र रेसादार पदार्थ पर्याप्त पाइन्छ । यसको प्रयोगले कब्जियत र कोलेस्टेरोल कम हुन्छ । भिटामिन बी र फोलिक एसिड पनि प्रदान गर्छ । सन्तान विकलाङ्ग हुन नदिन गर्भवतीलाई पर्याप्त फोलिक एसिड आवश्यक पर्छ । यसका साथै गिठ्ठामा म्याग्नेसियम, पोटासियम, लौहतत्व पनि रहेको हुन्छ ।

हामीकहाँ अक्षय तृतीयामा सातु–सर्बत र योमरी पूर्णिमामा योमरी खाए झैँ अफ्रिकामा गिठ्ठा खानकै लागि पर्व मनाइन्छ । गिठ्ठालाई पीठो बनाएर केकमा हालेर वा सूप बनाएर खाने चलन छ । जापानमा गिठ्ठाको नुडल पनि बनाइन्छ । चीनमा गिठ्ठाको रसलाई बाहिरी घाउ, पिलो आदिमा लगाइन्छ । गिठ्ठालाई विभिन्न खानेकुरासँग मिसाएर खाँदा स्वाद र पौष्टिक बढ्न जान्छ । व्यावसायिक रूपमा खेती गरी पीठो, नुडल्स, चिप्स आदि उत्पादन पनि गर्न सकिन्छ ।

जुनेलो

नेपालमा भने गिठ्ठालाई हेपिएको छ । यसलाई खेती गरेर लोकप्रिय बनाउन सकियो भने यसले खाद्यसुरक्षामा महत्वपूर्ण स्थान खेल्न सक्छ ।
चेपाङले खाने वनतरुल अर्को पौष्टिक फल हो । जुनेलोका फाइदाबारे कमै जानकार चेपाङहरू यसबाट छ्याङ र रक्सी बनाउँछन् । तर, यसलाई खानेकुरामा प्रयोग गर्ने हो भने कुपोषण कम गर्न सकिन्छ ।

चेपाङ भाषामा ‘ताउसी’ भनिने अमला पनि ‘भिटामिन सी’ ले युक्त फल हो । तर, अमला बेचेर चाउचाउ र बिस्कुट किन्ने प्रवृत्ति बढेको छ । त्रिफला, च्यावनप्रास आदि औषधिमा अमलाको अहम् भूमिका धेरैलाई थाहै छैन ।

चेपाङका खानामा सिस्नोको पनि अधिक प्रयोग हुन्छ, जसमा भिटामिन ए, सी, डी, लौहतत्व, क्याल्सियम जस्ता सूक्ष्म पोषक तत्व पाइन्छ । तारे होटलहरूमा एक कचौरा सिस्नोको सूपको झण्डै रु.६०० पर्छ ।

कालो कर्कलोको नाम कमैले सुनेका हौंला । पुस–माघमा पाइने यसबाट तरकारी बनाउन सकिन्छ । कागुनोबाट जाँड बनाएर चेपाङहरूले त्यसमा रहेको पोषणको दुरुपयोग गरिरहेका छन् । यसको पीठोबाट विभिन्न स्वादका परिकार बन्दछ ।

सिस्नो

सिप्लिकानको औषधीय महत्वबारे चेपाङहरूलाई पनि थोरबहुत थाहा छ । यसको पत्तालाई उमालेर १०–१२ घन्टा त्यसै छोड्छन् र तीतोपन हराएपछि तरकारी वा अचार बनाएर खान्छन् । रुघा, खोकी, ज्वरो आदिको घरेलु उपचार गर्न यसको प्रयोग गरिन्छ ।

कालो निगुरोको तरकारी पनि धेरैले मन पराउँछन् । नदी किनार र जंगलमा पाइने यो वनस्पतिलाई चेपाङहरू जापास भन्दछन् । जंगलमा पाइने वनकुरिलो, पांग्रा, बयर पनि पोषणका उत्तम स्रोत हुन् ।

विडम्बना के छ भने, हामीकहाँ गिठ्ठाजस्ता पोषक तत्वहरू हेपिएको छ । यसलाई खेती गरेर लोकप्रिय बनाउन सकियो भने खाद्य सुरक्षामा महत्वपूर्ण स्थान खेल्न सक्छ ।

तर, हाम्रा कृषि मन्त्रालय, कृषि वैज्ञानिक र कर्मचारीहरू ‘चेपाङको खानाले कुपोषण गराउँदैन’ भन्न हिच्किचाउँछन् । चेपाङका यी जंगली खानेकुरा मासिंदै गएकोमा चिन्ता होइन, बेवास्ता गर्नमा फाइदा देख्छन् उनीहरु ।

प्रतिकृया दिनुहोस