खेलकुदशुक्रवार, फाल्गुण ४, २०७४

विश्वकप क्रिकेटको छनोटमा नेपालको पहिलो खेल जिम्बावेसँग

हिमालखबर

एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ ।

२० फागुनदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बि’ मा रहेको छ ।

उक्त समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्ड रहेका छन् ।

आज आइसीसीले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बावेसँग ४ मार्चमा, स्कटल्यान्डसँग ८ मा, अफगानिस्तानसँग १० र हङकङसँग १२ मार्चमा खेल्नेछ ।

डिभिजन टु को विजेता युएई समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा वेस्ट इण्डिज, आयरल्याण्ड, पपुवा न्युगिनी र नेदरल्यान्ड रहेका छन् ।

समूह चरणमा सबै टिमले एकअर्कासँग एक÷एक खेल खेल्नेछन् भने दुबै समूहबाट उत्कृष्ट तीन टिमले सुपर सिक्स चरण खेल्नेछन् ।

सुपर सिक्स चरणमा एउटा टिमले तीनवटा खेल खेल्ने छन् । समूह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ ।

यो चरणमा नयाँ टेष्टमान्यता प्राप्त मुलुक अफगानिस्तान, आयरल्याण्ड र विश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृष्ट चारभित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ र पपुवा न्यूगिनी विश्वकप छनोट खेल्नेछन् ।

समूहको शीर्ष तीन टोली सुपर सिक्स चरणमा पुग्नेछन् । प्रतियोगितामा सहभागी हुने छ एसोसिएट टोलीमध्ये नेदरल्यान्डसहित चार टोलीले चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनेछन् ।

छनोटबाट उत्कृष्ट हुने दुई टोली २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एक दिवसीय विश्वकप खेल्नेछन् । रासस

प्रतिकृया दिनुहोस