कला/साहित्यशनिवार, फाल्गुण १९, २०७४

काठमाडौंमा ‘कान्छा रे कान्छा रे’

रविन गिरी

नेपाली लोक बान्की टिपेर मन छुने सयौं गीतमा धुन दिएका सर्वाधिक सफल रञ्जित गजमेर आफ्नो सम्मानमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल आइपुगेका छन् ।

रञ्जित गजमेर । तस्वीरः गोपेन राई

१४ फागुन, सोमबार । बूढानीलकण्ठ, नारायणथानस्थित घरको आँगनमा अचानकै आइपुगेको एक अनुहार देखेर वीणा गुरुङ चकित भइन् । झण्डै ६० वर्षदेखि परिचित यो अनुहार आफूलाई भेट्न आउँदा उनलाई हरेकपटक उबेलाको जीवन फर्किएर आएजस्तै लाग्यो ।

अघिल्लो दिन मात्र काठमाडौं आइपुगेको त्यो अनुहार भोलिपल्टै विना भाउजूलाई भेट्न पुगेको थियो । त्यो दिन ‘नौलाख तारा’ अर्थात् दाजु अम्बर गुरुङको जन्मजयन्ती पनि थियो । बाँचिरहेका भए दाजु ८१ वर्षका हुन्थे । तर, २५ जेठ २०७३ मै उनी बिते ।

अम्बरका चेला, नेपाली चलचित्र संगीतका पर्याय रञ्जित गजमेर (७७) यतिबेला काठमाडौंमा छन् ।

अम्बर गुमाएकी विना र श्रीमती कुसुमको वियोगबाट नौ महीनादेखि गुज्रिरहेका रञ्जितले एकअर्कालाई सान्त्वना दिए, उर्लिन खोजेका आँखाहरूलाई मुश्किलले सम्हाले ।

सकेसम्म हँसिमजाक् गर्ने प्रयत्न गरे । ‘नौलाख तारा’ गीतको कम्पोजताका दार्जीलिङको एउटा सरकारी स्कूलको कोठामा रातरातभर मैनबत्ती बालेर अभ्यास गरिरहँदा भाउजू ढोका ढकढक्याउन आएको देखि बिहान दूध लिन हिंडेका श्रीमान् बेलुकी मातेर फर्किएसम्मका कति–कति याद गरेर हाँसे ।

आज पोखरामा हुने ‘ट्रिब्युट टु दि लिजेन्ड रञ्जित गजमेर’मा उही कान्छा फेरि मादलसँगै फेरि गुञ्जनेछन् ।


“अम्बर दाजुसँग आर्ट एकेडेमीमा संगीत सिक्न नपाएको भए” रञ्जित भन्छन्, “थाहा छैन के हुन्थ्यो, तर पक्का हो, सबैको मनमा बस्ने सौभाग्य भने पाइन्नथ्यो ।”

पाँचदशकदेखि संगीतकर्ममा रहेका रञ्जित गजमेर नेपाली भाषीसामु नामभन्दा कामले परिचित छन् । नयाँ पुस्ताका धेरैलाई रञ्जित को हुन् थाहा नहुन सक्छ, तर उनका धुनमा नगुन्गुनाउने शायदै हुन्छन् ।

र्मिमिरे साँझमा सिमसिमे पानी, झझल्को लिएर आएछ सावन, उकालीमा अघिअघि, के सोचें मैले, कुसुमे रुमाल, कुन मन्दिरमा जान्छौं यात्री, वीरताको चिनो, मोहनी लाग्ला है, नयाँ नयाँ सजाउ है संसार, लहनाले जुरायो कि, डाली डाली फूल फुल्यो, चिसो चिसो हावामा लगायत गीतका संगीतकार उनै हुन् ।

आफ्नो सांगीतिक टोलीका सदस्यहरुसँग आरडी बर्मन (पछाडिको पंक्तिमा रातो घेरामा) र रञ्जित गजमेर (अगाडि रातो घेरामा) ।

‘बाँसुरी’ (२०३८) यता रञ्जितले तीन दर्जनभन्दा बढी चलचित्रमा संगीत दिए । नेपाली भाषीको हृदय छुने भाका रच्नमा रञ्जित अब्बल ठहरिए । प्रमाण, उनका ‘सुपर–डुपर हिट’ गीत हुन् । संगीतकै कारण नेपालीजनको मनमा बस्न सफल रञ्जित जम्माजम्मी तीन वर्ष मात्र नेपाल बसे । २०२८ देखि आजपर्यन्त उनी मुम्बई (भारत) मा छन् ।

