रिपोर्टमंगलवार, बैशाख ४, २०७५

मेलम्चीपछि याङ्ग्री र लार्केको पानी काठमाडौंमा

सविना देवकोटा

राजधानीवासीको तिर्खा मेट्न मेलम्ची नदीपछि अब याङ्ग्री र लार्के खोलामा यस्तै सुरुङमार्ग बनाउने तयारी हुँदैछ, जसले इन्द्रावती सुकाउने मात्र होइन, काठमाडौंकै जनघनत्व बढाउने जोखिम पनि छ ।

२७ चैतमा मेलम्ची खानेपानी आयोजनाका लागि निर्मित २६.५ किलोमीटर सुरुङको ‘ब्रेक थ्रू’ सँगै मेलम्चीको पानी पिउने राजधानीवासीको दुई दशकको सपना पूरा हुने भएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित सुरुङको सिन्धु–ग्याल्थुम खण्डको ७.५ किमी सुरुङ निर्माण सकिएसँगै मेलम्ची खानेपानी विकास समितिले ‘ब्रेक थ्रू’ को घोषणा गरेको हो ।

सुरुङको ‘ब्रेक थ्रू’ सँगै मेलम्चीबाट दशैंअघि नै दैनिक १७ करोड लीटर पानी भित्रिने सरकारी घोषणा छ । तर, १९ वर्षअघिको यो सपना पूरा हुँदैमा उपत्यकाको खानेपानी अभाव भने हट्दैन ।

कारण, झण्डै ४० लाख जनसङ्ख्या रहेको अनुमान गरिएको काठमाडौं उपत्यकाको शहरी क्षेत्रमा दैनिक ३७ करोड लीटर खानेपानीको माग छ । जसमध्ये काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले हाल हिउँदमा ९ र वर्षामा १३ करोड लीटर पानी मात्र आपूर्ति गर्दै आएको छ ।

त्यसो भए उपत्यकामा खानेपानी संकटको समाधान के त ? “याङ्ग्री र लार्के”, मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटा भन्छन् । मेलम्ची, याङ्ग्री र लार्के तीनै खोला इन्द्रावती नदीका सहायक खोला हुन् ।

देवकोटाका अनुसार, पहिलो चरणअन्तर्गत मेलम्चीदेखि सुन्दरीजलसम्म २६.५ किलोमीटर सुरुङमार्फत १७ करोड लीटर पानी उपत्यका भित्र्याउने र दोस्रो चरणमा, याङ्ग्री र लार्के खोलाबाट क्रमशः ९ र २ किलोमीटर गरी ११ किमी सुरुङबाट दैनिक १७–१७ करोड लीटर पानी ल्याउने तयारी भइरहेको छ ।

“हाल केयूकेएलले उपलब्ध गराइरहेको पानी र मेलम्चीबाट आउने पानीमा याङ्ग्री र लार्केसमेत जोड्दा प्रतिदिन ६० करोड लीटर पानी काठमाडौं भित्रिन्छ अर्थात् एक व्यक्तिको भागमा दैनिक १२० लीटर पानी पुग्छ”, उनी भन्छन् ।

तर, विज्ञहरू एकै नदीका खोलाहरूको दोहनबाट उपत्यकावासीको तिर्खा मेट्ने सरकारी योजना गलत भएको विज्ञहरू बताउँछन् । “यो पानी व्यवस्थापनको परम्परागत ढर्रा मात्रै हो । यसले समाधान होइन, समस्या थप्छ”, जलस्रोतविद् अजय दीक्षित भन्छन् ।

नदीको दोहन
याङ्ग्री र लार्केको पानी समेत उपत्यका ल्याइने योजनाले इन्द्रावती नदी सुक्ने जानकारहरू बताउँछन् । उनीहरूका अनुसार, यसले इन्द्रावती सुनकोशी नदीमा मिसिनु अघिसम्मको काभ्रे, दोलालघाटसम्मका बस्तीमा प्रत्यक्ष असर पार्छ ।

“इन्द्रावती खुम्चने मात्रै होइन दोलालघाटसम्मका मेलम्ची, बाँसबारीलगायत इन्द्रावती उपत्यकाअन्तर्गतका जति पनि बस्ती छन्, सबै प्रभावित हुनेछन्”, जलस्रोतबारे जानकार पत्रकार राजेन्द्र दाहाल भन्छन् ।

उनी नदी जता दौडियो त्यतै मान्छे पनि दौडने हुनाले इन्द्रावती सुक्ने क्रममा त्यहाँका बासिन्दा सिंचाइ र खानेपानी खोज्दै काठमाडौं नै ओइरिने जोखिमप्रति अहिल्यै नै सचेत हुनुपर्नेमा जोड दिन्छन् ।

जलस्रोतविद् दीक्षित एउटै नदीको स्रोत निचोर्नेभन्दा अन्य विकल्पको खोजी गर्नुपर्ने बताउँछन् । “फेरि, दुई खोलाबाट पानी ल्याउँदैमा सधैंका लागि खानेपानी व्यवस्थापन पनि हुँदैन, त्यसैले पनि नदी मास्न हुँदै हुँदैन”, दीक्षितको भनाइ छ ।

