अन्तर्वार्ता/विचारशनिवार, चैत्र २४, २०७४

वनस्पति विभाग रहेन भने वृक्ष भनेको काठ, दाउरा बाहेक केही होइन भन्ने अवस्था आउनेछ

डा. तीर्थबहादुर श्रेष्ठ

वन तथा वातावरण मन्त्रालयको नयाँ संरचनामा वनस्पति विभाग अटाएन भने वृक्ष भनेको काठ, दाउरा र दलिन बाहेक केही होइनन् भन्ने अवस्था आउनेछ।

१८ अक्टोबर १९५२ मा संकलन गरिएको जाजरकोट बाहेक अन्यत्र नपाइने जाजरकोटे पैयुँको हर्बेरियम नमूना ।

आए पाखा वन चहुरमा फूल लाखौं पलाई 

को भन्देला सकल यिनको नाम मीठो मलाई।

मेरै धौलागिरि शिखरमा छैन मैले चढेको

नेपालीको दिल छुन अझै छैन मैले सकेको।

– राष्ट्रकवि माधव घिमिरे

कविजीको उपरोक्त प्रश्नको उत्तर दिन अर्थात् हाम्रा वन–पाखा, चहुरमा पलाउने लाखौं फूलका नाम यकिनसाथ भनिदिने क्षमता वनस्पति विभागले मात्र विकास गरेको छ ।

विभागले ५०/६० वर्ष अघिदेखि तराई–मधेश, पहाड, हिमालमा गई वनस्पति सर्भेक्षण गरेर सम्पूर्ण वनका वृक्षहरूको नमूना संकलन गरेको छ ।

सबै जडीबुटी, वन्य फलफूल, उन्यु, झयाउ, लेउलगायत च्याउ र ढुसी प्रजातिका वनस्पतिहरूको संग्रह र संचय पनि भएको छ । वनस्पति विभाग नहुँदो हो त आज साल, सतीसाल र विजयसाल बीचको भेद र तिनका वैज्ञानिक आधार ठम्याउन सम्भव हुँदैनथ्यो ।

नेपालका दुर्लभ वनस्पति सम्पदा के–के हुन् भन्ने जान्न आज मेची–महाकाली चहार्नु पर्दैन, विभाग पुगेर त्यो ज्ञान लिन सकिन्छ । त्यो ज्ञान भण्डार साना दुःखले आर्जन भएको होइन ।

नेपालको सरकारी संरचनामा हुन लागेको फेरबदलमा वनस्पति विभाग खारेजीमा पर्ने गाइँगुइँ सुन्नमा आएको छ । गहनतम सोचविचार नगरिकन त्यसो गरियो भने के होला भन्ने चिन्तामा परेको छु ।

वर्तमान वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत जाजरकोट निवासी हुन् भन्ने थाहा पाएँ । जाजरकोटमा एउटा पैयुँको प्रजाति सन् १९५२ मा भेटिएको थियो । पैयुँको त्यो प्रजाति जाजरकोट बाहेक अन्यत्र कहीं नपाइने पुष्टि १९७७ मा भयो र त्यसको वैज्ञानिक नाम ‘प्रुनस जाजरकोटेन्सिस्’ रहन गयो ।

उक्त पैयुँबारे गोदावरीस्थित राष्ट्रिय वनस्पति संग्रहालयमा जानकारी माग्दा केही घण्टाभित्रै गंगादत्त भट्टले वनस्पतिको वासस्थानको फोटो समेत इमेल गरिदिए ।

हाम्रो हर्बेरियम र हाम्रा विशेषज्ञ तैनाथ नभएको भए यो जानकारी बेलायतमा खोज्नुपर्ने हुन्थ्यो । यो जाजरकोटे पैयुँ ६–७ मिटर अग्लो हुने र हिउँदमा यसको पात नझर्ने जानकारी प्राप्त भयो । तर यसको फलबारे विज्ञान अझै अनभिज्ञ छ ।

अब कसले भनिदेला यो पैयुँ मीठो छ, तितो छ वा टर्रो छ भनेर । जाजरकोट निवासी वनमन्त्रीकै पालामा वनस्पति विभाग विलय भयो भने जाजरकोटे पैयुँबारे मात्र हैन यस्ता हजारौं वनस्पति सम्बन्धी प्रश्नहरू अनुत्तरित रहने छन् ।

नेपालको राष्ट्रिय फूल चयन गर्ने वेलामा वनस्पति विभागका निर्देशक प्रयागराज पाण्डेको पहलमा डा. समरबहादुर मल्लले विभिन्न पुस्तकालय चहार्दै केशर लाइब्रेरी पुगेर आफ्नो लेकबेसीको वानस्पतिक भ्रमणका आधारमा लालीगुराँसलाई सिफारिश गरेका थिए ।

संघीय नेपालमा प्रान्तीय पुष्प पहिचान हुने दिन पनि आउला । त्यस अवस्थामा प्रदेश–६ को प्रतीक पुष्प वा वनस्पतिको रूपमा जाजरकोटे पैयुँलाई अघि सार्न सकिन्छ । त्यसैगरी, प्रदेश–२ मा सिरहाको सलहेस फूलबारीमा पाइने सुनाखरी चयन हुने विश्वास गर्न सकिन्छ ।

