रिपोर्टमंगलवार, चैत्र ६, २०७४

नेपाली इन्जिनियरले बनाए छड बण्डलिङ गर्ने मेशीन, अब सय कामदारको काम एउटै मेशीनबाट

मस्त केसी

नेपालमै तयार पारिएको ‘स्मार्ट रिबार बण्डलिङ’ मेशीनले छड उद्योगहरूको कार्यक्षमता वृद्धि र खर्च कटौतीमा उल्लेख्य योगदान दिनेछ।

बण्डलिङ मेशीन

इन्जिनियर केशवराज पोखरेलले तयार पारेको ‘स्मार्ट रिबार बण्डलिङ’ मेशीनलाई काठमाडौं स्टिल्स्‌ले प्रयोगमा ल्याएको तीन महीना भयो । पोखरेल आफैं काठमाडौं स्टिल्स्‌का प्रमुख कार्यकारी अधिकृत हुन् ।

‘स्मार्ट रिबार बण्डलिङ’ नाम दिइएको उक्त मेशीनले उद्योगमा तयार भएको फलामे छडलाई प्याकिङ र बण्डलिङ गर्छ । नेपाल र भारतमा प्याटेन्ट दर्ता गरिएको मेशीनको मूल्य रु.२ करोड तोकिएको छ । 

भारतीय बजार अध्ययन गरेर भर्खरै फर्किएका पोखरेलका अनुसार त्यहाँ १५०० वटा छड उत्पादन कम्पनी छन् भने नेपालमा ३६ वटा । नेपालमा थप सात वटा नयाँ उद्योग सञ्चालनको तयारीमा छन् । चलिरहेका र चल्न लागेका ती सबै उद्योग म्यानुयल प्रविधिमा छन् ।

ती सबै उद्योगमा ‘स्मार्ट रिबार बण्डलिङ’ मेशीन उपयुक्त हुने इन्जिनियर पोखरेल बताउँछन् । उनी भन्छन्, “यसले उद्योगको कार्यक्षमता वृद्धि र खर्च कटौतीमा उल्लेख्य योगदान दिन्छ ।”

विकसित देशहरूमा छडको १०० र २०० टनको बण्डल तयार गरिन्छ । नेपाल र भारतमा भने १०० केजीको बण्डल बनाउने चलन छ । बजारको माग र ढुवानी सजिलोको लागि यसो गरिएको हो ।

म्यानुअल प्रविधिमा बण्डल बनाउन ठूलो समूहमा कामदार आवश्यक पर्छ । यसका लागि एउटा उद्योगमा बण्डल तयार गर्न १३० देखि १५० जना कामदार राखिन्छन् । पोखरेलका अनुसार, चारजना अपरेटर चाहिने ‘रिबार बण्डलिङ मेशीन’ ले १०० केजीको बण्डल ६ सेकेण्डमै तयार पार्छ ।

फाइदै–फाइदा
उद्योगबाट तयार भएर निस्कँदा छडको तापक्रम ५०० डिग्री सेल्सियस हुन्छ । उक्त छड चिसो भएपछि कामदारहरूले बण्डलिङ गर्छन् । ‘स्मार्ट रिबार बण्डलिङ’ मेशीनले भने तातो छडलाई तत्कालै बण्डलिङ गरेर बाहिर पठाउँछ ।

इन्जिनियर, केशवराज पोखरेल ।

अत्यधिक तातो वातावरणमा धेरै परिश्रम गर्नुपर्ने, दुर्घटना भइरहने जोखिमयुक्त काम भएकोले नेपाली कामदार छड बण्डलिङ गर्न रुचाउँदैनन् । पोखरेलका अनुसार, नेपालका सबै स्टिल उद्योगमा करीब पाँच हजार भारतीय कामदारले बण्डलिङ गरिरहेका छन् ।

बण्डलिङ मेशीन प्रयोगमा आउँदा कामदारको लागि बाहिर गइरहेको करोडौं रुपैयाँ रोकिन्छ । नेपालका सबै छड कम्पनीले यो मेशीन प्रयोग गर्दा कामदारबाट मात्रै वार्षिक रु.४५ करोड हाराहारी बचत हुने इन्जिनियर पोखरेल बताउँछन् । दुर्घटना हुँदैन वा भए पनि कम हुन्छ ।

‘स्मार्ट रिबार बण्डलिङ’ मेशीनले विद्युत् खपतमा बचत र उद्योगको क्षमतामा वृद्धि गर्ने पोखरेल बताउँछन् । उनी भन्छन्, “मेशीनले कामलाई सहज बनाउँछ, वातावरणीय प्रदूषण नियन्त्रण र बजारमा सामग्री छिटो आपूर्ति गराउँछ ।”

बण्डलिङ मेशीनले कामदार नपाउने समस्या पनि हल गरिदिने उनले बताए । त्यो कारण पनि नेपाल र भारत दुवैतिरबाट मेशीनको माग आउन थालिसकेको उनी बताउँछन् । अहिलेलाई मेशीन बिक्री पनि नेपाल र भारतमा मात्र गर्ने उनको योजना छ ।

‘मेकानिकल इन्जिनियरिङ र मेटेरियल साइन्स’ मा स्नातकोत्तर पोखरेल अहिले अमेरिकाको ‘युनिभर्सिटी अफ आइडाहो’ बाट विद्यावारिधि गर्दैछन् । विद्यावारिधिको अनुसन्धानमा उनले ‘कंक्रिट रिबार कोरोजन’ विषय छनोट गरेका छन् । सन् २००१ मा पञ्चकन्या स्टिल्स्‌को प्लान्ट इन्जिनियरको रूपमा काम शुरू गरेका उनले नेपालका विभिन्न स्टिल कारखानामा योगदान गरेका छन् ।

प्रतिकृया दिनुहोस