त्यसो त मेलम्ची सुरुङले मूर्तरूप लिंदै गर्दा याङ्ग्री र लार्केबाट पानी ल्याउँदा त्यहाँको पर्यावरण, सामाजिक, आर्थिक, भूगोल र स्थानीयमा पर्न सक्ने असरबारे अध्ययन पनि भइरहेको छ । स्थानीयस्तरमा गठित सरोकार समितिहरूसँग अन्तरक्रिया पनि भइरहेको छ ।

आयोजनाका कार्यकारी निर्देशक देवकोटा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तीन महीनाभित्र तयार हुने र यसबाट धेरै कुरा प्रष्टिने बताउँछन् । तर, आयोजनाका कारण स्थानीयवासी र पर्यावरणमा असर पार्छ भन्ने तर्कमा उनी असहमत छन् । “वातावरण संरक्षण ऐनअन्तर्गत १०–१० प्रतिशत पानी छाडिने हुँदा बस्तीको दैनिकीमा असर पार्दैन”, उनी भन्छन् ।

याङ्ग्रीस्थित सरोकार समितिका सदस्य गोपाल स्याङ्बो भने याङ्ग्री र लार्केका अधिकांश बासिन्दा कृषिमै निर्भर रहेकाले ५० प्रतिशत पानी खोलामै छाड्नुपर्ने माग राखेको बताउँछन् । “आयोजनाबाट प्रभावित हुने गाउँपालिकाहरूलाई प्रभावित क्षेत्र घोषणा गरी क्षतिपूर्ति दिनुपर्ने कुरा पनि उठेको छ”, उनी भन्छन् ।

जलाधारविद् मधुकर उपाध्या पानीको आवश्यकता पूरा गर्न सुरुङ मार्गलाई मात्र विकल्प देख्नु गलत भएको बताउँछन् । “भोलि अन्य शहरहरूमा पनि खानेपानी अभाव हुन्छ नै, कतिवटा सुरुङ बनाउने ?” उनको प्रश्न छ ।

पानीमा स्थानीयकै स्वामित्व हुने स्थानीयले नै व्यवस्थापन गरे मात्र दिगो विकास सम्भव हुने बताउँदै उपाध्या काठमाडौंमा भएकै स्रोतहरूको व्यवस्थापन गर्न नसकिएको तर्क गर्छन् ।

हुन पनि चुहावट उपत्यकाको खानेपानी व्यवस्थापनको मुख्य समस्या बनिरहेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले हाल वितरण गरिरहेको दैनिक ९ करोड लीटर पानीमा करीब ४० प्रतिशत पानी चुहिएर खेर गइरहेको छ ।

मेलम्ची आएपछि हिउँदमा २६ र वर्षामा ३० करोड लीटर पानी उपलब्ध हुने भनिए पनि वितरण प्रणालीमा सुधार नगर्ने हो भने समस्या ज्यूँकात्यूँ हुने निश्चित छ । केयूकेएलका उप कार्यकारी अधिकृत विजयमान श्रेष्ठ मेलम्ची आएपछि चुहावटलाई २० प्रतिशतमा झर्ने लक्ष्यका साथ काम थालिएको बताउँछन् ।

विकल्प लाङटाङ
मेलम्ची खानेपानी विकास समितिका अनुसार, याङ्ग्रीमा पानीको वहाव दैनिक २.१२–३.२२ र लार्केमा २.७२–४.०४ घनमीटर प्रतिसेकेण्ड छ । मेलम्चीको दैनिक औसत वहाव भने १२.६ घनमीटर प्रतिसेकेण्ड छ ।

दोलालघाटमा आइपुग्दा, इन्द्रावती नदीको वहाव भने ७१.६ घनमीटर प्रतिसेकेण्ड हुनआउँछ । तर, रसुवाकै लाङटाङ खोलाको औसत वहाव भने ७.५८ घनमीटर प्रतिसेकेण्ड छ ।

केही जानकारको भनाइमा, वहाव अनुपातका आधारमा याङ्ग्री र लार्केको तुलनामा लाङटाङबाटै पानी ल्याइनु उपयुक्त हुनसक्ने बताउँछन् । लाङटाङ खोलाको पानी सोझै त्रिशूलीमा जाने हुँदा त्यस खोलाबाट पानी ल्याउँदा बस्ती प्रभावित नहुने जानकारहरूको तर्क छ ।

जलाधारविद् उपाध्या एउटा विकल्प लाङटाङ हुनसक्ने देखिए पनि मेलम्चीको अम्बाथानदेखि लाङटाङसम्मको दूरी, भूबनोटलगायत थुप्रै कुरा अध्ययन गरिनुपर्ने बताउँछन् । विकल्प नै नभए मात्र दोस्रो सुरुङ खन्नुपर्ने विज्ञहरूको सुझाव छ ।

चक्रपथवासीलाई प्राथमिकता

केयूकेएलका अनुसार, मेलम्ची सुरुङमार्गबाट पानी काठमाडौं आएपछि पहिलो चरणमा चक्रपथभित्र मात्रै वितरण गरिनेछ । खुमलटार, बालाजु, बाँसबारी, महाँकाल, चोभार, कीर्तिपुर, कटुञ्जे, आरूबारी, पाँचपोखरी, सुन्दरीजल, बोडेमा स्थापित ११ वटा रिजर्भभ्वायरबाट पानी घरघरमा पुर्‌याइनेछ ।

प्रतिकृया दिनुहोस