छोराछोरी सरकारी विद्यालयमा पढाउने चापाकोट नगरपालिकाको निर्णय
स्याङ्जाको चापाकोट नगरपालिकाले सरकारी विद्यालयमा पढाउने शिक्षकशिक्षिकाले आफ्ना बालबालिकालाई अनिवार्य सरकारी विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ ।
भर्ना नगरेमा उनीहरुको तलब रोक्का गरिने नगरपालिकाले निर्णय गरेको छ । नगरपालिकाको उक्त निर्णय यही शैक्षिक सत्र २०७५ बाट लागू हुनेछ ।
नगर प्रमुख शिवकुमार गिरीले सरकारी सेवामा कार्यरत व्यक्तिले आफ्ना बालबालिका निजी विद्यालयमा पढाउँदा शिक्षाको गुणस्तरमा कमी आएको महसूस गरी यस्तो निर्णय गरिएको जानकारी दिए ।
शिक्षकले आफ्ना बालबालिका आफैँले पढाइरहेको विद्यालयमा भर्ना गर्दा समाजमा सकारात्मक सन्देश जाने र अन्य विद्यार्थीलाई पनि सरकारी विद्यालयतर्फ आकर्षित गर्न सहज हुने गिरीले बताए ।
यो अभियान पहिलो चरणमा सरकारी शिक्षक र क्रमशः सरकारी निकायका अन्य कर्मचारीमा पनि लागू गर्ने नगर प्रमुख गिरीको भनाइ छ । रासस