ब्लगशनिवार, बैशाख २२, २०७५

श्वासनलीका दुई समस्या दम र सीओपीडी

डा. सुमनराज ताम्राकार

भर्खरै  (मे महीनाको पहिलो दिन) विश्वभर दम दिवसका रूपमा मनाइएको छ । श्वासनलीमा हुने दुई समस्या दम र सीओपीडीबारे धेरैमा अस्पष्टता पाइन्छ।

 

दम हुनुमा अरू धेरै कारण भए पनि धेरैजसोमा एलर्जीका कारण हुन्छ । विभिन्न एलर्जीका कारणले श्वासनलीमा हुने प्रतिक्रियाका कारण नली सुन्निएर सास फेर्न असजिलो हुन्छ र मानिसलाई दम हुन्छ । फूलहरूको पुंकेसर, घरकोठाको धूलो, सूक्ष्म कीटाणु, ढुसी, जनावरको भुत्ला, चिसो हावा, श्वासनलीको संक्रमण, तनाव, उच्च रक्तचाप कम गर्ने केही औषधि वा एस्पिरिनले दम रोगलाई बढाउँछन् ।

सीओपीडी (क्रोनिक अब्सट्रक्टिभ पुल्मोनरी डिजिज) भने प्रायःजसो बूढापाकालाई लाग्ने दीर्घ रोग हो । श्वासनली साँघुरो भएर सास फेर्न गाह्रो बनाउने यो रोग उमेरसँगै बढ्दै जान्छ । यसको मुख्य कारण धूम्रपान हो । चुरोट बिंडी पिउने, धुवाँ–धूलोमा काम गर्ने मानिसलाई सीओपीडीकोे खतरा बढी हुन्छ । सीओपीडी भएपछि खोकी लाग्ने तथा सामान्य श्रम गर्दा पनि गाह्रो हुन्छ ।

नियमित धूम्रपान गर्नेमध्ये २० देखि ३० प्रतिशतलाई सीओपीडी हुन सक्छ । धूम्रपान एवं रासायनिक पदार्थ मिसिएको धुवाँका कारण लामो समयसम्म फोक्सोमा चिढचिढाहट (इरिटेसन) भइरहँदा फोक्सोका कोषमा क्षति भई सास फेर्ने क्रममा वायु फोक्सोमै अड्किन्छ ।

लामो समयसम्म धूम्रपान गर्ने, धुवाँ र प्रदूषित वायुको निरन्तर सम्पर्कमा रहने (ट्राफिक प्रहरी, ईंटाभट्टा, सिमेन्ट कारखानामा काम गर्ने) मा सीओपीडीको जोखिम बढी हुन्छ । गाउँघरमा खाना पकाउन तथा आगो ताप्न दाउरा बाल्दा आउने धुवाँले पनि सीओपीडी गराउँछ ।

करीब ४० प्रतिशत सीओपीडीका बिरामीमा दम पनि हुन्छ । वंशाणुगत कारणले भने करीब एक प्रतिशतमा मात्र यो रोग लाग्ने गरेको छ ।

समानता र फरक
यी दुवै समस्यामा सास फेर्न गाह्रो हुने, छाती कस्सिएको जस्तो हुने, घ्यारघ्यार हुने, खोकी लाग्ने, चिन्ताका कारण मुटुको धड्कन बढ्ने हुनसक्छ । दुवै रोगमा श्वासनलीको समस्या बढ्दै गएर मानिस नीलो हुने, सास फेर्न गाह्रो भई मृत्यु पनि हुनसक्छ ।

के कारणले गर्दा एलर्जी भएको भन्ने पहिचान हुनसक्यो र औषधिले राम्रो प्रभाव देखायो भने दमका रोगीलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ तर सीओपीडीको समस्या भने विस्तारै बढ्दै जाने हुन्छ । सीओपीडीमा र्‍याल बढी आउने, खोकी लागिरहने, नङ र ओठ नीलो हुने गर्छ ।

दम र सीओपीडी दुवैमा जटिलता उत्पन्न भएर निमोनिया (फोक्सोको संक्रमण) हुनसक्छ । यस्तो भएमा पहेंलो खकार आउने, ज्वरो आउने, घाँटी तथा करङको मांसपेशी खुम्चिने हुन्छ । दमको समस्या धेरैजसो बाल्यावस्थामै पहिचान हुन्छ भने सीओपीडीको समस्या धूम्रपान गरिरहेका वा लामो समय गरेर छोडेकामा ४० वर्षको उमेरपछि देखा पर्दछ । यी दुवै खालका रोगीमा उच्च रक्तचाप, हिंडडुल गर्न नसक्ने, अनिद्रा, पिनास, माइग्रेन, अवसाद, ग्यास्टिक, अल्सर, क्यान्सरलगायतका अन्य रोग पनि हुनसक्छ ।

शारीरिक जाँच, छातीको एक्सरे, श्वास–प्रश्वास सम्बन्धी विषयगत जाँच, रगत तथा खकारको जाँच र स्पाइरोमेट्री जाँचबाट कस्तो समस्या हो निक्र्योल गर्न सकिन्छ ।

रोकथाम र उपचार
यस्तो रोगले गलाएका बिरामीलाई आकस्मिक अवस्थामा नसाद्वारा स्टेरोइड, कृत्रिम श्वास–प्रश्वास, अक्सिजन दिनुपर्ने हुनसक्छ । जुन प्रकारको श्वाससम्बन्धी समस्या भए पनि प्रतिजैविक (एन्टीबायोटिक) औषधि, श्वासनली ठूलोे पार्ने, सुजन (सुन्निएको) कम गर्ने औषधि, अक्सिजन आदिकोे जरुरत पर्दछ ।

दमको समस्याबाट तुरुन्तै आरामको लागि श्वासनली फुक्ने औषधि दिनुपर्ने हुन्छ । सुजनका कारण दम हुने भएकोले स्टेरोइड, श्वासनली फुलाउने, इम्युनोथेरापी चाहिन्छ । सीओपीडीको हकमा श्वासनली फुक्ने औषधि, श्वास–प्रश्वास प्रणालीको तल्लो भागको संक्रमणबाट जोगाउने खोप दिनुपर्छ । सीओपीडी रोग बढ्ने क्रम रोक्न धुवाँ धूलो तथा अन्य वातावरणीय प्रदूषणबाट बच्नुका साथै धूम्रपान त्याग्नुपर्छ ।

प्रतिकृया दिनुहोस