राजनीतिक आतंकको आगोमा गाउँ
बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ४ र ५ का ३ हजार ३७० बासिन्दा राजनीतिक आतंकमा निस्सासिएका छन्।
-प्रकाश सिंह, बाजुराबाट
साविक मनाकोट गाविसमा संचालित गैर–सरकारी संस्था ‘गिफ्ट’ को २०७० सालमा भएको अधिवेशनबाट बलबहादुर रोकाया अध्यक्ष निर्वाचित भए । त्यसअघि लामो समय जनक रोकाया अध्यक्ष थिए ।
जनक नेपाली कांग्रेस र बलबहादुर नेकपा (एमाले) का स्थानीय नेता हुन् । ‘गिफ्ट’ को अधिवेशनबाट शुरू भएको कांग्रेस–एमाले द्वन्द्व दोस्रो संविधानसभा, स्थानीय, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा क्रमशः बढ्दै गयो ।
परिणाम, अहिले गौमुल गाउँपालिका– ४ र ५ का क्रमशः ३०३ घरपरिवारका १ हजार ९४३ र २१३ परिवारका १ हजार ४२७ जना राजनीतिक आतंकमा छन् ।
गएको २ चैत राति वडा नम्बर ४ किर्तीचौरमा भएको कांग्रेस–एमालेबीचको झडपमा घाइते भएकामध्ये एमाले समर्थक विसे कामीको नेपालगञ्जमा उपचार हुन नसकेपछि भारत लगिएको छ ।
त्यसअघि ५ पुसमा सोही वडाको डाँडावाडामा लागेको भुवा पर्व मेलामा भएको झ्डपमा घाइते भएका दुई दर्जनमध्ये केहीलाई उपचार गर्न दिल्ली पुर्याउनु परेको थियो ।
दुई वर्षअघि किर्तीचौर उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिको विवादमा झडप हुँदा दुवै पक्षका एक दर्जनभन्दा बढी घाइते भएका थिए । जहाँ भेला भयो त्यहीं मारपिट हुने अवस्थाले पूरै गाउँ त्रसित बनेको गाउँपालिका अध्यक्ष हरि रोकाया बताउँछन् ।
मारमा दलित समुदाय
वडा नम्बर ४ का अक्कल र सुके रोकाया सहोदर दाजुभाइ हुन् । बस्ने घर एउटै छ । तर, दाजुभाइका परिवारबीच बोलचालदेखि आगोपानीसम्म बन्द भएको चार वर्ष भयो । अक्कल एमाले र सुके कांग्रेस समर्थक हुन् ।
सोही वडाका ज्ञानबहादुर रोकाय र प्रेम रोकायाले त बुवा नन्द रोकायाको काजकिरिया समेत आ–आफ्नै तरिकाले गरे । ज्ञान कांग्रेस र प्रेम एमाले समर्थक हुन् । एमालेबाट निर्वाचित वडाध्यक्ष वीरेन्द्र रोकाया र कांग्रेस समर्थक उनका भतिजा भुपाल रोकायाको पनि बोलचाल छैन ।
एमाले समर्थक परिवारमा विवाह भएकी किट्टी रोकायाका भाइ गोविन्द रोकाया कांग्रेस समर्थक हुन् । एक घण्टाको दूरीमा घर भएका यी दिदीभाइको पनि स्थानीय तह निर्वाचनपछि बोलचाल र आवतजावत बन्द भयो ।
एमाले–कांग्रेस झगडाले गर्दा यो वर्ष तिहार समेत मान्न नपाएको किट्टीले बताइन् । गाउँपालिका अध्यक्ष रोकायाका अनुसार, गाउँमा मष्टा, धलपुरो, लागो देउता, दशैं, भुवा समेत पार्टी अनुसार हुन थालेको छ ।
स्थानीय शिक्षक भुपाल रोकाया भन्छन्, “पहिले देउताको पूजा एउटै दिन हुन्थ्यो, अहिले कांग्रेस र एमाले समर्थकहरू फरक फरक गर्न थालेका छन् ।”
पार्टीको नाममा द्वन्द्वको नेतृत्व सिंह र रोकायाहरूले गरिरहेका छन्, प्रत्यक्ष मारमा भने दलित समुदाय पर्दै आएका छन् ।
४२ घरपरिवार दलित रहेको डाँडावाडामा ५ पुसको एमाले–कांग्रेस झडपमा सात जना गम्भीर घाइते भए । २ चैतमा कांग्रेस समर्थकहरुको आक्रमणमा डाँडावाडाकै विसे कामी र मन नेपाली गम्भीर घाइते भए ।
डाँडावाडाका मंगल विक स्थानीय निर्वाचनपछि आफ्नै गाउँमा हुल नबाँधी हिंड्न नसकिने अवस्था आएको बताउँछन् । ४ नम्बर वडाकी निर्वाचित सदस्य बेलु कामी भन्छिन्, “गाउँमा सारै नराम्रो छ, घरपरिवारलाई कुटपिट गरी अपाङ्ग बनाएका छन् ।”
सोही गाउँकी अइती विकले आफ्नो श्रीमान्लाई ‘अरुलाई किन भोट हालेको ?’ भन्दै कुटेर अपाङ्ग बनाइएको बताइन् । पुरुषहरूलाई जोगाउनै गाह्रो परेको र घाँसदाउरा लिन वनमा समेत जान नसकेको उनको गुनासो छ ।
दलित अधिकारकर्मीहरूले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझएपछि जिल्ला प्रहरी कार्यालय, बाजुराले यी वडामा नियमित गस्ती गर्न थालेको छ । जिल्ला प्रहरी प्रमुख, डीएसपी हरिबहादुर वली त्यहाँ चौकी नै राख्ने पहल भइरहेको बताउँछन् ।
विकास निर्माणमा बाधा
गाउँपालिका नै राजनीतिक द्वन्द्वमा जकडिएपछि विकास निर्माणका काममा बाधा पुगेको छ । वडा नम्बर ४ मा रहेको किर्तीचौर उमाविको व्यवस्थापन समितिमा एमालेको र वडा नम्बर ५ को मनाकोट माविमा कांग्रेसको हालीमुहाली छ । विद्यालयको विकासको कुरा गरे अप्ठ्यारो आइलाग्ने शिक्षकहरूको गुनासो छ ।
यी दुई वडाका गाउँहरूलाई जोड्ने सडक निर्माण एमाले समर्थकले एकातिरबाट र कांग्रेस समर्थकले अर्कोतिरबाट भन्ने विवाद निकालेपछि रोकिएको छ ।
एमालेका गणेश रोकाया अध्यक्ष रहेको वडा ५ मा कार्यालय भवन बन्दैछ, जसमा कांग्रेस समर्थकको सहभागिता छैन । कांग्रेस समर्थक जनक रोकायाले श्रमदान गर्न गए अपहेलित हुनुपर्ने भएकोले नगएको बताए । वडाध्यक्ष रोकाया बोलाए पनि कांग्रेसहरू नआउने बताउँछन् ।
मनाकोट माविमा खेल मैदान बनाउने रु.२० लाखको योजना छ, तर एमाले समर्थकहरूले डोजर जाने बाटो नदिंदा काम हुनसकेको छैन ।
वडा नम्बर ५ को थारखोला लघु जलविद्युत् आयोजनामा कांगे्रस र एमाले फरक–फरक तरिकाले काम गरिरहेका छन् । आयोजनाका अध्यक्ष कर्णबहादुर बुढा सँगै काम गरे झ्गडा हुने भएकोले आफूखुशी गर्न दिनुपरेको बताउँछन् ।