सम्पादकीयआइतवार, फाल्गुण १३, २०७४

जनमतले गराएको एकता

किरण नेपाल

कांग्रेस सँगसँगै मध्यमार्गमा रहने प्रस्तावित नेकपाका लागि लोकतान्त्रिक राजनीतिको परिधिभित्र आफ्नो विशिष्टता स्थापित गर्न सिद्धान्त भन्दा शासकीय प्रस्तुति निर्णायक हुने देखिन्छ।

६८औं प्रजातन्त्र दिवसकै दिन मुलुकका दुई प्रमुख कम्युनिष्ट पार्टी– नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकताको प्रारम्भिक सहमति भयो ।

७ फागुनको सहमतिमा एकतापश्चात् पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने; निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुने; अहिलेसम्मका उपलब्धिहरूको रक्षासँगै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक–आर्थिक रूपान्तरणमार्फत समाजवादको आधार निर्माण गर्नमा पार्टीलाई केन्द्रित गर्नेलगायतका सात बुँदा छन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा अप्रत्याशित रूपमा चुनावी तालमेल गरेका दुवै दलले निर्वाचनलगत्तै एकता गर्ने घोषणा गरेका थिए । पछिल्लो सहमतिसँगै दुवै पार्टी निर्वाचन अगाडिको घोषणा कार्यान्वयनको चरणमा प्रवेश गरेका हुन् ।

एकताको प्रारम्भिक सहमतिसँगै एकीकृत पार्टीको नीति, विधान र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई वटा कार्यदल बनाइएको छ । एकता प्रक्रियालाई तीव्रता दिन एमालेले आफ्ना जनवर्गीय संगठनसँगै पार्टीका विभिन्न तहको अधिवेशन गर्न रोक लगाएको छ ।

आधिकारिक घोषणा भइनसके पनि राष्ट्रपति र प्रतिनिधिसभाको सभामुखको निर्वाचन सँगसँगै सरकारले पूर्णता पाइसकेपछि संभवतः मध्य चैतसम्म दुवै पार्टी एकीकृत पार्टीको रूपमा निर्वाचन आयोगमा दर्ता हुनेछन् । दुवै पार्टीका अध्यक्षको संयुक्त नेतृत्व रहने गरी एउटै केन्द्रीय कमिटी बनाएर एकता महाधिवेशनसम्म पुग्ने निश्चित जस्तो भएको छ ।

दलगत राजनीतिको स्वाभाविक पक्ष हो– फुट र जुट । राजनीतिक सिद्धान्त, नीति, कार्यक्रमका आधारमा दलहरूको जीवनमा फुट र जुट आइरहन्छ । नेपालका कम्युनिष्ट पार्टीहरूको सन्दर्भमा त यीभन्दा अस्वाभाविक कारणहरूले पनि फुट वा जुटमा भूमिका खेलेको इतिहास छ, भलै त्यसमा पनि सैद्धान्तिक लेपन गरिएको किन नहोस् !

प्रस्तावित नेकपालाई राष्ट्रिय राजनीतिको मुख्य धार बन्ने र आफूलाई प्रजातन्त्रको पहरेदार मान्ने नेपाली कांग्रेसको दीर्घकालीन विकल्पका रूपमा स्थापित हुने सुखद् संयोग पनि जुरेको छ– जनताले सत्ता चलाउन पठाएका कारण ।

निर्दलीय पञ्चायत विरोधी संघर्षकै दौरानमा पनि कम्युनिष्ट पार्टीहरूबीच अनेकन् फुट र जुट भएका दृष्टान्त छन् । पञ्चायती व्यवस्थाप्रति समान दृष्टिकोण रहेका नेपाली ‘कम्युनिष्ट’ हरू मुख्यतः नेतृत्वको हानथाप, कम्युनिज्मबारे विश्वमा आएका विभिन्न उभारका चरित्रलाई लिएर अनेकन् धारमा फुट्दै–जुट्दै संघर्षरत रहे ।

२०४६ सालको अन्त्यमा भएको पञ्चायत विरुद्धको अन्तिम संघर्षमा भने नेपाली कम्युनिष्टहरूमा सत्ता प्राप्तिका लागि स्पष्टतः दुई धार देखियो– शान्तिपूर्ण र हिंसात्मक । पहिलो धारमा नेकपाका संस्थापक पुष्पलालको विचार अनुसरण गर्दै खुला राजनीतिमा रहेकाहरू र छोटो समय हिंसा अपनाएर तत्कालै सच्चिंदै शान्तिपूर्ण भूमिगत राजनीति गर्दै आएकाहरू बीचको एकताबाट बनेको नेकपा (एमाले) मुख्य रह्यो ।

