बुटवल: भाटभटेनी स्टोरमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा
बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ ।
आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक केशवकुमार भट्टराइले जानकारी दिए ।
सुपरमार्केटको पाँचौँ तलाको इलेक्ट्रोनिक्स कक्षबाट शुरु भएको आगो क्रमशः सबैतिर फैलिएको थियो । आगलागीबाट के–कति क्षति भयो भन्ने अहिलेसम्म कुनै तथ्यांक आएको छैन तर आगलागीबाट पाँचौ तला र चौथो तलामा रहेको इलोट्रोनिक्स सामान जलेर पूर्णरुपमा नष्ट भएका छन् ।
आफू बुटवल बाहिर भएकाले क्षतिकाबारेमा अहिले नै कुनै अनुमान गर्न नसकिने र आगलागीको घटना कसरी भयो भन्नेमा समेत भन्न नसकिने सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बताए ।
आगलागी नियन्त्रणमा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, रामग्राम, कपिलवस्तु र तानसेन नगरपालिकाका दमकल र स्थानीय व्यावसायिक पानी बोक्ने ट्यांकर आगो निभाउन प्रयोग गरिएको थियो । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
आगलागी भएको केहीबेरमा नै बुटवल उपमहानगरको दमकल घटनास्थल आए पनि भाटभटेनीका व्यवस्थापनका कर्मचारी नभेटिएपछि निकैबेर दमकलका कर्मचारी अलमलमा परेका थिए ।
बिहान मर्निङवाकमा निस्केका स्थानीयले भाटभटेनीमा आगोको मुस्लोदेखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागी बढ्दै गएपछि वरिपरिका स्थानीय बासिन्दासमेत त्रसित बनेका थिए ।
उक्त सुपरमार्केट गत वर्षमात्र करीव रु ९५ करोडको लागतमा सञ्चालनमा आएको हो । सञ्चालनको छोटो समयमै दैनिकरुपमै राम्रो व्यावसायिक कारोबार गर्न सफल भएको थियो ।
आगलागी भएपछि घटनास्थलको अवलोकन र जानकारी लिन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेवी आचार्यलगायत त्यहाँ पुगेका थिए ।
रासस