प्रधानमन्त्रीद्वारा लाप्राकमा नमूना बस्तीको शिलान्यास
प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखाको लाप्राकस्थित नमूना बस्तीको २१ असोजमा एक समारोहबीच शिलान्यास गरेका छन् ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले पुनःनिर्माणको जिम्मा लिएको गुप्सीपाखास्थित लाप्राक नमूना बस्तीको उनले शिलान्यास गरी पुनःनिर्माण अभियानको सुरुवात गरेका हुन ।
सो अबसरमा प्रधानमन्त्री दाहालले पुनःनिर्माणलाई सरकारले बिशेष प्राथमिकतामा राखेको बताउँदै यस कार्यमा सबैको सहयोग र समन्वय आवश्यक रहेको बताए ।
गुप्सीमा घर बनाउने लाप्राकीलाई सरकारले घडेरी उपलब्ध गराएको जानकारी दिदैं उनले भने “अहिले जग्गाको भोगाधिकार मात्रै दिइएको छ, पछि हकाधिकार पनि दिइने छ ।”
भूकम्पले सिङ्गो गाउँ ध्वस्त भएपछि लाप्राकीहरु गुप्सीपाखा जङ्गलको जग्गामा अस्थायी टहरा बनाएर बस्दै आएका छन् । गुप्सीमा ६१७ वटा टहरो छ । एनआरएनएले सबै लाप्राकीलाई घर बनाइदिने प्रतिबद्धता जनाइसकेको छ ।
गाउँ पुगेका प्रधानमन्त्री दाहालसँग भूकम्पपीडित लाप्राकीले घर, बाटो, बिजुली र खानेपानीको व्यवस्था गरिदिन माग गरेका छन् ।
कार्यक्रममा गाविस सचिव धु्रवराज पराजुलीले गाउँलेको समस्या समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री दाहाललाई बुझाएका थिए ज्ञापनपत्रमा बारपाक, लाप्राक, गुम्दा, माछाखोला सडक कालोपत्रे गर्न माग गरिएको छ ।
जवाफमा प्रधानमन्त्री दाहालले बारपाक, गुम्दा सडक कालोपत्रे गर्न बजेटको व्यवस्था गर्न पहल गर्ने बताए । गुप्सीपाखामा खानेपानी, स्वास्थ्य चौकी भवन, गाविस भवन, बिजुलीलगायतको सुविधा छैन । गाउँलेले घर पुनःनिर्माणका क्रममाः विकासका अन्य पूर्वाधारयुक्त लाप्राक गाउँ निर्माण हुनुपर्ने बताउँदै आएका छन् । रासस