विभागको योगदान
वनस्पति विभागले आफ्नो अस्तित्वको प्रारम्भिक समय १९९४ सालदेखि हालसम्म जडीबुटी विषयमा पनि ध्यान दिंदै आएको छ । अध्ययन, अनुसन्धान र विकासको सिलसिलालाई अघि बढाउँदैछ ।

जडीबुटीको सारत्व र रासायनिक पदार्थमा अनुसन्धान गर्न (शाही) औषधि अनुसन्धान शाला स्थापना गर्‍यो वनस्पति विभागले । रसायन शास्त्री, फर्मासिष्ट (औषधि विशेषज्ञ) र वनस्पतिशास्त्रीहरूको प्रयासबाट एकातिर अध्ययन अनुसन्धान र अर्कातिर उत्पादन र विकासको सिलसिला चल्न थाल्यो ।

औषधि उत्पादन इकाई स्थापना भयो । आज बजारमा आउने सिटामोलको ट्याबलेट त्यहीं बनेको हो । औषधि उत्पादन र बिक्री वितरणलाई व्यापक बनाउन (शाही) औषधि लिमिटेड स्थापनाको पहल भयो ।

यसैगरी जडीबुटी प्रशोधनमा सफलता प्राप्त भएपछि जडीबुटी प्रशोधन तथा उत्पादन लिमिटेड स्थापना भयो । देशभित्र वा बाहिर उत्पादन भएर बजारमा आउने औषधिको गुणस्तर निर्धारण गर्ने काममा वनस्पति विभाग लाग्यो ।

त्यसको फलस्वरुप औषधि व्यवस्था विभाग पनि स्थापना भयो । यस प्रकार वनस्पति विभागको अध्ययन–अनुसन्धानले उपरोक्त तीनवटा महत्वपूर्ण संस्थालाई जन्म दिने काम भयो ।

विभाग स्वयं भने विज्ञान तथा प्रविधि क्षेत्रमा उत्कृष्ट अनुसन्धान केन्द्रको रूपमा गौरवान्वित हुन थाल्यो । फलस्वरुप नेपालमा सम्पन्न विभिन्न विज्ञान प्रविधि सम्बन्धी राष्ट्रिय भेला, सभा–सम्मेलन वा महाधिवेशनमा सबभन्दा धेरै अनुसन्धानात्मक लेख, कृति एवं सहभागिता जनाउने निकाय पनि बन्यो वनस्पति विभाग ।

वनस्पति विभागका प्रयोगशालाहरूमा अनुसन्धानको सम्पूर्णता देख्न सकिन्छ । विभिन्न वृक्ष र तिनका काठको एनाटोमी, बिरुवाहरूको आनुवंशीय अध्ययन, जडीबुटीका सारतत्वलगायत तन्तु प्रविधि विकासमा विभागको अग्रणी भूमिका छ ।

वनस्पति विभागले वनलाई वृक्षको रूपमा मात्र नहेरी सम्पूर्ण वनस्पति जगतको प्रकृति, प्रवृत्ति र प्रभावबारे अध्ययन अनुसन्धानका सिलसिला बसाएको छ । यी कुरा विभागबाट प्रकाशन ५०औं पुस्तकले पुष्टि गर्छन् ।

गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानले २०१९ सालदेखि नै राष्ट्रको गौरवलाई काँध दिने मात्र हैन आम जनतामा वनस्पति सम्बन्धित ज्ञान र शिक्षा फैलाउने काम पनि गर्दै आएको छ ।

नेपाल सरकारको संरचनाबाट राष्ट्रिय वनस्पति उद्यान हरायो भने अन्तर्राष्ट्रिय वनस्पति जगतमा एउटा शोभा हराएको अनुभव हुनेछ । वन तथा वातावरण मन्त्रालयको नयाँ संरचनाभित्र वर्तमान वनस्पति विभाग नअटाएर खारेजीमा पर्‍यो भने भोलिका दिनमा वन भनेको वृक्ष हो र वृक्ष बाहेक केही होइन भन्ने मान्यता स्थापित हुन्छ ।

वृक्ष भनेको काठ र काष्ठ पदार्थ हो, त्योभन्दा बढी केही होइन भन्ने पर्न जानेछ । तसर्थ समृद्ध नेपालको परिकल्पनाभित्र वनस्पति विषयक ज्ञान, विज्ञान र प्रविधिलाई प्रखर बनाइराख्न वनस्पति विभागको अस्तित्व जोगाउनुपर्छ ।

वैज्ञानिक अध्ययन–अनुसन्धान र विकासको सिलसिलेवार यात्राले मात्र समृद्धिको गन्तव्यतिर लम्काउँछ । अनि मात्र हामी धौलागिरि शिखरमा पुग्न र सबैको दिल छुन सक्छौं ।

प्रतिकृया दिनुहोस