ब्लगशनिवार, चैत्र १०, २०७४

कान्सजस्तै सपना मुस्ताङको  

सम्पदा मल्ल

अनेकौं दुःख र हण्डर सहेरै पनि चलचित्र महोत्सवहरू आयोजना गरिरहेका सिनेप्रेमीहरूको संघर्ष हेर्दा लाग्छ, कुनै दिन हाम्रो कुनै नगर फ्रान्सको कान्सजस्तै विख्यात हुनेछ।

 

२९ कात्तिक, नेपालमा हुने थोरै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमध्येको ‘एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव’ को अघिल्लो बिहान । चिसो–चिसो मौसममा हामी कुपण्डोलको ग्रीनविच होटल बाहिर चियाको चुस्कीका साथ कलिलो घाम तापिरहेका छौं ।

फेस्टिभलले आयोजना गरेको ‘एकादेशमा फिल्म ल्याब’ मा उत्साहजनक सहभागिता छ । विश्वविख्यात बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका फिल्म क्युरेटर तथा अन्तर्राष्ट्रिय फिल्म समीक्षक पाओलो बर्टोलिन एकादेशमाको निम्तो स्वीकारेर निर्णायक बन्न आएका छन् ।

उनी भनिरहेका छन्, “किन, किन नेपाल मलाई असाध्यै मन पर्छ । यहाँ आउने कुनै बहाना खोजिरहेको हुन्छु । तर, अचम्म तीन दशकभन्दा लामो मेरो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको यात्रामा वर्षेनि कैयौं सिनेमा हेर्दा र छान्दा नेपाली सिनेमासँग परिचित भइएन । नेपाली सिनेमाले कहिल्यै अन्तर्राष्ट्रिय स्थान पाएन । तर, पछिल्लो समय नेपाली सिनेमाले फड्को मार्दैछ । नेपालका मन छुने कथाहरू हेर्न अन्तर्राष्ट्रिय जगत आतुर छ ।”

पाओलोका उत्साहित विचारहरू सुन्दै गर्दा निर्देशक दीपक रौनियार स्वीमिङ पुल छेउमा एक हूल युवा फिल्मकर्मीबीच घेरिएका थिए । उनै रौनियार जो भर्खरै विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा उत्कृष्ट निर्देशक ठहरिएका थिए ।

उनको ‘सेतो सूर्य’ ले प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा नेपाली फिल्मको लागि सुनौलो ढोका खोलिदिने शुभ साइत गरिदिएको थियो । केही दिनअघिको भेटमा उनले भनेका थिए, “बडो दुःखले जब अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा पुगें, मलाई निकै इर्ष्या भयो ।

सम्पन्न देशका फिल्मकर्मीहरूले त राम्रो सिनेमाको खाका बनाए पुग्ने रहेछ । मद्दतका लागि सरकारी/गैरसरकारी निकाय अघि सर्दा रहेछन् ।

त्यसपछि उनीहरूको सम्पूर्ण शक्ति उत्कृष्ट सिनेमा बनाउन केन्द्रित हुँदोरहेछ ।” उनी भन्दैथिए, “हामीकहाँ चाहिं आर्ट हाउस सिनेमा बनाउने काम भयावह छ । हाम्रो चलचित्र विकास बोर्डबाट आर्थिक सहयोगको अपेक्षा राख्नु पनि हास्यास्पद हुन्छ ।

नेपाली सिनेमाले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल देख्न पाउनुको एक मात्र कारण हो– राम्रो सिनेमा बनाउने एक्लो पागलपन ।”

किम्फ (२०१७) मा उपस्थित दर्शक ।

पाओलो हामीलाई संसारको सबभन्दा पहिलो र प्रसिद्ध भेनिस फिल्म फेस्टिभलको शुरुआती कथा सुनाउँदै थिए । सन् १९३२ मा इटालीका राजनेता गियोसिप्पी भोल्पीको अग्रसरतामा त्यस समयको चर्चित आर्ट हाउस सिनेमाहरू प्रदर्शनबाट भेनिस फिल्म फेस्टिभल शुरु गरिएको थियो ।

पहिलो पटक त्यहाँ २५ हजार दर्शक सहभागी थिए । भेनिसको सुन्दर समुद्री तट लिडोमा हरेक वर्ष हुने यो फेस्टिभलमा अहिले पाँच लाखभन्दा बढी सिनेपे्रमी जम्मा हुन्छन् । भेनिसले आज गम्भीर विषय–प्रस्तुतिका आर्ट हाउस सिनेमालाई बचाउने र जन्माउने काम गरिरहेको छ ।

