थप समाचारबुधवार, बैशाख १९, २०७५

लमजुङमा घाटु नाचको रौनक

हिमालखबर

गुरुङ जातिको बाहुल्य रहेका गाउँहरुमा परम्परागत घाटु नाचको रौनक फेरि फर्कंदै छ ।

युवराज श्रेष्ठ, लम्जुङबाट

लमजुङको क्व्होलासोंथर– ९ गिलुङको टक्सार गाउँकी पुष्पा गुरुङ तीन दिनदेखि घाटु नाचिरहेकी छिन् ।

नाच्दानाच्दै बेहोस भएजस्तो हुने फेरि सामान्य अवस्थमा फर्कने लगायत अनेक भागभंगिमा प्रस्तुत गरिररहेकी उनी अहिले कुसुण्डा घाटु नाचिरहेकी हुन् ।

खासगरी वसन्त पञ्चमीदेखि वैशाख पूर्णिमासम्म घाटु नाचिन्छ । तर बाह्रमासे घाटु जहिले पनि नाच्न सकिन्छ । घाटु गीतमा १६ औं शताब्दी तिरका लमजुङका राजा परशुराम र रानी चम्पावतीबीचको प्रेम, द्वन्द्व, उनीहरुका दैनिक जीवनका रोचक पक्ष र राजकाजका घटना प्रस्तुत गरिने वर्षौंदेखि घाटु नृत्य सिकाइरहेकी घाटुनी आमा मैतकुमारी गुरुङ बताउँछिन् । यद्यपि घाटु गीत र यसबारेका किम्बदन्ती स्थान अनुसार फरक फरक पाइन्छन् ।

गुरुआमा गुरुङका अनुसार घाटु नाच्नेहरु भावनाको अतिरेकमा छँदा बेहोसीको अवस्थामा पुग्ने गर्छन्, जसलाई देउता चढेको भनिन्छ । घाटुका सबै गीतमा नाचेर सकिएपछि गाउँको दक्षिणतर्फको देउरालीमा लगेर सेलाइने काम गरेपछि देउताले छोड्ने उनी बताउँछिन् ।

पछिल्लो समय घाटु नाच पर्यटकको आकर्षण पनि बन्न थालेको छ । यसपटकको घाटु हेर्न प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि आप्mनो गृह नगर लमजुङको टक्सार पुगेका थिए ।

उनले घाटु लगायतको संस्कृति संरक्षणमा प्रदेश सरकारले विशेष ध्यान दिने बताए ।

प्रतिकृया दिनुहोस