टिप्पणीशनिवार, बैशाख १, २०७५

बुद्धको नाममा बिदा जरुरी छ ?

वसन्त महर्जन

जात, धर्म अनुसारका चाडबाड वा व्यक्तिविशेषको नाममा दिइने सार्वजनिक विदाहरू अझ घटाए राष्ट्रिय जीवनको हर क्षेत्रले वर्षैभरि क्रियाशील हुन पाउँछ।

पछिल्ला केही वर्षमा विभिन्न जातीय तथा धार्मिक समुदायले माग गरेअनुसार तत्कालीन सरकारहरूले सार्वजनिक बिदाको घोषणा गर्ने क्रम ह्वात्तै बढाएको थियो । अहिले ती बिदाहरू कटौतीमा परेका छन् ।

नेपालमा वैशाख पूर्णिमामा ‘बुद्धजयन्ती’ भनेर सार्वजनिक बिदा दिने चलन छ । अहिले अन्य बिदाहरू काटे पनि सरकारले बुद्धजयन्तीलाई यथावत् राख्न उचित ठानेछ । 

गौतम बुद्धको जन्म इ.पू. ५६३ मा लुम्बिनीमा, बोधिप्राप्ति इ.पू. ५२८ मा बोधगयामा र महापरिनिर्वाण लाभ इ.पू. ४८३ मा कुशीनगरमा वैशाख पूर्णिमाकै दिन भएको थियो । यही भएर बौद्धहरू यस दिनलाई त्रिसंयोग दिवस भनी श्रद्धाका साथ मनाउँछन् ।

वैशाख पूर्णिमामा सार्वजनिक बिदाका साथ बुद्धको सम्मान गर्नुपर्छ भन्ने सोच सकारात्मक नै भए पनि यसलाई बिदामा सीमित गर्ने कुरामा छलफल आवश्यक छ ।

गौतम बुद्धको महत्व नेपालमा जन्मिनुमा नभएर प्राणी मात्रको हितमा मार्गदर्शन गर्नुमा छ । सार्वजनिक बिदामाथि ‘बुद्धका उपदेश आज पनि सान्दर्भिक छन्’ भन्ने औपचारिक मन्तव्य थपेर सम्मान गरेको ठान्नु वास्तवमा ती अप्रतिम व्यक्तित्वको उपहास मात्र हो ।

सार्वजनिक बिदाहरूको विशेष अर्थ हुन्छ, तर अचेल यसको उपभोग विशेष अधिकार र सुविधाका रूपमा गर्ने मनोवृत्ति हावी भएको देखिन्छ 

मानिसहरू बौद्ध स्थलमा जाऊन्, बुद्धप्रति श्रद्धा व्यक्त गरून् भन्ने मनसायले २००७ सालपछि दिन शुरू भएको सार्वजनिक बिदा त्यसअनुरूप प्रयोग भएको देखिंदैन । यस अवस्थामा देशभर दिइने सार्वजनिक बिदाको औचित्यमाथि प्रश्न उठ्नुपर्छ, उठाउनुपर्छ ।

पछिल्लो समय नेपालमा सार्वजनिक बिदा पनि विकृतिकै रूपमा मौलायो । एउटा जात, धार्मिक सम्प्रदाय वा क्षेत्रको विशेष दिन वा चाडमा पूरै देश ठप्प हुने गरी सार्वजनिक बिदा दिइनुले कति नोक्सानी भयो भन्ने हिसाब भएको छैन ।

दैनिक काम गरी खानुपर्नेलाई यस्ता बिदाले कस्तो असर गरिरहेको छ भन्ने प्रश्नमा ध्यान दिइएको पनि छैन । यस अवस्थामा केही सार्वजनिक बिदा कटौती भएको छ र बाँकी बिदाहरूमा पनि पुनर्विचार गर्न सकिने ठाउँ अझै प्रशस्त रहेको देखिन्छ ।

बुद्ध नेपालमा जन्मेको र विश्वमा नै उनको प्रभाव रहेको भनी नेपालीहरू गौरव गर्छन् । तर बुद्धका उपदेश र शिक्षाको अनुसरण चाहिं नगर्ने प्रवृत्तिलाई हेर्दा भन्न सकिन्छ, वैशाख पूर्णिमाको एक दिन सार्वजनिक बिदा दिनुको कुनै औचित्य छैन ।

बिदा उपभोग गर्ने तर केको बिदा भनेर हेक्का नराख्नेहरू पनि प्रशस्तै भेटिन्छन् । बुद्धका उपदेशहरूले बौद्ध भिक्षु मात्र नभई गृहस्थहरू पनि सधैं जागरुक हुनुपर्नेमा जोड दिन्छन् । विलासिताबाट टाढा रहनु सामान्य बौद्ध आचरणभित्र पर्छ । तर, बुद्धको नाममा दिएको बिदा पनि ‘जाँड पार्टी’ गरेर बिताउनु राज्यका लागि नोक्सानी हो ।

अब नयाँ व्यवस्था गरेर वैशाख पूर्णिमालगायत अन्य सार्वजनिक बिदा घटाउने कुरामा पुनर्विचार गर्दा हुन्छ । यसको मतलब जनतालाई धर्मविशेषसँग सम्बन्धित चाडबाडबाट वञ्चित गर्ने भन्ने आशय कदापि होइन । संविधानतः नेपाल धर्मनिरपेक्ष देश हो । धर्मको विषय जनताको स्वविवेकमा छाडिएको र व्यक्तिगत अधिकारअन्तर्गत राखिएको छ ।

राज्यले वर्षभरिमा शनिबार बाहेक सुविधाका रूपमा केही दिन बिदाको व्यवस्था गर्ने र जनताले त्यसलाई आफूखुशी चाडबाडलगायत अन्य अवसरमा प्रयोग गर्ने हो भने धर्मनिरपेक्ष राज्यको मर्म आत्मसात् हुनुको साथै व्यक्तिगत अधिकारमा कुनै बाधा नपुर्‍याइएको र काखापाखा पनि नगरिएको प्रष्ट हुन्छ ।

दशैंमा लामो सार्वजनिक बिदाका साथै तलबजीवीहरूलाई एक महीनाको तलब बराबरको नगद दिने चलन छ । नगदको विशेष सुविधा कटौती नगरी जसको ठूलो जातीय सांस्कृतिक चाड जहिले पर्छ त्यही वेला दिंदा राम्रो हुन्छ ।

अहिलेको व्यवस्था अनुसार जात र धर्मका नाममा दिइने सार्वजनिक बिदाहरू निजी क्षेत्रमा प्रायः लागू भएको छैन । सरकारी निकायहरूमा मात्र बिदा लागू हुँदा सेवाग्राहीको दैनिक कामकारबाही प्रभावित भइरहेको छ ।

चाड वा व्यक्तिविशेषका नाममा कुनै सार्वजनिक बिदा नदिने तर चाहिनेले आफ्नो सुविधा अनुसार लिने हो भने हरेक क्षेत्रले वर्षैभरि क्रियाशील हुन पाउँछ ।

प्रतिकृया दिनुहोस