नौलाख तारा’ का तारा
अम्बर गुरुङ र उनका चेला गोपाल योञ्जनले फोक इन्टरटेनमेन्ट सेक्सनमा सरकारी जागिर पाएपछि दार्जीलिङमा आर्ट एकेडेमी सुस्ताउन थाल्यो । त्यही जागिरको परीक्षामा फेल भएका रञ्जितसँगै शरण प्रधान, जितेन्द्र बर्देवा, अरुणा लामा र प्रकाश गहतराजको नयाँ टोली बन्यो संगम संगीतालय ।

टोलीका संगीत निर्देशक थिए, शरण–रञ्जित । यी दुईको संगीतमा अरुणा लामाको यहाँ फूल न खिलेछहेर न हेर कान्छा कलकत्तामा रेकर्ड भयो । यो गीतले टोलीलाई नेपालसम्म चिनायो ।

२०१८ सालमा अम्बरको स्वर–संगीत र अगमसिंह गिरीको रचनामा ऐतिहासिक नौलाख तारा उदाए गीत रेकर्ड गराउँदा रञ्जित मादलवादक थिए ।

“एक रात नयाँ गीतको अभ्यास गरिरहँदा अगमसिंह गिरीले हाम्रो गोर्खाल्याण्डको लागि यो गीत लेखेको भन्दै दिनुभयो” त्यो गीत बन्दाताकाका एक मात्र जीवित साक्षी रञ्जित सम्झन्छन्, “वाह्, क्या शब्द थियो, दुई रात लगाएर गीत तयार गर्‍यौं ।” त्यतिबेला दार्जीलिङका कोर्ट इन्स्पेक्टर थिए, सचिन गुरुङ । उनैले पैसा जुटाए र कलकत्तामा यो गीतको रेकर्ड सम्भव भयो ।

नेपालीभाषीमाझ यो गीतको लोकप्रियता बढ्दै गएपछि भारत सरकारले प्रतिबन्ध लगायो । अगमसिंह एकसाता थुनिए, अम्बर जागिर छाड्न बाध्य भए ।

संगम निष्क्रिय भएपछि बनेको ‘द हिलियन्स’ ब्याण्डमा आबद्ध उनले पिटर जे कार्थकको रचना र स्वरमा मायालु मायालु गीतमा संगीत भरे । २०२३ सालको एक बिहान साथी अजय गुरुङकी बहिनी अनुराधा (अनुराधा कोइराला)को साथ लागेर पिटर, फुर्बु छिरिङसहितको टोलीमा वीरगञ्जको निजी स्कुलमा अंग्रेजी पढाउन भनि नेपाल छिरे ।

“गीतहरु चले पनि अवस्था खराब थियो, बिहान घरको भात खायो, दिउँसो बजायो, राति घरमा कुटाइ खायो” रञ्जित सम्झन्छन्, “नेपालमा रेडियो नेपाल छ, गीत गाउने सुनाउने ठाउँ छ, दार्जीलिङमा त दुःख मात्र छ भन्ने सोचेर पनि हिंडियो ।”

पटक–पटक रेडियो नेपाल धाएपछि उनले थोरै अवसर पनि पाए । श्रीमती र दुई छोरीका साथ आएका उनलाई पहिल्यै यता आएका नोर्बु छिरिङले बस्नका लागि घर छाडिदिए ।

रेडियो नेपाल, नयाँसडकको डाँफे रेस्टुरेन्ट, बाबुछोरा जर्जी (पुष्कल बुढापिर्थी) र लुई ब्यांङ्स (डम्बरबहादुर बुढापिर्थी) को संगतसँगै रामशरण दर्नाल भेटिए । दर्नालले उनलाई एकेडेमी लगेर मासिक रु.२५० तलबमा वाद्यवादकको जागिर दिलाए ।

२०२५ सालमा ‘नौलाख तारा’ गाउन काठमाडौं निम्त्याइएका अम्बर अर्को वर्ष नेपालमै बस्ने गरि आइपुगे । र, एकेडेमीमै संगीत विशेषज्ञ नियुक्त भए । अर्को वर्ष प्रकाश थापाले चलचित्र मेरो देश बनाउने भए । संगीतको जिम्मा अम्बरलाई दिइयो । अम्बर, रञ्जित, फत्तेमान राजभण्डारी, निर्मला श्रेष्ठलगायतको टोली गीत रेकर्डिङका लागि मुम्बई पुग्यो ।

