कला/साहित्यबिहिवार, चैत्र १५, २०७४

नथियाः पुंसत्वलाई प्रश्न

मस्त केसी

उपन्यासले पुरुषप्रधान समाजको अहं र ढोंगलाई पटकपटक सतहमा ल्याइदिएको छ ।

सल्यानहुँदै दाङको हुरीखोला किनारमा बसाइँ सरेका बादीहरुकै कारण बस्तीको नाम ‘पक्रैया’ बन्न पुग्छ । कीर्तिपुरस्थित विश्वविद्यालयका प्राध्यापक दिवाकर थापाले छोरीको दीक्षान्त समारोहमा आएकी सामली बादीलाई भेटेपछि नथियाको कथाले लय समात्छ ।

धेरै वर्ष पहिले स्नातकोत्तर तहको शोधपत्रका लागि अनुसन्धानका लागि बादी बस्तीमा पुग्दा थापा र सामलीको प्रेम टुसाएको हुन्छ । तर, पटक–पटकको विवाह र प्रेममा असफल भइसकेकी सामलीले दिवाकरसँग पुनः उही व्यथा दोहोर्‍याउने औचित्य देख्दिनँ ।

नथिया बादी संस्कृति र बादी युवतीहरुको कथामा आधारित उपन्यास हो । सदियौंदेखि संस्कृतिका नाममा यौन पेशा अपनाउन बाध्य बादी समुदायमा छोरो जन्मँदा दुःखी र छोरी जन्मँदा खुशी हुने संस्कार हुन्छ ।

छोरी ठूली भएपछि यौन व्यवसाय गरेर आमाबाबुलाई पाल्ने भएकै कारण छोरीको विशेष महत्व हुन्छ । विपरीत; आमाबुबा, दाजुभाइ चाहिं आफ्ना छोरी–चेलीको लागि ग्राहक खोज्दै हिंड्छन् ।

यिनै बादी महिलाले ‘मान्छे’ भएर बाँच्न के कस्ता सङ्घर्ष गरे ? उपन्यासको मूल विषय यही हो । उपन्यासकार सरस्वती प्रतीक्षाले बादी समुदायको बसोबास रहेको दाङको घोराही आसपास, बाँकेको नेपालगञ्ज, बर्दियाको राजापुरको स्थलगत अध्ययनपछि नथिया को स्वरुप बुनेको दाबी गरेकी छिन् ।

बादीको घरमा जन्मनु भाग्यको खेल हो । र, भाग्यले बादी महिलाको पोल्टामा ‘शरीरको सौदागरी’ थोपरिदिएको भन्ने परम्परावादी सोचले सामली बादीको निर्माण भएको छ । सामली यौन व्यवसायी हुनुमा आर्थिक अवस्था, सामाजिक र सांस्कृतिक संरचनादेखि परिवारको चिन्तनले भूमिका खेलेको छ । अनिच्छुक हुँदाहुँदै सामली आमाकै षडयन्त्रमा परी अन्ततः यौन व्यवसायी बन्छे ।

बादी महिलाले नथिया लगाउनु यौन व्यवसायका लागि उमेर पुग्नुसरह ठानिन्छ । त्यसैले पहिलो पटक महीनावारी भएपछि बादी किशोरी नथिया लगाउँछन् र यौन व्यवसायको लागि तयार भएको अपील गर्दछन् । तर, पहिलो संसर्गसँगै उनीहरुको नाकबाट नथिया उत्रिन्छ र उनीहरु भोग्य वस्तुमा परिणत हुन्छन् ।

उपन्यास पढिरहँदा पात्रहरुको संवादले दृश्यको भान दिन्छ । ‘तु हाम्रो शरीरको मालिक त होइनस् नि ! हाम्रो शरीर तुइको दास त होइन नि !’ सामलीले आफ्नै श्रीमान्लाई भनेका वाक्यले आत्मविश्वास उजागर गर्छ । आफ्नो शरीरको मालिक आफू बाहेक अरु हुनै सक्दैन भन्ने विचारलाई उपन्यासले बल दिएको छ ।

