टिप्पणीशनिवार, फाल्गुण १९, २०७४

ढुंगा–माटोको गारोमा ढलानको बन्धन !

हिमालखबर

मिलन बगाले

विदेशी पैसा भित्रिएसँगै अनेकथरी प्रविधिको नाममा देशलाई खेल मैदान बनाइएको छ । थरीथरीका रंगीचंगी बोर्ड बलिया छन् कि सालका काठका पुराना फलेक ? कतिपय ठाउँमा छानो मात्रै हैन, जस्तापाताकै भित्तोको घर बनेका छन् ।

तस्वीरः मिलन बगाले

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा नाम परेका भूकम्पपीडितलाई घर बनाउन पहिलो किस्ता लिने म्याद पुस मसान्त तोकेसँगै देशैभर बर्खे च्याउसरी घरका जग उम्रिए ।

जग विषालु च्याउ जस्ता छन् कि बलिया छन्; इन्जिनियरहरूले छानबिन गरिरहेका होलान् भन्ने आश गरौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले जाँदाजाँदै म्याद तीन महीना थामिदिएकोले धेरैले राहत पनि मानेका होलान् । 

३१ जिल्लामा बनिरहेका अधिकांश घरको चित्र र प्रविधि प्रयोग चाहिं लगभग एउटै छ— दुईकोठे घरमा माटो जोडाइको ढुंगे गारो । अनि जग, कुर्सी सतह, झ्याल मुनिको सतह, झ्याल माथिको सतह, कुना बन्धन र गारो सकिएपछिको दलिनजस्तो बन्धनचाहिं डण्डी हालेर ढलानको बनाइएको छ । हेर्दा उदेक लाग्छ, ढुंगा–माटोको गारोमा ढलानको बन्धन !

१२ वैशाख २०७२ अघि यस्तो अनौठो प्रविधि कतै देखिएको, सुनिएको र जानिएको पनि थिएन । अहिले पनि मेरो मनमा बारम्बार प्रश्न उठिरहेछ– यो गर्न हुने, मिल्ने काम हो र ? यसरी घर भूकम्प प्रतिरोधी बन्छ ? सिमेन्ट–मसलाको ढुंगे गारो— सिमेन्टकै बन्धन, ढुंगा–माटोको गारो— काठको बन्धन हुनुपर्ने हैन र ?

उल्टो बाटो हिंड्ने रहर
ईंटाको गारो लगाउँदा सिमेन्ट मसलाको जोडाइ— सिमेन्ट, गिट्टी, बालुवा र रड हालिएको ढलानको बन्धन; माटो मसलाको जोडाइ— काठको बन्धनको चलन चल्नुपर्ने हो, चलिरहेकै पनि हो ।

भवन निर्माण विभागको डिजाइन सूची त्यसै भन्छ । मठ, मन्दिर, दरबार, घरबार पनि त्यसरी नै बनिरहेका हुन् । पहिला सिमेन्ट नभएकाले ईंटा–माटोको गारोमा काठको नसले बाँधेका हुन् भन्लान् भन्नेले, तर अहिले पनि सम्पदा पुनःनिर्माण ढलानका बन्धन हालेर गरिएको छैन ।

तिनको संरचनागत भार विश्लेषण गरेर मज्जाले बलियो पारेरै निर्माण गरिएको छ । स्ट्रक्चरल इन्जिनियरले भारको हिसाबकिताब गरेरै पुरानै शैलीमा काम गर्न लगाएका छन् । राम्ररी काठका नस हालिएका भवन कतै भत्केका पनि छैनन् ।

भवन निर्माण विभागले बनाएको गाउँको घरको डिजाइन सूची (क्याटलग) ले माटो जोडाइको गारो र ढलान बन्धनको घर बनाउनु भन्दैन, पुनःनिर्माण प्राधिकरणको जाँचपास फारमले चाहिं यस्ता घरलाई पास गरिदिनु भन्छ ।

बाधा–अड्काउ फुकाउन प्राधिकरणले बनाएको हाते पुस्तिकाले माटोको मसला लगाएर ढलानको बन्धन बनाउनु भनेर एकदमै प्रष्ट नलेखे पनि माटो जोडाइको ढुंगे गारोमा बनाइने ढलानका बन्धनको विस्तृतीकरण बनाइदिएर अनुदान फुकाउन, इन्जिनियरलाई जाँचपास गर्न सजिलै बनाइदिएको छ ।

