कला/साहित्यशनिवार, फाल्गुण १२, २०७४

गुमनाम ‘रकस्टार’

रविन गिरी

१८ वर्षअघि ‘हेडब्याङ्गिङ’ गर्दै स्टेज तताएकी ‘रकस्टार’ को अहिलेको चिनारी हो– मेजर डा. पुनम सिंह ।

सन् २००० को पूर्वाद्र्ध, टेलिभिजन स्क्रिनमा अचानक एउटी यस्ती केटी देखिइन्, जसलाई हेरेर अधिकांश दर्शक चकित भए । नहोस् पनि कसरी, रक म्युजिसियनसँग ‘ज्याम अप’ र बेपर्वाह ‘हेडब्याङ्गिङ’ गर्दै गाइरहेकी यस्ती नेपाली केटी टेलिभिजनले त्यसअघि कहिल्यै देखाएकै थिएन ।

इलेक्ट्रिक गिटार र ड्रमको चर्को ढुक् ढुक् ध्वनिसँगै स्क्रिनमा स्टेजमा उफ्रिरहेकी ती केटी देखिन्थ्यो, स्वर सुनिनुअघि अंग्रेजीमा यस्तो जानकारी लेखिएको थियोः

मनमा एउटा... (फेथलेस)

पुनम सिंह

फेथलेस अल्बमका गीत र अझ त्यो म्युजिक भिडियोले एकाएक तरंग ल्यायो । पुनमबारे सोधीखोजी हुन थाल्यो, उनको अचम्मको प्रस्तुतिबारे हल्लीखल्ली हुन थाल्यो । त्यतिबेलाको चर्चित कबवेब ब्याण्डसँगको उनको सहकार्यले थप गति पायो । स्टेजमा उनको माग हुन थाल्यो । देशका विभिन्न शहरहरूमा पुनमको रक प्रस्तुति गुञ्जिन थाल्यो ।

त्यसको दुई वर्षपछि पुनमको अर्को अल्बम निस्कियो, एक्सपिरियन्स पुनम सिंह । त्यस अल्बमको गीत भनूँ के म तिमीलाई को भिडियोले पनि उत्तिकै चर्चा बटुल्यो । पुनमको प्रस्तुतिमा पनि परिपक्वता थपियो । नेपाली रकपपमा सुक्मित गुरुङ, निशा थापा, सपना प्रधान, प्रीति कौर जस्ता थोरै नाममा पुनम नयाँ परिचय लिएर आइन् ।

“रेस्टुरेन्टमा, अल्बममा रक–पप गीत गाउने केही महिला नभएका होइनन्, तर स्टेज प्रस्तुतिका हिसाबले पुनम सिंहजस्तो त्यसबेलासम्म कोही थिएन, उनी रातारात रकस्टार बनिन्”, नब्बेको दशकमा चर्चित वाइपास ब्याण्डका सदस्य सिर्जन नेपाल भन्छन् ।

तर, अचानक आएकी पुनम अचानकै हराइन् । न उनको तेस्रो अल्बम निस्कियो, न त कुनै नयाँ गीत । महीना, वर्ष बित्यो, तर; स्टेज थर्काउने पुनम भेटिइनन् । १८ वर्षअघि उनको गीत सुनेकाहरू पटकपटक मनैमनमा प्रश्न गर्थे, ‘कहाँ गई त्यो केटी ?’
...

सम्पर्क स्थान थियो, काठमाडौंको सानोभर्‍याङस्थित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र सूचना स्रोत यूट्यूबको प्रतिक्रिया (जहाँ एक विद्यार्थीले उहाँले अहिले आफूहरुलाई एनाटोमी पढाइरहेको लेखेका थिए ।)

प्रतिष्ठानको एउटा कुनाको कोठामा पुग्दा सबैभन्दा पहिले मानव खप्परले स्वागत गर्‍यो । झल्यास्स पार्ने त्यो खप्पर, तन्तुविज्ञानको मोटो पुस्तक ।

‘नमस्ते म पुनम’ ।

तस्वीरः गोपेन राई

झल्को उही पुनमकै थियो । तर, बाँकी सबै फेरिएको । सेनानी डा. पुनम सिंह– उनको अहिलेको परिचय हो । प्रतिष्ठानका एमबीबीएस र नर्सिङ विषयका विद्यार्थीका लागि उनी शरीर विज्ञानकी गुरुआमा पनि हुन् ।

पेशाका हिसाबले उनको कोठामा अस्थिपञ्जरका अवशेष भेटिनु अस्वाभाविक होइन । तर, उनलाई गिटारसँग झुमेको देख्नेहरूका लागि भने यो दृश्य फरक थियो । किनकि पुनमको पहिलो परिचय ‘रकस्टार’ थियो र अनि पहिलो प्रेम, संगीत ।

साथीका दाजु थिए, सिद्धार्थ धाख्वा । उनै धाख्वाको साथ लागेर पुनमले पहिलो पटक पुतलीसडकमा रहेको डिजिटल सान्तना रेकर्डस्मा कबवेब का लिड भोकलिष्ट दिवेश मुल्मीसँग भेटेकी थिइन् ।

कबवेबकै शैलीको रक–पप गाउन सक्छु भन्ने आत्मविश्वास सुन्दा पहिले त मुल्मीले पत्याएनन् । तर, पुनमको स्वर सुनेपछि उनको अन्योल हट्यो । मुल्मीको हौसला र पुनमको दुस्साहसकै उपज थियो, फेथलेस, जुन सन् २००० जनवरी ८ मा बजारमा आएको थियो ।

“शुरुमा दुईवटा गीत रेकर्ड गर्‍यौं, सबैले मन पराएपछि अल्बम नै किन नगर्ने भन्ने विचार आयो” १९ वर्षअघिका दिनहरू स्मरण गर्दै मुल्मी भन्छन्, “हामी आफैंलाई छाप छाड्न गाह्रो भइरहेको बेला छोरीमान्छेले गरेको त्यो आँट र पाएको प्रतिक्रिया गजबको थियो ।”

पुनमका दुवै अल्बमका अधिकांश गीत रचना मुल्मी र संगीत संयोजन कबवेब ले नै गरेको थियो । यसबाहेक पुनमले कमलमान सिंहको अल्बममा मान्दैन मन किन र हेटौंडाको द सिजन्स ब्याण्ड सँग अर्को गीत पनि गाइन् ।
...