भाग्यकै कुरा, रञ्जितले दोस्रोपटक मनोहरि दालाई एकेडेमीमै भेटे । दुवैको पहिलो भेट भने हिलियन्सकालमै कलकत्तामा गीत रेकर्ड गराउँदाताका भएको थियो । कलकत्तामा जन्मिएका नेपाली मूलका सिंहको उबेलै गतिलो वाद्यवादकको छवि बनाइसकेका थिए ।

परिवार लिएर नेपाल घुम्न आएका सिंहलाई एकेडेमीले वाद्यवादनबारे सुझाव लिन बोलाएको थियो । केही वर्ष पहिले कलकत्ताको एचएमभी स्टुडियोमा भेटिएका रञ्जितलाई देखेर सिंहले भने, “अरे, तिमी पनि नेपाल आयौ ?”

सिंह फर्कनै लागेका थिए । रञ्जितले आँट गरेर सानो स्वरमा भने, “दादा, म पनि मुम्बई आएर केही गर्न सक्छु कि ?”

‘खानेबस्ने प्रबन्ध आफैं मिलाउने गरी भाग्य अजमाउन आउनू’ भन्ने सिंहको जवाफले रञ्जित उत्साहित भए । कुसुमका दिदीभिनाजू मुम्बई नै बस्थे । “श्रीमतीले पनि ‘काठमाडौं त आइसक्यौं, अब उता किन ट्राई नगर्ने’ भनेपछि मुम्बई गइयो”, रञ्जित भन्छन् ।

१० पुस २०२८ मा दोस्रो पटक मुम्बई टेकेका उनी भोलिपल्टै मनोहरि दाको घर पुगे । मनोहरिले भोलिपल्ट आउन भने । हिंड्नै लागेका बेला मनोहरिका एक सहयोगीले मादल पनि लिएर आउन भने ।

पञ्चम दाको ‘सिक्रेट’
एउटा भव्य भेला । देव आनन्द, आरडी बर्मन, भूपिन्दर सिंहलगायतका हस्तीहरू छन् । मनोहरिको साथमा गएका रञ्जित एउटा कुनामा उभिए । सपनामा पनि नचिताएको जमघटमा उभिंदा उनी असिन–पसिन थिए ।

“पञ्चम, यो नेपालबाट आएको संगीतकार हो, गाउँछ पनि । यसले नयाँ बाजा पनि लिएर आएको छ”, मनोहरिले यसो भनेपछि आरडी बर्मन (पञ्चम दा) को ध्यान रञ्जिततिर तानियो ।

“यो के बाजा हो ?”

”मादल...”, ओठ–तालु सुकेका रञ्जितले भने ।

पञ्चम दाले आश्चर्यभावले मादल हेर्दै बजाएर सुनाउन आदेश दिए ।

“मलाई ज्वरो आएको जस्तो भइरहेको थियो” रञ्जित सम्झन्छन्, “के बजाएँ, के सुनाएँ थाहा छैन ।”

केही समयपछि पञ्चम दाले फेरि कुनै पहाडी लोकगीत गाउन आउँछ भने । सम्हालिंदै रञ्जितले सुनाए, कान्छा रे कान्छा रे...

गीत नसकिंदै देव आनन्दले जुरुक्कै उठेर भने, “हो, उनीहरु ठ्याक्कै यस्तै गीत गाउँछन्, बाजा पनि यस्तै बजाउँछन् ।”

प्रफुल्ल पञ्चम दाले तेस्रो दिन यही बाजा लिएर फिल्म सेन्टर आउन भने ।

“फिल्म सेन्टर पुग्दा त म चकित भए, सेटमा त कान्छी रे कान्छी रे! पो बजिरहेको थियो, लता मंगेश्कर र किशोर कुमारको स्वरमा“, हरे रामा हरे कृष्णा को गीत रेकर्डिङको त्यो क्षण स्मरण गर्दा रञ्जित अहिले पनि पुलकित हुन्छन् ।

त्यही दिन बलिउड चलचित्र संगीतमा रञ्जित ‘कान्छा’ बने । न्वारान गर्ने थिए, उही पञ्चम दा । त्यस दिनदेखि कान्छाले कहिल्यै गुजाराका लागि कसैलाई गहार्नु परेन ।

५४ वर्षकै उमेरमा बितेका बर्मनको अन्तिम चलचित्र ‘१९४२ अ लभ स्टोरी’ सम्म करीब तीन सयजति चलचित्रमा कान्छाले मादल बजाए । “बिरामी हुँदा, दार्जीलिङ र नेपाल आउँदाबाहेक पञ्चम दाको सबै गीतमा मैले बजाएँ” उनी भन्छन्, “पञ्चम दाका पिता एसडी बर्मनका गीतहरूमा पनि बजाएँ ।”

