ब्लगशनिवार, आश्विन १५, २०७३

'माधवी' को महिमा

कमलमणि दीक्षित

'माधवी' उपन्यास या आख्यान लेख्नेहरूका लागि एउटा पाठ्यपुस्तक पनि हो।

यस स्तम्भमा हामीले यसअघि दुइटा उपन्यासको चर्चा गरिसकेका छौं– रुद्रराज पाण्डेको 'रूपमती' र गिरीशवल्लभ जोशीको 'वीरचरित्र' को। आज अर्को उपन्यास अगाडि सरेको छ, मदनमणि दीक्षितको प्राग्–इतिहासकालीन 'माधवी'।

'माधवी' पौराणिक कथा हो। त्यस हिसाबले यो हामीहरूका लागि नौलो पुस्तक होइन। चिरञ्जीवी पौड्यालको भागवत, ('सुखार्णव') लाई नगन्दा पनि विष्णुचरण श्रेष्ठ या शिवप्रताप थापाका पौराणिक आख्यान उपाख्यानहरू हामीले पाएकै हौं।

पछि विनोदप्रसाद धितालको 'योजनगन्धा' ले त मदन पुरस्कार पनि पाएको हो। त्यस हिसाबले विचार गर्दा यहाँ 'माधवी' नै किन छानियो भन्ने खुलासा दिनुपर्छ मैले पैले। मेरो हिसाबले नेपाली उपन्यासको फाँटमा 'माधवी' एउटा कोसेढुङ्गा हो र हाम्रो 'पुस्तक सम्पदा' को एउटा रत्न पनि। 

भनूँ भने, 'माधवी' ले उपन्यास कसरी लेख्नुपर्छ, लेख्नुअघि विषयवस्तुमा कति शोध–खोज गर्नुपर्छ भनेर देखाइदिएको छ केही नभनेरै पनि। मदनमणिजीको विद्यार्थी जीवनका अमूल्य तीस वर्ष मात्र होइन, त्यसपछिका अरू तीस वर्ष जति, उहाँको निरन्तरको अध्ययनशीलता समेत जोड्दा, झण्डै साठी वर्ष लगानी भएको देखिन्छ 'माधवी' मा।

सबैले साठी वर्ष लगाउन सक्दैनन् एउटा उपन्यास लेख्न, तर लेख्नेले केही समय त विषयवस्तुको अध्ययनमा लगाउनै पर्छ भन्ने सन्देश दिन्छ 'माधवी' ले।

हाम्रा वेद, पुराणहरूको सूक्ष्म परिशीलन छ, यसमा। वैदिक ऋषि नै हुन् गालव, विश्वामित्रहरू। तिनै फेरि हाम्रा पुराण, भागवत, महाभारतमा पनि छाउँछन्।

वेद र पुराणहरूका कथा जोडेर निर्माण गर्नुभएको छ 'माधवी' मदनमणिजीले, आधुनिक मन–मस्तिष्कले समेत स्वीकार्न सक्ने गरी रोचक बनाएर। उत्तर भारत र दक्षिण नेपालका भूभाग समेटिएका छन् उपन्यासमा। लेखक आफैंले नटेकी नदेखी त्यति स्वाभाविक वर्णन गर्न सक्दैन कुनै स्थानको।

'माधवी' को काशी प्रयाग वरपरका क्षेत्र, गण्डकी उपत्यका अथवा चूरे भावर इलाका घुम्न जाँदा आज पनि ठम्याउन सकिन्छ 'माधवी' को आख्यान–क्षेत्र र अपत्यारिलो लाग्दैन।

माथि हामीले अलि अतिशयोक्तिपूर्वक 'माधवी' लेखेर तयार पार्न मदनमणिजीको साठी वर्षको श्रम लागेको छ भने तापनि सत्य के हो भने उहाँलाई यो लेखेर पूरा गर्न पुग–न–पुग दश वर्ष लागेकै हो।

अध्ययन गर्दै, लेख्दै गर्दा कति पटक त उहाँले कतिपय परिच्छेदहरू नै फालेर पुनर्लेखन गर्नु परेको थियो भनिन्छ। आफूले लेखेको कुरा आफैं पढेर दोहोर्‍याउने मात्र होइन, मदनमणिजी ती कुरा सस्वर वाचेर भेट्न आएकाहरूलाई सुनाउनुहुन्थ्यो र सल्लाह लिनुहुन्थ्यो।

त्यस्तो सौभाग्य मैले पनि पाएको छु। लेखेका कुरा पढ्दा मार्मिक स्थानहरूमा भावुक भएर उहाँको गला अवरुद्ध भएको अनि झर्झरी आँसु झरेको प्रत्यक्ष देखेको छु।

मदनमणिजीका साना–ठूला गरी तीन दर्जन कृतिहरू छन् एकसेएक विद्वत्तापूर्ण। प्राग्–ऐतिहासिक अर्थात् वैदिककालको यति सूक्ष्म र गहन ज्ञान राख्ने साहित्यकार नेपाली भाषामा अर्को छैन। उहाँकै कृतिको लेखाजोखा गर्ने हो भने 'माधवी' लाई उछिन्ने कृति लेख्न सक्नुभएको छैन।