नथिया ले विवाहको अर्थ र औचित्यमाथि प्रश्न खडा गरेको छ । सामली श्रीमती र छोराछोरी छन् भन्ने जान्दाजान्दै ग्राहक रेन्जरसँग विवाह गर्न पुग्छे । ऊ ठान्छे, विवाह प्रेमको उच्चतम ‘रूप’ हो । तर, जब उसले रेन्जरबाट पैसा, सुरक्षा र देहव्यापारबाट मुक्ति पाउँदापाउँदै पनि प्रेम पाउँदिन, प्रेम र विवाहका विषयमा अनेकन् प्रश्न उठाउँछे । पाठकलाई सोच्न बाध्य तुल्याउँछे ।

सामलीले मोहम्मदसँग दोस्रो विवाह गर्छे, जसमा प्रेमको आसक्तिभन्दा सुरक्षाको खोजी छ । यहाँनेर पुरुषमा गरिने गुणको खोजी पनि छ । तर, सामलीले दोस्रो पतिसँग पनि खोजेको गुण र सुरक्षा पाउँदिन ।

सामली र जय नेपालबीच बाल्यकालदेखि नै प्रेम थियो, अव्यक्त प्रेम । तर यी दुवैले विवाहका लागि आपसमा प्रस्ताव गर्दैनन् । किनभने त्यहाँ विवाह संस्थाका आधारहरू तय भएका हुँदैनन् । जयबाट सामलीलाई सुरक्षा प्रत्याभूत हुन सक्दैन ।

अब सामली अनुसन्धानकर्ता दिवाकरलाई प्रेम गर्न थाल्छे; प्रेम र विवाह फरक हुन् भन्ने भेउ पाएकी उसले दिवाकरको विवाह प्रस्ताव लत्याउँछे । र, दिवाकरलाई लेख्छे— ‘प्रेम र बिहा फरक–फरक कुरा हुन् । बिहाले प्रेमलाई मार्छ र हजुरसँगको प्रेम मर्‍याको कम्तीमा मु देख्न सक्दोनइ ।’

सामलीलाई बिर्सन दुखानीको जंगल पुगेको दिवाकरले बच्चासँग खेलिरहेकी बघिनीको अनुहारमा सामलीको अनुहार देख्छ । यो शक्तिशाली बिम्बले उपन्यासको सार बताएको छ ।

उपन्यासले पुरुषप्रधान समाजको अहं र ढोंगलाई पटकपटक सतहमा ल्याइदिएको छ । आफ्नो विवाहकै दिन सामलीलाई मुसार्न आउने रत्नमान । श्रीमती हुँदाहुँदै पैसाको आडम्बरमा बादी किशोरीको नथिया उतार्ने साहु बेखामान, भिक्षु र पुजारीको कर्तुत । तर, जय र युक्फुङ सरजस्ता पात्रमार्फत लेखकले समाज परिवर्तनको संकेत पनि गरेकी छन् ।

लेखकले ९५ प्रतिशत यथार्थमा आधारित उपन्यास भनेबाट कथानक यथार्थभन्दा धेरै टाढा नभएको आशा गर्न सकिन्छ । त्यसो त सकेसम्म बादीहरुको बोलीचालीका भाषा नै प्रयोग गर्न खोज्नुबाट पनि उनको मिहिनेत झल्किन्छ ।

तर, उनको सतर्कता भने अपुग छ । बीचबीचमा बादी महिलाले प्रयोग गरेका अंग्रेजी शब्द पनि खट्कन्छन् । १० पृष्ठ लामो इतिहासको गन्थनले धेरै पाठकलाई झर्को लगाउने सम्भावना छ ।

उपन्यासले बादी समुदायलाई कत्तिको न्याय गरेको छ ? यसबारे बादी समुदायले आधिकारिक धारणा राख्नेछन् । तर, बाँकीले बुझ्नैपर्ने मुलुकभित्रैको बादी समुदायको व्यथालाई आख्यानको रुपमै सही, पुस्तकाकारको रुप दिनुलाई नवउपन्यासकार प्रतीक्षाको सफलता मान्नुपर्छ ।

पुस्तक नथिया (उपन्यास)
लेखक सरस्वती प्रतीक्षा
प्रकाशक बूक हिल पब्लिकेशन
पृष्ठ ३००, (अावरणसहित)
मूल्य रुः ४२५

 

प्रतिकृया दिनुहोस