बक्यौता नतिर्ने सरकारी कार्यालयको लाइन काटियो
नेपाल विद्युत् प्राधिकरण इलामले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सरकारी कार्यालयको लाइन काट्न थालेको छ ।
तीन महिनाभन्दा लामो समयसम्म विद्युत् महशुल नतिर्ने मालपोत कार्यालय, आदर्श मावि र घरेलु तथा साना उद्योग विकास समितिको लाइन काटिएको प्राधिकरणका इलेक्ट्रिक सुपरभाइजर तारा एक्तेनले जानकारी दिए ।
सबैभन्दा बढी इलाम नगरपालिकाको शीतभण्डारले रु सात लाख २८ हजार बक्यौता तिरेको छैन ।
त्यसैगरी मालपोत कार्यालयको रु ५९ हजार ९५१, आदर्श माविको रु २० हजार ५००, घरेलु तथा साना उद्योग विकास समितिको रु १० हजार ९६७ विद्युत् महशुल तिर्न बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ ।
साउन यता बक्यौता रहेको इलाम, सूर्योदय, देउमाई नगरपालिका र सन्दकपुर गाँउपालिकाका ३७४ जना ग्राहकको समेत लाइन काटिएको छ । रासस