'माधवी' भन्दा वजनदार उपन्यास दिन्छु भनी वैदिक भारतका ठूला ऋषि विश्वामित्रबारे लेख्नुभएको कृति पनि त्यति माथि पुग्न सकेन। आफ्नै तपोबलका आधारमा 'महर्षि' बाट 'ब्रह्मर्षि' हुनपुगेका ती ऋषि, विश्वामित्रको जीवनीमा आधारित पुस्तक लेख्न थाल्नुभएको थियो, उहाँ।

त्यसलाई अझ् आधिकारिक बनाउन शोधखोज गर्न भनी उहाँले ६ महीना जति पूना विश्वविद्यालयमा अध्ययन गर्नुभयो। फलस्वरूप निस्क्यो उहाँको अर्को बृहदाकार उपन्यास 'भूमिसूक्त'। तर समीक्षकहरूले भनिदिए– 'अत्यन्त विद्वत्तापूर्ण भए तापनि यसले 'माधवी' को उच्चतालाई छुँदैन।”

त्यसै 'उच्चता' का लागि २०३९ सालको मदन पुरस्कार पाएको थियो 'माधवी' ले। त्यस समारोहमा वयोवृद्ध विद्वान खड्गमान मल्लले भन्नुभएको थियो, “विद्वान मदनमणिजीले भर्खरै माधवीलाई नेपाली वाणी सरस्वतीको प्रतीक बनाएर बोल्नुभयो।

त्यही सन्दर्भमा हामी पनि आज ऐले मदनमणिज्यूलाई नेपाली लेखकहरूको प्रतीक मान्न सक्दछौं। त्यस्ता पच्चीस सय 'मदन' हरूको पौरख बखान्ने 'मदन पौरख'... को बिक्री–वितरणको शुभारम्भ नेपाली भाषाभाषीले आमा जगदम्बा मानेका सन्माननीया रानीसाहेबका करकमलबाट हुनु सारै सार्थक छ भन्ने मेरो धारणा छ।”

त्यसअघि आफ्नो उद्गार पोख्दा मदनमणिजी स्वयम्ले माधवीलाई सम्बोधन गर्दै यसो भन्नुभएको थियो, “... देवी माधवी! मदन पुरस्कारद्वारा तिमी पुरस्कृत भयौ। तिम्रो द्विरागमन सम्पन्न भयो। तिम्रो इतिहास फर्केर आएको छ बढी फराकिलो, बढी जिउँदो, बढी मानवतावादी भएर।...

मलाई थाहा छैन देवी माधवी, तिमी के भाषा बोल्थ्यौ, तर तिम्रो जीवनले यो मेरो नेपाली भाषामा थप पूर्णता र बढी परिपूर्ति पायो। त्यो परिपूर्ति नभएको भए तिमी पुरस्कृत पनि हुने थिइनौ र एउटा ठूलो राष्ट्रिय सन्मानबाट बञ्चित हुनेथियौ। तिम्रो यो सन्मानले आज व्यास नै कति प्रसन्न भए होलान्, मेरो त के कुरा!

तिम्रो समयमा मुद्रा थिएन, देवी–मन्त्र र माला थिए। त्यस कारण आजको यो पुरस्कारको राशिलाई भन्दा पनि साथको यो दियोको प्रकाशलाई हेर। आफ्नो अहोमस्मिको म प्राण हुँ, म मानिस हुँ भन्ने मूलमन्त्रलाई सार्थक तुल्याउन नेपाली वाङ्मयको अझ् बढी सम्बर्द्धनको निम्ति यो पुरस्कारलाई, यो दीपशिखालाई न्याय विवेकका दृष्टिले हेरेर ग्रहण गर अनि झन् सुन्दरी, झन् विदूषी, झन् आत्मनिष्ठ, आत्मनिग्रही, झन् उज्याली र शब्द–कर्म समन्वयी भएर नेपाली वाङ्मयको अभिवृद्धिका लागि हरेक वर्ष आऊ यसै गरी पुरस्कार र दीपशिखा ग्रहण गर्दै नेपाली लेखनीको सरस्वती रूपको सम्बर्द्धन गर, देवी!”

मदनमणिजीले आफ्नो प्रवचनका क्रममा अझ् यसो पनि भन्नुभएको थियो त्यस दिन, “...व्यासकी माधवी, तिमी हजारौं वर्षपछि अहिले मात्र पुरस्कृत भयौ किनभने तिमीले वरुणावलिमा अब कुनै शिशुलाई अर्पित गर्नुपर्ने छैन, घोडाहरूसँग साटिनुपर्ने छैन, नियोगका निम्ति विश्वामित्रको आदेश पालन गरेर प्रमतकलाई स्वागत गर्नुपर्ने छैन र आफूले उनेको मालामा गालवका फूलका लागि ठाउँ छाड्दै जानुपर्ने छैन।”

यसरी हेर्दा 'माधवी' ले त हाम्रो 'पुस्तक–सम्पदा' मा स्थान आफू जन्मँदै सुरक्षित गरिसकेको भान हुन्छ!

प्रतिकृया दिनुहोस