त्यस्तै, सत्ता प्राप्तिका लागि हिंसा नै अपरिहार्य रहेकोमा विश्वस्तहरू एक भएर बनेको– नेकपा (माओवादी) अर्को प्रमुख धार देखियो । उसले एक दशकसम्म हिंसात्मक विद्रोहको असफल प्रयोग गर्‍यो पनि ।

अहिले नेपाली कम्युनिष्टहरूको ठूलो हिस्सा बहुदलीय लोकतान्त्रिक राजनीतिको परिधिभित्र आइसकेको छ । जसमध्येको– एमाले र माओवादीबीचको एकताको प्रारम्भिक सहमतिले राष्ट्रिय राजनीतिलाई तरंगित पारेको छ ।

हाम्रो बुझाइमा, नेपाली कम्युनिष्ट आन्दोलनभित्रको मुख्य दुई धार– शान्तिपूर्ण र हिंसात्मकमध्ये पहिलोले गत सात दशकदेखि नै यहाँको वाम राजनीतिमा ‘प्रिभेल’ गरिरहेको छ । कम्युनिष्टहरूको शान्तिपूर्ण संघर्षले सफलता त पाइरहेको छ, तर समतामूलक समाज प्राप्तिको सवाल भने आकांक्षामा सीमित हुँदै आएको छ ।

अहिले दुई प्रमुख ‘कम्युनिष्ट’ घटकबीचको एकता सुनिश्चित गर्ने दस्तावेजमा पनि ‘प्राप्त उपलब्धिहरूको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै...’ भन्ने बुँदामा त्यसतर्फको प्रतिबद्धता झल्किएको छ ।

व्यवहारमा हेर्न बाँकी छ– एकतापछिको पार्टीको प्रस्तुति नेपाली भूमिमै बसेर शान्तिपूर्ण राजनीति गर्नेहरूले अपनाएको तथा प्रजातन्त्रको कसीमा खरो उत्रिएको मान्यता अनुकूल हुन्छ वा विदेशी भूमिबाट स्वदेशमा हिंसा मच्चाएर प्राप्त राजनीतिक बल अनुरूप ।

हाम्रो बुझाइमा भने प्रस्तावित नेकपाको राजनीतिको स्व झण्डै चार दशकको शान्तिपूर्ण राजनीति र तीन दशक लामो प्रतिस्पर्धात्मक राजनीतिबाट प्राप्त अनुभवजन्य पूँजीमै निहित छ । फेरि वाम गठबन्धनको चुनावी तालमेल र पार्टी एकताको प्रतिबद्धताले निर्वाचनमार्फत जनअनुमोदन पनि पाएबाट प्रस्तावित नेकपाको राजनीतिले लोकतन्त्रको हर मर्यादा पालना नगर्ने भन्ने हुँदैन ।

प्रस्तावित नेकपालाई राष्ट्रिय राजनीतिको मुख्य धार बन्ने र आफूलाई प्रजातन्त्रको पहरेदार मान्ने नेपाली कांग्रेसको दीर्घकालीन विकल्पका रूपमा स्थापित हुने सुखद् संयोग पनि जुरेको छ– जनताले सत्ता चलाउन पठाएका कारण । सत्ता– तेस्रो विश्वका दलहरूको राजनीतिका लागि अवसर र अभिशाप दुवै हुँदै आएको छ ।

आवधिक निर्वाचनमा जानुपर्ने भएकाले सत्ता सञ्चालनको तौरतरिका दलहरूको राजनीतिक भविष्यको कडी रहँदै आएको छ । नेपालमा त कांग्रेस सँगसँगै मध्यमार्गमा रहने प्रस्तावित नेकपाका लागि लोकतान्त्रिक राजनीतिको परिधिभित्र आफ्नो विशिष्टता स्थापित गर्न सिद्धान्त भन्दा शासकीय प्रस्तुति निर्णायक रहने देखिन्छ ।

झण्डै सात दशकसम्म विभिन्न चिरामा विभक्त हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीलाई एक बनाउने दिशामा पछिल्लो एकता, यी दुई दलका लागि मात्र नभएर राष्ट्रिय राजनीतिको लागि समेत महत्वपूर्ण छ ।

त्यो किन पनि भने सात दशकदेखि प्रजातान्त्रिक आन्दोलनमा रहेको नेपाली कांग्रेस र त्यही आन्दोलनभित्रै रहेर सत्ता संचालक बन्न सफल प्रस्तावित नेकपाको राजनीतिबीचको घर्षणमा नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको भविष्य निहित छ ।

प्रतिकृया दिनुहोस