पुख्र्यौली बैतडी तर हेटौंडामा लामो समय बसेका इन्जिनियर पूर्णबहादुर–किशोरी सिंहकी छोरी पुनम काठमाडौंको लिटल एञ्जल्स् स्कूलमा पढ्दाताका नै गुन्गुनाउँथिन् । स्कूलमै संगीतको सामान्य ज्ञान लिएकी उनी कार्यक्रमहरूमा गीत सुनाउनु परे प्राथमिकतामा पर्थिन् ।

कलेज समय मोर्डन इन्डियन स्कूलमा पनि यसले निरन्तरता पायो । “आमा साह्रै मीठो गरी गाउनुहुन्थ्यो, भाइबहिनी पनि गाउने, त्यसैले पनि प्रेरित गरेको हुनुपर्छ”, पुनम भन्छिन् । कतिसम्म भने छोरीलाई सके कलेज–घर, घर–कलेजमा मात्र सीमित राख्ने जमानामा आमा किशोरी पुनमको साथ लागेर रेकर्डिङ स्टुडियो समेत पुग्थिन् ।

आफूलाई कुनै नौलो गरेको जस्तो नलागे पनि प्लस टु पढ्दापढ्दै निस्किएको पहिलो अल्बमपछि पुनमले नसोचेको, नचिताएको प्रतिक्रिया पाइन् । कतिले उनलाई नेपालको पहिलो महिला रकस्टार भने त कतिले बिग्रिएकी केटी । तर, परिवारको विश्वासले उनलाई डगमगाउन दिएन ।

अल्बम निस्किएको एक वर्षपछि पुनम एमबीबीएस पढ्न चीन पुगिन् । तर, चिकित्सा विज्ञानको गहन अध्ययनमा पनि संगीतको संसर्ग टुटेन । एमबीबीएस दोस्रो वर्षमा छँदा दोस्रो अल्बम निकालिन् । हङकङ पुगेर गाइन् पनि । त्यसको एक वर्षपछि तेस्रो अल्बमको तयारीका क्रममा चारवटा जति गीत रेकर्ड पनि गराइन् । तर, यहाँनेर भने आजीविकाले अनुरागलाई जित्यो । अल्बम निस्किएन ।

सन् २००६ मा एमबीबीएस सिध्याएर धुलिखेल अस्पतालमा काम गरेकी उनले २००८ मा आएर सैनिक बन्ने निर्णय गरिन् । कलिलैमा रक गाउनुपछिको यो उनको दोस्रो ‘बोल्ड’ निर्णय थियो । किन पनि भने, ठकुरी सिंह परिवारमा जन्मिए पनि उनको आफ्नै परिवारमा भने कोही सेना थिएनन् । “खै के भयो, सेना मलाई ‘सुट’ हुन्छ जस्तो लाग्यो, मेडिकल अफिसरका रुपमा छानिएँ”, उनी सुनाउँछिन् ।

यसबीचमा सेनामै रहेका डा. नविन फुँयालसँग उनले विवाह गरिन् । जेठी छोरी जन्मिएपछि घरमा समय दिनकै लागि ‘बेसिक साइन्स’ पढ्न भारत गइन् । सेनाको कामको प्रकृति, अनुशासन र परिवारको जिम्मेवारीले संगीतले प्राथमिकता पाएन । “संगीत मेरा लागि प्यासन थियो, प्रोफेसन थिएन” पुनम भन्छिन्, “त्यसैले पनि भरे, भोलि भन्दाभन्दै त्यो छुटेर गयो, अहिलेसम्म ।”

तर, संगीतले उनलाई छाडेन । उबेलाको पुनमको प्रस्तुति देखे, सुनेका मात्र होइनन्; यूट्यूबमा अपलोड उनका भिडियो हेरेका नयाँ पुस्ताले पनि पुनमलाई बिर्सिसकेका रहेनछन् । यूट्यूबका प्रतिक्रियाले त्यही भन्छ ।

पुनम स्वयंलाई पनि ती दिन फर्काउन मन लाग्छ । प्रशंसकका शुभेच्छाले उनलाई केही गरिहालुँ भन्ने हुटहुटी पनि नजगाउने होइन । श्रीमान् पनि सहयोगी छन् । तर, १० महीनाकी कान्छी छोरी अलि हुर्कियोस् भन्ने उनलाई लागेको छ । “बेला–बेला सम्झनाले हुरुक्कै हुन्छु, तर यसको अर्थ पछुतो छ भन्ने होइन” उनी भन्छिन्, “केही समयपछि फेरि गाउँछु भन्ने विश्वास कहिल्यै मरेको छैन ।”

झण्डै दुई दशकअघिकी ‘रकस्टार’ पुनम सिंह सेनानी र चिकित्सक चिनारीसहित भेटिइन् । तर, वास्तविक अर्थमा उनी त्यो दिन मात्र भेटिनेछिन्, जुन दिन श्रोताका कानमा उनको नयाँ गीत गुञ्जिनेछ ।

पूनम सिंहका गीतहरु

 

 

प्रतिकृया दिनुहोस