बेरुजु ५ खर्ब नाघ्यो, सबैभन्दा धेरै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको
आर्थिक वर्ष २०७३/७४ सम्ममा बेरुजु रकम रु. ५ खर्ब ८ करोड पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
आज राष्ट्रपतिसमक्ष गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै कार्यालयले एक वर्षको अवधिमा बेरुजु रकम २६ दशमलव २० प्रतिशतले बढेको उल्लेख गरेको छ ।
आर्थिक कार्यविधि ऐन २०५५ ले प्रचलित कानून बमोजिम पु्र्याउनुपर्ने रित नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको ब्यहोरालाई बेरुजूका रुपमा परिभाषित गरेको छ ।
आर्थिक वर्ष २०७२/७३ सम्ममा बेरुजु रकम रु. ३ खर्ब ९६ अर्ब २५ करोड थियो ।
एक वर्षको अवधिमा १ खर्ब ३ अर्ब बेरुजु थपिएको छ । यसमध्ये, सबैभन्दा धेरै बेरुजु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु. २१ अर्ब २६ करोड छ ।
अर्थ मन्त्रालयको बेरुजु रु. १६ अर्ब १६ करोड छ । कुल बेरुजु रकममध्ये १५ दशमलव ४७ प्रतिशत असुल गर्नुपर्ने, ४० दशमलव २९ प्रतिशत नियमित गर्नुपर्ने र ४४ दशमलव २३ प्रतिशत पेश्की रकम छ ।