रामबाबु–ज्ञानु पुरस्कार वितरण
यसवर्षको सामाजिक सेवा पुरस्कार र समाजसेवी पुरस्कार वितरण गरिएको छ । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले १४ असोजमा राजधानीमा आयोजित एक कार्यक्रममा पुरस्कार वितरण गरेको हो ।
रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार उर्लाबारी नगरपालिका–४, मोरङस्थित महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा सञ्चालित नमुना बालगृह र यसका अध्यक्ष श्रीमती मीना बराललाई प्रदान गरिएको हो । कोषकोतर्फबाट पुरस्कृत संस्थालाई नगद रु. दुई लाख र सम्मानपत्र प्रदान गरिएको छ।
यस्तै, रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार दोखा टोल, गोकर्णेश्वर नगरपालिका–९ मा रहेको संयुक्त अपाङ्ग एकता आवाज केन्द्र र यसका अध्यक्ष तिलबहादुर कार्कीलाई प्रदान गरिएको छ । समाजसेवी पुरस्कार विजेता कार्कीलाई नगद रु. एक लाख र सम्मानपत्र वितरण गरिएको छ । कार्कीले ४० बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।
पुरस्कृत व्यक्ति र संस्थाको छनौट पाँच सदस्यीय प्रतिभा छनोट समितिले गरेको हो । सामाजिक सेवामा योगदान गर्ने संस्था वा व्यक्तिलाई पुरस्कृत र सम्मानित गर्दै आएको यो पुरस्कार कोष २०७० मा स्थापना भएको थियो ।
तस्वीरः विक्रम राई/हिमालखबर