रिपोर्टशुक्रवार, फाल्गुण ४, २०७४

रेमिटेन्स कम्पनी: नगद पठाउने भरपर्दो माध्यम

मस्त केसी

विदेशमा कमाएको पैसा स्वदेश पठाउन मात्र नभई देशभित्रै पनि एकबाट अर्को स्थानमा नगद पठाउन भरपर्दो माध्यम बनेका छन्, रेमिटेन्स कम्पनीहरू।

आईएमईको प्रधान कार्यालय, पानीपोखरी, काठमाडौं । तस्वीर: गोपेन राई

नेपाल राष्ट्र ब्यांकको हालैको तथ्यांकअनुसार मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिटेन्स प्रवाह ओरालो लागेको छ । चालू आर्थिक वर्षको पहिलो चार महीनाको रेमिटेन्स आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले ओरालो लाग्यो ।

वैदेशिक रोजगारीमा जानेको संख्या घटेसँगै रेमिटेन्स वृद्धिदर कम भइरहेकोमा यो वर्ष रेमिटेन्स रकम नै घट्दो छ । दुईदशकयता अर्थतन्त्रलाई चलायमान गराइरहेको रेमिटेन्स डगमगाउन थाल्नुले नेपाली अर्थ–व्यवस्थामा सम्भावित जोखिम देखाएको छ । 

रेमिटेन्स आप्रवाह निरन्तर ओरालो लागे पनि यसमा आवद्ध कम्पनीहरूको कारोबार भने बढ्दो छ । पुराना रेमिटेन्स कम्पनीहरू शाखा विस्तार गरिरहेका छन् भने नयाँ कम्पनी खुल्ने क्रम जारी छ ।

सन् २००१ देखि रेमिटेन्स कारोबारमा संलग्न इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेल ब्यांकिङ प्रणालीमा जनचेतना वृद्धि र रेमिटेन्स कम्पनीहरूप्रति आम मानिसको विश्वासका कारण व्यापार बढेको बताउँछन् । “सुरक्षित र सहज भएका कारणले रेमिटेन्स कम्पनीहरूप्रति आम मानिसको भरोसा बढेको हो” पौडेल भन्छन्, “गाउँगाउँसम्म पुगेको सेवा र झन्झटरहित कारोबारले रेमिटेन्स कम्पनीहरूले जनताको मन जितिरहेका छन् ।”

जिल्लादेखि विदेशसम्म
नेपालमा २५ वर्षअघि सन् १९९३ मा अमेरिकाको कोलोराडोमा प्रधान कार्यालय रहेको वेस्टर्न यूनियन ले पहिलोपटक रेमिटेन्स सेवा शुरू गरेको थियो ।

वेस्टर्न यूनियन मनी ट्रान्सफर का सिनियर बिजनेस डेभलपमेन्ट अफिसर कवीन्द्र श्रेष्ठ यो कम्पनी अहिले इरान र उत्तरकोरिया बाहेक संसारका सबै मुलुकमा फैलिएको बताउँछन् । ग्राहकहरूको भरोसाकै कारण यो सम्भव भएको श्रेष्ठको भनाइ छ । उनी भन्छन्, “यसले रेमिटेन्स कम्पनीको महत्व र आवश्यकता प्रष्ट पारेको छ ।”

रेमिटेन्स कम्पनीहरूकै कारण मानिसहरूले दुःख गरी कमाएको रकम सुरक्षित रूपले आफन्तसम्म पुर्‍याइरहेको बुम रेमिट का प्रबन्ध निर्देशक धीरेन्द्र पन्त बताउँछन् । चाहेकै समयमा मिहिनेतको कमाइ परिवारसम्म पुगेकाले पैसाको सदुपयोग पनि भएको छ ।

यसबाट सम्बन्धित परिवारको मात्र नभएर देश विकासमा पनि रेमिटेन्सको उल्लेख्य भूमिका रहेको बताउँदै पन्त भन्छन्, “रेमिटेन्स कम्पनीहरूले पैसा लेनदेनको सबै जोखिम लिएर सहज सेवा दिएकोले मानिसहरूको भरोसा बढेको हो ।”

आईएमई ग्रुपका पौडेल विश्वव्यापीकरणको युगमा वैदेशिक रोजगारीको रेमिटेन्स घट्दा पनि यसमा संलग्न कम्पनीहरूलाई खासै फरक नपर्ने बताउँछन् । उनको भनाइमा, शिक्षा र विभिन्न व्यवसायका लागि मानिसहरू विदेशिने क्रम बढेकाले रेमिटेन्स व्यवसायलाई दीर्घकालीन असर पार्दैन ।

आर्थिक गतिविधि बढेकाले पछिल्ला वर्षहरूमा स्वदेशकै एक स्थानबाट अर्को स्थानसम्म रकम पठाउनेहरू पनि बढेको उनको भनाइ छ । त्यस्तै, वेस्टर्न यूनियन का श्रेष्ठ मुलुकमा विकास भएसँगै रेमिटेन्स विदेश जाने क्रम शुरू हुने बताउँछन् । उनी भन्छन्, “रेमिटेन्स कम्पनीहरूको सेवा प्रवाह भने त्यस अनुरूपको हुनुपर्छ ।”

