वैदेशिक रोजगारीमा गएका तीन छोरा गुमाउनु पर्दा
वैदेशिक रोजगारीले धेरै नेपालीको घर धानिएको छ तर, म्याग्दीका एक परिवारको भने वैदेशिक रोजगारीले सन्तान, सम्पत्ति र सहारा सबै खोसिदिएको छ ।
स्वदेशमै रोजगारीका अवसर नहुँदा दैनिक सयौँ युवायुवती विदेशिने गरेका छन् । अधिकाँश न्यून र मध्यम वर्गका नागरिकले विदेशमा परिश्रम गरी छोराछोरीले पठाएको पैसाबाट यहाँ घरखर्चदेखि बालबच्चाको लालनपालन र पढाइ खर्च जुटाउने गरेका छन् ।
म्याग्दीको मालिका गाउँपालिका–२ बेली, रुमका धन बहादुर रोका र लिलमती रोकाका तीन छोराले वैदेशिक रोजगारीकै सिलसिलामा ज्यान गुमाउनुपरेको छ । एकै परिवारका तीन सन्तानको प्रवासमा निधन भएपछि यतिबेला रोका दम्पती सन्तान, सहारा र सम्पत्तिविहीन बनेका छन् ।
रोजगारीका लागि मलेसियामा पुगेका रोका दम्पतीका कान्छा छोरा धर्मलालको यही चैत १० गते राति निधन भयो । साढे चार वर्षदेखि एक अपार्टमेन्ट कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत २८ वर्षीय धर्मलाल कुर्सीमै मृत अवस्थामा फेला परेका थिए ।
यसअघि रोका परिवारका माइला छोरा भक्तबहादुर रोकाको समेत रोजगारीको सिलसिलामै करीव १२ वर्ष अगाडि कतारमा ज्यान गएको थियो । उनको निधन भएको १८ महिनापछि फेरि जेठा छोरो तम बहादुर रोकाको मलेशियामा ज्यान गयो ।
विदेशमै तीन छोरा गुमेपछि रोका दम्पती बिक्षिप्त जस्तै छन् भने सिंगो गाउँ नै स्तब्ध बनेको छ । जहाजबाट बक्सामा बन्द गरी ल्याइएका दुई छोराका शव सद्गत् गरिसकेका आमाबाबुलाई कान्छो छोरा धर्मलाल समेत उसै गरी बक्सामा बन्द भएर ल्याइएपछि सम्हालिन सकेका छैनन् ।
जेठा र माइला छोरा गुमाएको पीडालाई केही हदसम्म लुकाउन सक्ने भएको अवस्थामा फेरि कान्छो छोरो पनि गुमेपछि ६५ वर्षीया लिलमती र ६९ वर्षीय धन बहादुर आफूलाई सम्हाल्न नसक्ने भएका छन् । रोका दम्पती विचलित बनेको र बाँकी जीवनसमेत अनिश्चिततातर्फ धकेलिएको स्थानीय राष्ट्रिय मावि रुमका शिक्षक कृष्ण पुनले बताए ।
“यस्तो विडम्बना कसैलाई पनि आई नपरोस्, सम्पत्ति कमाउन गएको सन्तान नै गुमेपछि उनीहरुको परिवार यतिबेला दयनीय अवस्थामा छन्, काम गरेर खान सक्ने अवस्थामा नरहेका रोका दम्पतीको जीविकोपार्जनका लागि सहयोगको खाँचो छ” – शिक्षक पुनले भने ।
रोका दम्पतीका चार भाइ छोरामध्ये तीन जनाले रोजगारीकै क्रममा प्रवासमै ज्यान गुमाएका छन् । रोजगारीकै क्रममा मलेसिया पुगेका साइँला छोरो थमबहादुर रोका पनि हालै फर्किएका छन् ।
आम्दानी राम्रो नभएपछि जागिर छाडेर घर आएका थमबहादुर भाइ गुमेको पीडाले विक्षिप्त छन् । “दुई दाइको पहिल्यै निधन भएको थियो, भाइ र मैले जेनतेन घरलाई सम्हालेका थियौँ, अहिले फेरि भाइको पनि अकल्पनीय मृत्यु भयो” – थमबहादुरले भने । आफू फर्कने बेलामा भाइलाई भेट गरेको क्षण सम्झँदै उनले भने, “दशैँमा आएर घरजम गर्छु भन्थ्यो । अहिले यस्तो खबर सुन्नु पर्यो ।” वृद्धावस्थामा पुगेका बुबाआमाको स्वास्थ्य अवस्था समेत कमजोर छ ।
पक्षाघातको समस्याबाट पीडित धनबहादुरलाई नियमित औषधि सेवन गर्नुपर्छ । “यो परिवारले चौतर्फी रुपमा विपद्को सामना गर्नुपरेको छ, उनीहरुलाई आइपरेको विपत्ति टार्न त सकिँदैन, तैपनि केही सहयोग गरे दुःख बाँड्न सकिन्छ, सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गर्छु” – शिक्षक पुनले भने ।
रासस