भवन विभागको क्याटलगमा चारथरी प्रविधि प्रयोग गरिएका १७ थरी घरको नक्शा छ– माटो जोडाइको ढुंगे गारो र काठको बन्धन; सिमेन्ट जोडाइको ढुंगे गारो र ढलानको बन्धन; माटो जोडाइको ईंटाको गारो र काठको बन्धन; सिमेन्ट जोडाइको ईंटाको गारो र ढलानको बन्धन ।

यो सूची राष्ट्रिय भवन संहिता (२०३ र २०४) मै आधारित छ । अझ अनौठो, माटोको मसला हालिएको गारोलाई भित्र—बाहिर दुवैतिर सिमेन्ट प्लाष्टरले छोप्ने रे ! सिमेन्टको रहर गर्नेले ढुंगाको गारोमा सिमेन्टको मसला हालेर लिपपोतको कामचाहिं माटोको गरेको भए उचित हुन्थ्यो ।

रैथाने सीप मासेर उनीहरूलाई ठगिएको कि नयाँ प्रविधि सिकाएर उपकार गरिएको ? परम्परागत सीप सुधारेर नेपाली प्राविधिकबाटै निर्माण सम्बन्धी तालीम दिएर बलिया घर बनाउन लगाउनुको साटो अन्तकै सामग्री र प्रविधिलाई विस्तार गर्दा परम्परागत ज्ञान गुम्छ ।

यसो गर्दा गारोको आँत दह्रो हुन्थ्यो, लिपपोत स्थानीय चालचलन अनुसारको हुन्थ्यो । राम्रो र सस्तो दुवै हुन्थ्यो । उल्टो बाटो हिंड्ने रहर किन ? साझा जवाफ छ– वर्षैपिच्छे रातोमाटो लिप्ने र कमेरो छ्याप्ने हैरान कसले बेहोरोस् ?

भूकम्पपीडितको पैसो नरोक्न मात्र उल्टो घर पास गरिएको कि प्राविधिक रूपमा मिल्ने भएरै, र बलियो हुने भएरै हो ? यसबारे स्ट्रक्चरल इन्जिनियरहरूको बलियो, भरपर्दो र आशलाग्दो आवाज खासै सुन्न पाइएको छैन ।

कसैले स्वतन्त्र रूपमा बोलिदिए, लेखिदिए, अध्ययन–अनुसन्धान गरिदिए जाती हुन्थ्यो । माटो जोडाइको गारोमा ढलानको बन्धनको चलन इन्जिनियरहरूले चलाएका होइनन् ।

गाउँ–गाउँमा त्यसो गरेर भसक्कै घर बन्न थालेपछि अनुदानमा अप्ठेरो पर्ला भनेर आफैं अल्मलिने गोलमटोल निर्देशिका र हाते पुस्तिका बनेका छन्, बनाइएका छन् । यसो गर्दा बलियो हुन्छ भने पनि कसरी हुन्छ भनेर कोही बोलेका छैनन् ।

निर्माणका रोगी उपाय
सरकारले वैकल्पिक प्रविधि समेटिएका डिजाइन सूचीको दोस्रो भाग उहिल्यै तयार पारेको र पुनःनिर्माण प्राधिकरणले त्यसलाई पास गरेको छ । विभिन्न निकायले आफूले विकास गरेका थरीथरी प्रविधिको प्रचारप्रसार गरेका छन्, सोही अनुरूप घर बनाएर भूकम्पपीडितलाई दिएका पनि छन् ।

कागजमा काइदाका देखिएका, विभिन्न प्रक्रिया पार गरेर विभिन्न थरी विशेषज्ञहरूले जाँचेर पास भएका ती प्रविधि घर बनेर फिल्डमा उभिंदाको हालत कस्तो छ, कसैले सोधखोज गरेको देखिंदैन ।

कागजमा पास भएका ती प्रविधि अनुरूप घर बनाएर दिंदा भूकम्पपीडितको उपकार भएको छ कि बलियो घरभित्र बस्न पाउने उनीहरूको अधिकार हरिएको छ ?

विदेशी पैसा भित्रिएसँगै अनेकथरी प्रविधिको नाममा देशलाई खेल मैदान बनाइएको छ । थरीथरीका रंगीचंगी बोर्ड बलिया छन् कि सालका काठका पुराना फलेक ? कतिपय ठाउँमा छानो मात्रै हैन, जस्तापाताकै भित्तोको घर बनेका छन् ।

ढुंगामाटो फालाफाल भएको देशमा केही निर्माण सामग्री नपाएझैं बोरामा माटो भर्नु कति जरूरी हो ? वातावरणमैत्रीको जामा पहिर्‍याइएको माटोको ब्लक बलियो कि हाम्रो परम्परागत सीप मिसिएको काँचो ईंटा ?