रेमिटेन्स कम्पनीहरूले विभिन्न एप्लिकेसन्स्, रेमिट कार्ड, कस्टमर कार्डलगायतका पछिल्ला प्रविधि प्रयोगलाई प्राथमिकता दिएका छन्, जसले सेवाग्राहीलाई झन् सहज बनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफर का प्रबन्ध निर्देशक चन्द्र टन्डन समय अनुसारको प्रविधि प्रयोगले सेवाग्राहीमा रेमिटेन्स कम्पनीप्रतिको विश्वास बढाएको बताउँछन् ।

देशको कुनाकुनादेखि विदेशमा समेत प्रतिनिधि राखेर इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई), प्रभु मनी ट्रान्सफर, सिटी एक्सप्रेस मनी ट्रान्सफर, वेस्टर्न यूनियन मनी ट्रान्सफर, बुम रेमिट, सम्सरा रेमिट, जापान मनी एक्सप्रेस (जेएमई), मनिग्राम लगायतका कम्पनीहरूले सेवा प्रवाह गरिरहेका छन् ।

वैधानिक माध्यम
गरीबी न्यूनीकरण, शोधनान्तर स्थिति, आयात, व्यापार घाटालगायत पूरै अर्थतन्त्रलाई सन्तुलनमा राख्न सहयोग पुर्‍याइरहेको रेमिटेन्स भित्र्याउन रेमिटेन्स कम्पनीहरूको ठूलो भूमिका छ ।

ती कम्पनीहरूले जनताको पैसा सुरक्षित रूपमा सम्बन्धित स्थानसम्म पुर्‍याउने भूमिका त खेलेकै छन्, पैसालाई ब्यांकिङ प्रणालीमा ल्याउन पनि सघाएका छन् । वेस्टर्न यूनियन ले नेपालमा सेवा शुरू गर्नुभन्दा पहिले विदेशमा रहेका नेपालीले ड्राफ्ट गरेर पैसा पठाउँथे । ड्राफ्ट नगदमा परिवर्तन हुन हप्तादेखि महीनासम्मको प्रक्रिया पूरा गर्नुपथ्र्यो ।

झन्झटिलो प्रक्रिया र लामो समयका कारण हुण्डीलगायतका अवैध कारोबार बढेका थिए । वेस्टर्न यूनियन का श्रेष्ठ भन्छन्, “रेमिटेन्स कम्पनीहरूले अवैध रूपमा भित्रिरहेको रकमलाई ब्यांकिङ च्यानलमा ल्याउने भूमिका खेलेका छन् ।”

हुण्डीको कारोबार गैरकानूनी भएकाले त्यस्तो रकमको स्रोत खुलाइँदैन र जुनसुकै बेला सम्पत्ति शुद्धीकरणको कानून लाग्न सक्छ । हुण्डीबाट पठाएको रकम बाटोमै गायव भए सरकारी निकायमा उजुरी गर्न पनि सकिंदैन ।

सिटी एक्सप्रेस का टन्डन रेमिटेन्स कम्पनीहरूले ब्यांकिङ प्रणालीबारे जनचेतना जगाउन र हुण्डीलगायतका अवैध कारोबार घटाउन अतुलनीय योगदान पुर्‍याएको बताउँछन् । तर, हुण्डी कारोबार भने अझै पूर्ण रूपमा बन्द हुनसकेको छैन । सरकारी कोटा (ईपीएस) बाट काम गर्न गएको दक्षिण कोरियाबाट समेत ज्यादातर हुण्डीमार्फत पैसा आउने गरेको छ ।

भर्खरै कोरियामा पनि सेवा शुरू गरेको आईएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेल अहिले त्यहाँबाट आउने रेमिटेन्स ब्यांकिङ च्यानलमा बढ्दो परिमाणमा आउन थालेको बताउँछन् । सरकारले ब्यांकिङ प्रणालीबाट आएको रेमिटेन्स रकमले घरजग्गा किन्दा रजिस्ट्रेसन दस्तुरमा छूट दिने व्यवस्था समेत गरेको छ ।

सामाजिक दायित्व
देशभरका प्रायः सबै ब्यांक, फाइनान्स र सहकारीहरूले रेमिटेन्स काउन्टर खोलेका छन् । रेमिटेन्स कम्पनीहरूले त २०७२ सालको महाभूकम्पपछि निःशुल्क सेवा दिएका थिए । आईएमई ले स्कूले विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था गरेको छ ।

रेमिटेन्स कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्दा सेवा शुल्क घट्नुको साथै सेवाको दायरा पनि फराकिलो बनेको छ । त्यसबाट सेवाग्राहीलाई फाइदा भएको छ । कम्पनीहरूले प्रतिस्पर्धाका क्रममा गाउँगाउँमा सेवा विस्तार गरेका छन् । सेवा सहज बनाउन ‘क’ श्रेणीका ब्यांकदेखि गाउँगाउँका सहकारीहरूसँग सहकार्य गरेको आईएमई का पौडेल बताउँछन् ।