दुई दशकअघि पत्रकार कनकमणि दीक्षितको अग्रसरतामा पहिलो पटक आयोजना भएको ‘फिल्म साउथ एशिया’ ले काठमाडौंमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको संस्कार भित्र्याएको थियो ।

पाओलो बर्टोलिन ।

अहिले ‘फिल्म साउथ एशिया’ को गोरेटोलाई फराकिलो पार्ने काम काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ), एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव, पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव, नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूले गरिरहेका छन् ।

उनीहरूको प्रयासले सिनेमाका नेपाली पारखीहरूलाई आफ्नै घरआँगनमा उत्कृष्ट अन्तर्राष्ट्रिय सिनेमाहरू हेर्ने र फिल्मकर्मीहरूसँग अन्तरसंवादको अवसर जुटाइरहेको छ ।

हामीसँग पाओलो भन्दैथिए, “पोहोरको एकादेशमा कुमारी हलमा दर्शकको भीड देख्दा म छक्क परेको थिएँ । नेपाली सिनेप्रेमीहरूलाई नजिकबाट नियाल्दा म विश्वासका साथ भन्न सक्छु– त्यो दिन धेरै टाढा छैन जब नेपालमा पनि विश्वस्तरीय फिल्म फेस्टिभल आयोजना हुनेछ ।”

पाओलोका विचार सुनिरहँदा मेरा आँखा भोलि (३० कात्तिक) देखि शुरु हुन लागेको एकादेशमा फेस्टिभललाई अघिल्लो वर्षभन्दा भव्य पार्न यत्रतत्र खटिरहेका जाँगरिला स्वयंसेवकहरूमाथि परे । उनीहरूको अनुहारमा निराशा पटक्कै थिएन । थियो त केवल आशा र अठोट ।

फेस्टिभल निर्देशक अविनाशविक्रम शाहले फिल्मप्रतिको चरम ‘प्यासन’ विना नेपालमा यस्ता फेस्टिभल गर्न नसकिने बताउँदै थिए । किनकि एकादेशमाले पाँचौं वर्ष टेके पनि संघर्ष उस्तै छ, विशेषगरी अर्थ संकलनको संघर्ष ।

फेस्टिभलका लागि प्रायोजक पाउन निकै धाउनुपर्छ । त्यसक्रममा फलाना, फलाना सेलिब्रेटी आबद्ध छन् भने मात्र सहयोग गर्छु भन्नेहरू पनि भेटिन्छन् । तर, यात्रा कठिन हुँदाहुँदै पनि फेस्टिभल शुरु हुन्छ, र हल दर्शकको भीडले खचाखच भरिन्छ ।

“अँध्यारो हलको सेतो पर्दामा जब विभिन्न देशका सिनेमा खेल्न थाल्छन्” शाह भन्छन्, “खुशीको सीमा रहँदैन, सारा दुःख एकैसाथ विलीन भइदिन्छ ।”

फ्रान्सको सानो शहर कान्स आज त्यहाँ हरेक वर्ष आयोजना हुने कान्स अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलकै कारण विश्वचर्चित पर्यटन स्थल बनेको छ । कान्समा फेस्टिभलका बेला मात्र होइन, अरु बेला पनि पर्यटकको घुइँचो लाग्छ ।

पाओलोको विचार सुन्दै र वरिपरिको उत्साह नियाल्दै गर्दा मेरो मनले सपना देख्न थाल्यो, मुस्ताङ फिल्म फेस्टिभलको ।

सेताम्य हिमालहरूको पृष्ठभूमिमा ठूल्ठूला पर्दामा विभिन्न देशका सिनेमा चलिरहेछन् । विश्वका प्रख्यात फिल्मकर्मीहरूलगायत हजारौं अन्तर्राष्ट्रिय सिनेप्रेमी दर्शकहरू हिमाली सिरेटोको आनन्द लिंदै फेस्टिभलको मज्जा लिइरहेका छन् ।

कान्सजस्तै मुस्ताङ पनि हरेक वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको कारणले विश्व चर्चित पर्यटकीय गन्तव्य बनिसकेको छ । यो स्वैरकल्पनाको संसारमा म एक्लै मुस्कुराइरहेकी थिएँ ।

प्रतिकृया दिनुहोस