दिल्ली विमानस्थलमा प्रम ओलीलाई भारतीय गृहमन्त्रीको स्वागत
तीन दिने भारत भ्रमणका क्रममा आज विहान नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले विमानस्थलमा स्वागत गरेका छन् ।
सिंह भारतीय मन्त्रिपरिषद्मा दोस्रो वरियताका सदस्य हुन् । विमानस्थलमा भारतका अर्थ राज्यमन्त्री शिवप्रताप शुक्ला लगायतका अधिकारीहरु समेत पुगेका थिए ।
विमानस्थलको अतिविशिष्ट कक्षमा केही बेरको भलाकुसारीपछि प्रधानमन्त्री ओली उनको बसोबासको व्यवस्था रहेको राष्ट्रपति भवन पुगेका छन् ।
राष्ट्रपति भवनमा केही बेरको विश्रामपछि उनले भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । उनले भारतीय उद्योग वाणिज्य महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन समेत गर्नेछन् ।