तीव्र प्रतिस्पर्धामा रहेका रेमिट कम्पनीहरूले विभिन्न सामाजिक क्रियाकलाप पनि बढाएका छन् । त्यसक्रममा उनीहरूले ग्रामीण भेगका विद्यार्थी, शीतलहर, बाढीपीडितलगायतलाई सहयोगदेखि गाउँगाउँमा ब्यांकिङ प्रणालीबारे जनचेतना जगाउने कार्यक्रम चलाइरहेका छन् ।

दीर्घकालीन जोखिम
रेमिटेन्सको तत्कालीन फाइदा देखिए पनि दीर्घकालीन जोखिम छ । उत्पादनशील क्षेत्रमा लगानी नहुँदा रेमिटेन्स दीर्घकालीन खतराको रूपमा देखा पर्दैछ । प्राप्त रेमिटेन्स ज्यादातर अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ ।

कृषि, व्यापार–व्यवसाय आदि उत्पादनशील क्षेत्रमा रेमिटेन्सको नगन्य हिस्सा मात्र लगानी भएको छ । राष्ट्र ब्यांकको ‘विप्रेषण प्राप्त गर्ने घरपरिवारको बचत तथा लगानी प्रवृत्ति– २०७३’ अनुसार, वैदेशिक रोजगारमा जाने अधिकांशले आर्जन गरेको रेमिटेन्स विदेश जाँदाको ऋण तिर्नमै लगाएका छन् ।

रेमिटेन्सबाट प्राप्त रकम बचत गर्ने घरपरिवारमध्ये ४८.८ प्रतिशतले घरजग्गा खरीदलाई उद्देश्य बनाएका छन् भने व्यापार/व्यवसायमा लगानी गरेका घरपरिवार ८.४ प्रतिशत मात्र देखिएको छ । अर्थशास्त्री डा. डिल्लीराज खनाल अनुत्पादक क्षेत्रमा भएको लगानीले अर्थतन्त्रमा खतरा निम्त्याइरहेको बताउँछन् । “रेमिटेन्सले नेपालमा रहेको सक्षम जनशक्तिलाई पनि विदेशिएका एक सदस्यमा आश्रित बनाउँदैछ” उनी भन्छन्, “यसका अझ् खतरनाक दीर्घकालीन असर देखिनेछन् ।”

रेमिटेन्सले मनो–सामाजिक जोखिम पनि बढाएको छ । जीवनको तरुण समय विदेशमा बिताइरहेकाहरूले गाउँमा पारिवारिक–सामाजिक विचलन बेहोर्नुपरेको छ ।

कालान्तरमा त्यसले सामाजिक परिवेश र अर्थतन्त्रमा ठूलो असर पार्ने अर्थशास्त्री खनाल बताउँछन् । रेमिटेन्सलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने सरकारी नीति छैन । राजश्वमुखी नीतिका कारण अनुत्पादनशील क्षेत्रमा लगानी बढिरहेको छ । अर्थ–व्यवस्थामा सरकारको समष्टिगत नीति नै गलत देख्छन्, डा. खनाल ।

रेमिटेन्सको सकारात्मक पाटो पनि उत्तिकै छ । यसकै कारण स्वास्थ्य, शिक्षा, पोषण, स्तरीय जीवनयापनमा नेपालीको पहुँच बढ्दैछ । पछिल्लो दुई दशकमा ह्वात्तै बढेको वैदेशिक रोजगारका कारण गाउँगाउँमा टीनको छानो टल्किएको मात्र छैन, विद्यार्थी निजी विद्यालयमा पढिरहेका छन् । रेमिटेन्सकै कारण गाउँको समग्र जीवनस्तर उन्नत हुँदैछ ।

अर्थतन्त्रका व्यापार, उद्योग, रोजगारलगायतका क्षेत्र सुस्त रहँदा रेमिटेन्सले विदेशी मुद्राको अभाव हुनदिएको छैन, शोधनान्तर स्थितिलाई पनि जोगाएको छ ।

आन्तरिक अर्थतन्त्रमा उल्लेख्य परिवर्तन नदेखिए पनि रेमिटेन्सले मुलुकको अर्थतन्त्रलाई तत्कालका लागि धरासायी हुनबाट जोगाएकोमा अर्थशास्त्रीहरू एकमत छन् । उनीहरूका अनुसार, रेमिटेन्स आयले वैदेशिक व्यापार, उपभोक्ताको क्रयशक्ति र शोधनान्तर स्थितिमा सकारात्मक प्रभाव पारेको छ ।

अति कम विकसित र विकासशील मुलुकहरूमा बढ्दो व्यापार घाटाका कारण सम्भावित चालू खाता र शोधनान्तर घाटामार्फत विदेशी विनिमय सञ्चितिमा देखिन सक्ने संकट रेमिटेन्सले टारिरहेको छ । अर्थात्, अर्थतन्त्र धान्ने प्रमुख स्रोत रेमिटेन्स भएको छ । यही कारण रेमिटेन्सलाई अर्थतन्त्रको मेरुदण्ड मानिएको अर्थशास्त्री खनाल बताउँछन् ।

प्रतिकृया दिनुहोस