ब्लकको प्रयोग बढ्दो छ । हेर्दा राम्रो र सर्लक्कको छ । यो बनाउँदा माटोमा बालुवा र सिमेन्ट मिसाउनुपर्छ । गारो लगाउँदा पनि सिमेन्ट मसला चाहिन्छ । यसलाई डण्डीको भाटामा उन्नुपर्छ । अनि हिसाबकिताब उही भएन ?

सिमेन्ट र डण्डी बनाउँदा धुवाँ निस्कन्न ? ईंटा पोल्दा भन्दा बढी धुवाँ निस्कन्छ । काठमाडौंको धुवाँ अन्त सरेपछि समाधान भयो र ? आकाशमा धुवाँ त घटेन नै, सिमेन्टको व्यापार पो फस्टायो । माटोले बन्ने चीजमा सिमेन्ट र बालुवाको व्यापार बाक्लोसँग घुस्यो । यो वैकल्पिक प्रविधिको सानो उदाहरण मात्रै हो ।

अरू धेरै प्रविधि भित्रिएका छन् । घर बनेका छन् । अहिलेलाई ठीकठाक छन् । ‘साइड इफेक्ट’ हेर्न पर्खनुपर्छ । नयाँनयाँ प्रविधि र घर बनाउने अनेक उपाय आउनुपर्छ । तर रोगी उपाय निकालेर भूकम्पपीडितलाई थप पीडित बनाउनु हुन्न । निरोगी उपाय पनि अनावश्यक महँगो बन्नुहुन्न ।

‘इन्जिनियरिङ हिसाबले ठग्नुपर्छ’
काँचो ईंटा र थरीथरीका टायल बनाउन, ढुंगा कुँद्न, स्लेट निकाल्न सिद्धहस्त हातहरू दाताले दिएको हेल्मेट र झ्ल्किे पोशाकमा अल्मलिएर अर्थोकै गरिरहे जस्ता देखिन्छन् ।

सबै आगोले पोल्न नपर्ने ईंटाजस्तै चीज पाइयो, हलुको बोर्ड पाइयो, जस्तापाताको भित्तो पाइयो, माटो भरेको बोरा पाइयो भनेर खुशी देखिन्छन् । उनीहरूले बनाइरहेका परम्परागत निर्माण सामग्रीभन्दा यो साँच्चै सस्तो, बलियो बन्यो त ? कि सिमेन्ट र डण्डीको व्यापार मात्रै फस्टायो ? सोधखोज गर्ने कसले ?

रैथाने सीप मासेर उनीहरूलाई ठगिएको कि नयाँ प्रविधि सिकाएर उपकार गरिएको ? परम्परागत सीप सुधारेर नेपाली प्राविधिकबाटै निर्माण सम्बन्धी तालीम दिएर बलिया घर बनाउन लगाउनुको साटो अन्तकै सामग्री र प्रविधिलाई विस्तार गर्दा परम्परागत ज्ञान गुम्छ ।

केही महीना या वर्षको काम सकिएपछि वैकल्पिक प्रविधिका कच्चा खेलाडीहरू आफ्ना झेला बोकेर अर्कै देशतिर लाग्छन् अनि नेपाली निर्माणकर्मी यता न उताका हुनेछन् । न आफ्नो परम्परागत सीप बाँच्यो, न परम्परागत सीपमा सुधारका उपाय सिक्न सकियो । न त अर्काले लामो समय गरिखाने राजमार्ग नै दियो ।

इन्जिनियरिङ मिसिएको जालझेलको जालो असाध्यै धेरै छ । अलि मसिनोसँग हेर्ने हो भने केही कुरा अहिल्यै देखिन्छ, केही चाहिं ३०—४० वर्षपछि बुझिनेछ ।

२०७२ सालको महाभूकम्पभन्दा केही वर्षअघि प्रसारण भएको मदनबहादुर–हरिबहादुर टेलिसिरियलका इन्जिनियरले ‘गाउँलेलाई इन्जिनियरिङ हिसाबले ठग्नुपर्छ’ भनेका थिए । अहिले देशमा त्यस्तै पो भइरहेको छ कि ?

रैथाने सीप मासेर, झिल्के प्रविधिमा झुलाएर, जान–अन्जानमा कच्ची घर बनाएर जीवनयापनको चक्रमा खलल पुर्‍याउने काम नहोस् भन्नका लागि अब भूकम्पपीडित स्वयं जागरुक हुनुपर्छ । प्राविधिक उल्झनमा नअल्झी/नअल्झाई स्थानीय सीपमा सुधारसहित पुनःनिर्माणमा हातेमालो गर्ने सबैको जय होस् !

प्रतिकृया दिनुहोस