प्रदेश–२ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त
प्रदेश–२ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउतलाई नियुक्त भएका छन् ।
प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले राउतलाई मुख्यमन्त्री नियुक्तिको पत्र दिएका हुन् । राउतले भोलि, ३ फागुन मध्यान्ह साढे १२ बजे शपथ ग्रहण गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा राउतलाई प्रदेश प्रमुख कायस्थले संविधानको धारा १६८ को २(१) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
पर्सा १ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित ५१ वर्षीय लालबाबु राउत मुख्यमन्त्री नियुक्त भएपछि संक्षिप्त प्रतिक्रिया दिदै सबै दलको साथ र सहयोगमा प्रदेशलाई नमूना बनाउने बताए ।
२५ प्रदेश सभा सदस्य रहेको राजपा नेपालको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका राउतले राजपा नेपाललाई धन्यवाद दिदै सानो आकारको मन्त्रीमण्डल गठन गरी सेवाप्रवाहलाई छिटोछरितो र प्रभावकारी बनाउने उल्लेख गरे ।
२९ माघमा प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को २(१) बमोजिम प्रदेशको मुख्यमन्त्रीको लागि बहुमत पु¥याएर आउन दलहरुलाई आह्वान गरेको थियो ।
१ फागुनसाँझ राजपा नेपालको संसदीय दलका नेता जितेन्द्र सोनलसहित ५४ जना प्रदेशसभा सदस्यको समर्थन लिएर फोरमका राउत प्रदेश प्रमुख कायस्थ समक्ष आफूलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी प्रस्तुत गरेका थिए ।
प्रदेश नं २ मा फोरमका २९, राजपा नेपालका २५, नेकपा एमालेका २१, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ११, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र एक एकजना गरी १०७ जना प्रदेश सभा सदस्य छन् ।
ईश्वरचन्द्र झा, जनकपुर