विद्युतीय दुर्घटनामा तेस्रो पक्ष बीमा न्यायोचितः ऊर्जा मन्त्री
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विद्युतीय दुर्घटनाले निम्त्याउने वित्तीय जोखिम न्यूनीकरण गर्न तेस्रो पक्ष बीमा न्यायोचित हुने बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले विद्युतीय सुरक्षा दिवसका अवसरमा आज काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री पुनले विद्युतीय दुर्घटनामा तेस्रो पक्ष बीमा लागू गर्न पहल गर्ने बताएका हुन् ।
“यातायात क्षेत्रमा तेस्रो पक्ष बीमा लागू गरिएकाले सडक दूर्घटना हुँदा क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध गर्ने लगायतका क्रियाकलाप रोकिएका छन् ।” उनले भने– “यसलाई विद्युतीय दुर्घटनामा पनि लागू गर्न सकियो भने वित्तीय जोखिम न्यूनिकरण गर्ने उपयुक्त विकल्प हुन सक्छ ।”
प्राधिकरणका अनुसार, २०६८ को असारबाट हालसम्म सात सय ५२ विद्युतीय दुर्घटना भएका छन् । विद्युतीय दुर्घटनाबाट शारीरिक रुपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति वापत १२ करोड २० लाख रुपैयाँ खर्च भएको छ ।
चालू आर्थिक वर्षमा मात्रै विद्युतीय दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच जना प्राधिकरणका कर्मचारी र तीनजना सर्वसाधारण छन् । सुरक्षा सम्बन्धी उपकरण प्रयोग नगरी काम गर्दा हालसम्म भएका दुर्घटनामा ५० प्रतिशतभन्दा बढी प्राधिकरणकै कर्मचारी पर्ने गरेका छन् ।
हावाहुरी, चट्याङजस्ता प्राकृतिक प्रकोप, प्राधिकरणको जीर्ण वितरण प्रणाली, लामो तारमार्फत विद्युतीकरण, घरायसी प्रयोजनका लागि कमसल विद्युतीय उपकरणको प्रयोग, हुकिङबाट विद्युत चोरी, जनचेतनाको अभाव आदि कारणले विद्युतीय दुर्घटना हुने गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय दुर्घटनाका कारण प्राधिकरणलाई अतिरित्त वित्तीय बोझ बढेको बताए । उनले प्राधिकरणको हालको ऊर्जा दक्षता तथा विद्युत् चुहावट नियन्त्रण महाशाखालाई विद्युतीय सुरक्षाको काम गर्ने गरी जिम्मेवारी दिइने पनि बताए ।
नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल को संयुक्त आयोजनामा गत वर्षदेखि २६ चैतमा ‘विद्युतीय सुरक्षा दिवस’ मनाउन शुरु गरिएको हो ।