बर्मन बारम्बार भन्थे– “कान्छा, तेरो मादलको टुङ टुङ अरु कसैसँग छैन । यो मेरो सिक्रेट हो, यो टुङ टुङ सुन्नेबित्तिकै यसको संगीतकार आरडी बर्मन हो भनेर सबैले चिन्नुपर्छ ।”

बर्मनकै कारण रञ्जित बलिउडमा ‘मादल म्यान’ बने । परम्परागत नेपाली बाजा मादलले भारतीय मूलधारको अर्केष्टामा प्रवेश पायो र संसारभर गुञ्जियो ।

बलिउडमा बर्मन संगीतको एकछत्र हुँदा नेपालमा पनि रञ्जित गजमेर निर्विकल्प थिए । नेपालमा रञ्जितको गीत ‘हिट’ हुँदा बर्मन खूब खुशी हुन्थे ।
पञ्चम दा र कान्छा एकसाथ ‘हिट’ भइरहँदा कान्छासँग २०४२ सालतिर बर्मनले भनेका थिए– कान्छा, तेरा लागि काठमाडौंमा भव्य कार्यक्रम गर्ने मन छ, बन्दोबस्त मिलाउनू ।

बर्मनको भरोसा पाएर काठमाडौं आए, राजाका विश्वासिला भनिएका व्यक्तिलाई भेटेर सहयोग मागे । “अनि तिमीहरु नेपालमा पैसा कमाएर भारत लैजाने”, जवाफमा यस्तो कटुवचन पाए । नेपालले एउटा दुर्लभ अवसर गुमायो ।

पञ्चम दा संगीतमा अनेक प्रयोग गर्थे । लोक संगीतप्रति अगाध प्रेम त छँदै थियो, पश्चिमा बाजासँग पनि उनको उत्तिकै दक्खल थियो । पञ्चमदासँगको त्यति गहिरो सम्बन्ध भए पनि रञ्जितले भने नेपाली संगीतमा पश्चिमा प्रयोग गरेनन् । “हाम्रो संगीत स्वच्छ छ” उनी भन्छन्, “मैले यसलाई दश ठाउँमा घुमाएर, भत्काएर जटिल बनाउन खोजिनँ ।”

कान्छाले मादल छाडेका छैनन् । १९ फागुन (आज) पोखरामा हुने ‘ट्रिब्युट टु दि लिजेन्ड रञ्जित गजमेर’ कार्यक्रममा कान्छा फेरि एकपटक मादलको धुनसँगै गुञ्जिनेछन् ।

कन्दरा ब्याण्ड र पोखरामहानगरपालिकाले उनलाई अभिनन्दन पनि गर्नेछन् । सँगै कन्दराका विवेक श्रेष्ठ र स्वरुपा आशाद्वारा स्वरबद्ध ‘रञ्जित गजमेरको कृति’ अल्बम पनि सार्वजनिक हुनेछ । गजमेरको सम्मानमा सांगीतिक कार्यक्रम पनि हुँदैछ ।

रञ्जितको सफलतामा कुसुमको भूमिका श्रीमतीभन्दा बढी सर्जकको छ । उनले संगीत गरेका धेरै गीत कुसुमले रचेकी हुन् । “म धुन बनाउँथें, बिर्सिहाल्छु कि भनी उनलाई सुनाउँथें, उनी त्यसैमा शब्द गाँस्दै जान्थिन्” रञ्जित भन्छन्, “त्यही गीत श्रोतालाई मन पथ्र्यो ।”

उमेरको उकालोमा आफ्ना गुरु, अभिभावक र सहकर्मी समेत गुमाउन थालेका रञ्जितलाई आफ्नो जीवन ‘पशुपतिनाथको कृपा’ जस्तो लाग्छ । छोरा सत्यजितका साथ मुम्बईवासी बनेका उनी भन्छन्, “दाम कमाएँ भन्दिनँ, मानिसहरूको मनमा बस्न सकें, यसैमा मलाई सन्तुष्टि छ ।”

अचेल उनलाई आफ्नो जीवन डेनीले गाएको यही गीत जस्तो लाग्छ । जसमा उनले धुन भरे र जीवन संगीनी कुसुमले शब्द कोरिन्:
जिन्दगीमा कस्तो दिन
कसरी झेले त्यस्तो दिन
सम्झिल्याउँदा मुटु पोलि आउँदछ ...

प्रतिकृया दिनुहोस