महाशाखालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउनै सकस
जनचेतनाको अभावका कारण स्वास्थ्य मन्त्रालय अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सकस भएको छ ।
हात्तीपाइले रोगको औषधिले पार्ने असरका बारेमा फैलिएको भ्रम चिर्न नसक्दा महाशाखालाई औषधि खुवाउन चुनौतीपूर्ण बनेको हो ।
काठमाडौंमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै महाशाखाका निर्देशक डा. भीम आचार्यले शहरी क्षेत्रहरुमै हात्तीपाइलेको औषधिबारे भ्रम रहेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै उनले भने– “नाम चलेका ठूला स्कूलमा मात्रै हैन, सुरक्षा निकायहरुलाई पनि औषधि खुवाउन समस्या भइरहेको छ ।”
यसअघि हात्तिपाइलेको औषधि खुवाउन प्रहरी र सेनाको ब्यारेकमा पुगेको महाशाखाकाे टोली खाली हात फर्किएको थियो ।
सेना तथा प्रहरीलाई औषधि खुवाउन आग्रह गर्दै महाशाखाले रक्षा र गृह मन्त्रालयलाई २८ माघमा पत्राचार गरेपछि १२ देखि १४ फागुनमा औषधि खुवाउने कार्यक्रम रहेको छ ।
महाशाखाका अनुसार हात्तीपाइले मानिसलाई शारीरिक रुपमा अशक्त र अपाङ्ग बनाउने सरुवा रोग हो ।
धागो आकारको जुका जस्तै परजीविका कारण लाग्ने यो रोग संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्छ ।
महाशाखाले आम नागरिकलाई वर्षको एक पटकका दरले ६ वर्षसम्म हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्न आग्रह गरेको छ ।
महाशाखाले यही १२, १३ र १४ फागुनमा २४ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउँदै छ ।
यो वर्ष पाँचथर, इलाम, झापा, भोजपुर, धनकुटा मोरङ, उदयपुर, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दैलेख, दाङ, बाँके, बर्दिया, बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, दार्चुला, बैतडी डडेलधुरा र कञ्चनपुरमा औषधि खुवाइने महाशाखाले जनाएको छ ।
त्यस्तै दुई वर्ष उमेर नपुगेका बालबालबालिका, गर्भवती र सात दिनभित्रका सुत्केरीहरुले यो औषधि सेवन गर्न नहुने महाशाखाले जनाएको छ ।