नेतृत्व परिवर्तन नभएसम्म कांग्रेसले गति लिँदैनः कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताएका छन् ।
आज चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले पार्टी नेतृत्वकै कारण संगठन चलायमान हुन नसकेको बताएका हुन् ।
दुई वर्ष पुग्दा समेत पदाधिकारीको नियुक्ति नगरेको भन्दै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरे ।
त्यस्तै कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा सम्बन्ध सुधारबाहेक नयाँ काम हुन नसकेको पनि बताए । उनले भने, “नाकाबन्दीपछि बढेको तिक्तता पुष्पकमल दाहाल, शेरबहादुर देउवा हुँदै केपी शर्मा ओलीले केही सुधार गर्नुभयो ।”
डेढ वर्षअघि रेलमार्ग सर्वेका लागि भारत सरकारले बजेटमै ७८ करोड छुट्याएको र जलमार्गको विषय पनि पुरानै भएको उनले दाबी गरे ।
कोइरालाले अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर हुँदा र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा आर्थिक अनुशासन उल्लंघन भएको भन्दै अर्थतन्त्रलाई कम्युनिष्ट अर्थमन्त्रीहरुले बिगारेको पारेको आरोप लगाए ।