समाचारशनिवार, माघ ६, २०७४

नेपालमै छ तिब्बत पनि

वसन्त महर्जन

पर्यटकीय आकर्षणको केन्द्र रहिआएका नेपालका हिमाली क्षेत्रहरूलाई अझ व्यापक बनाउन तिब्बतको विगतसँग जोड्न सकिन्छ।

तस्वीरहरु : वसन्त महर्जन

सन् १९६४ मा मुस्ताङ क्षेत्रको भ्रमण गरेर मुस्ताङ : अ लस्ट तिबेटन किङडम पुस्तक लेख्ने फ्रेन्च लेखक मिसेल पिसेलले उतिबेला लोमान्थाङको जस्तो चित्रण गरे, आज पनि त्यही झलक कायम छ ।

केही वर्षअघि कागवेनीबाट लोमान्थाङतिर लाग्दा बाटोमा भेटिएकी एक अमेरिकी महिलाले कुराकानीका क्रममा भनेकी थिइन्, “हामीलाई तिब्बत जान गाह्रो छ, तर तिब्बतको स्वाद नेपालमै पाइने हुनाले यता सोझिन्छौं ।” 

इतिहासमा वर्तमान मुस्ताङ  वरिपरिका क्षेत्रहरूसहित विशाल तिब्बतको सीमान्त प्रदेश थियो । सातौं शताब्दीका तिब्बती राजा श्रङ्चङ् गम्पो र उनका उत्तराधिकारीहरूले भूमि विस्तार गर्ने क्रममा यस क्षेत्रमा दक्खल गरे ।

सन् ९०२ मा बौद्ध धर्मविरोधी राजा लाङदार्माको हत्या भएपछि तिब्बत स–साना राज्यहरूमा टुक्रिंदा पश्चिम तिब्बतमा ङारी एउटा स्वतन्त्र राज्यको रूपमा अस्तित्वमा आयो ।

कर्णालीको सिंजा उपत्यका (जुम्ला) मा राजधानी स्थापना गरेर विशाल खस साम्राज्य खडा गर्ने राजा नागराज त्यही ङारीबाट आएका थिए ।

सन् १३५० मा राजा चाङ्ग–चुव–ग्याल्त्सेनको नेतृत्वमा तिब्बत एकीकरण अभियान चल्दा खस साम्राज्यले थुप्रै भूभाग गुमाउने क्रममा मुस्ताङ पनि तिब्बतमा पर्‍यो ।

पछि खस साम्राज्य नै विखण्डन भएर जुम्ला अलग राज्यको रूपमा उदायो । लो क्षेत्रका शासकका छोरा आमेपालले १४४० मा लो र अन्य क्षेत्रलाई केन्द्रीय सत्ताबाट मुक्त गरी बेग्लै स्वतन्त्र राज्य खडा गरे ।

त्यस बेला चराङबाट मन्थाङमा सारिएको प्रशासनिक केन्द्र अहिले लोमान्थाङ कहलाउँछ । त्यही ‘लो’ राज्य पछि जुम्लाको अधीनमा पुग्यो र आधुनिक नेपाल निर्माणका क्रममा जुम्लासँगै मुस्ताङ पनि स्वतः नेपालमा गाभिन पुग्यो ।

प्राचीन लो क्षेत्रका इतिहास मात्र नभई भू–बनोट पनि तिब्बतसँग मिल्छ । तिब्बती भाषा जान्नेहरू त्यस क्षेत्रमा सजिलै घुलमिल हुन्छन् । त्यहाँको रहनसहन, लवाइखवाइले कुनै बेलाको तिब्बतको सामाजिक जनजीवनको झल्को दिन्छ, जुन वर्तमान तिब्बतमा आधुनिकताको चपेटामा परिसकेको छ ।

अर्थात्, पहिलो तिब्बतमा जे थियो त्यो अहिले नेपालमा सुरक्षित छ । नेपालमा सुरक्षित रहेका अनेक कुरामध्ये एक तेज्–चि (तिजी) पर्व हो ।

सन् १६५० तिर लोमा आठौं राजा समढुब रब्तेन रहेका बेला तिब्बतको सक्य गुम्बाका गुरु ङवाड कुड्गा सोएनम्ले लो राज्यमा राजकीय आतिथ्य पाएका थिए र उनको बसाइ पनि लम्बिएको थियो । त्यसै बेला ती लामाले तिब्बतमा प्रचलनमा रहेको तेन्–चि (तिजी) पर्व लोमा पनि चलाए ।

तान्त्रिक बौद्ध साधनासँग सम्बन्धित पर्व र यसको नृत्य अहिले तिब्बतमा प्रचलनमा छैन । नेपालमा भने धार्मिक–सांस्कृतिक जीवनको अभिन्न अंग भएको छ ।

अहिले मुस्ताङ क्षेत्रको सात थपौलाको पर्याय नै बनेको तेन्–चिले विदेशी पर्यटकलाई पनि आकर्षित गरेको छ । तिब्बती पाँचौं महीनाको आषाढकृष्ण एकादशीदेखि आषाढकृष्ण चतुर्दशीसम्म तेन्–चि पर्व मनाइन्छ ।

त्यस्तै, सगरमाथा उत्तरको रोङबुक गुम्बामा प्रचलित मणिरिम्दु (बौद्ध नाटिका) पनि अहिले त्यहाँ नभएर नेपालतिर सोलुखुम्बु जिल्लाको तेङ्बोचे गुम्बामा दरिलो निरन्तरता पाएको छ । यो गुम्बा निर्माणमा स्थानीयलाई प्रेरित गर्ने लामा ङावाङ तेन्जिङ नोर्बु साङ्गे दोर्जेका पाँचौं अवतार हुन् ।

रोङबुक गुम्बाका प्रमुख रहेका उनैको सत्प्रयासमा सन् १९१९ मा तेङ्बोचे गुम्बा निर्माण भएको थियो । त्यसको एक दशकपछि १९३० मा उनै तिब्बती धर्मगुरुले तेङ्बोचे गुम्बामा मणिरिम्दु पर्व मनाउन शुरू गराएका थिए ।

तेङबोचेमा तिब्बती पात्रोअनुसार नवौं महीनाको पूर्णिमा (अक्टोबरको अन्त्य वा नोभेम्बरको शुरू) मा प्रदर्शन गरिने यो नृत्य वा पर्व थामुत्याङ थुप्तेन छोलिङ गुम्बा (थामे) मा तेस्रो महीनाको पूर्णिमा र चिवाङ छ्याङछुप छोलिङ गोन्पा (दूधकण्ड नगरपालिका) मा दशौं महीनाको पूर्णिमाका दिन देखाइन्छ ।

यसले नेपालतिर यसको लोकप्रियता देखाउँछ । १९ दिन मनाइने मणिरिम्दुको अन्तिम तीन दिन महत्वपूर्ण हुन्छ । महायोगी गुरु रिन्पोछे (आचार्य पद्मसंभव) ले तिब्बतमा बौद्ध धर्म स्थापना गरेको सन्दर्भ रहेको यो पर्वमा देखाइने नृत्य–नाटिकाका १३ वटा अध्याय छन् ।

ती अध्यायहरूले तिब्बतमा बौद्ध धर्म प्रवेश र विस्तारसम्बन्धी इतिहास दर्साउँछ ।

नेपालमा मणिरिम्दु जोगिनु तिब्बत र सम्पूर्ण विश्वको लागि सुखद् कुरा हो । चिनियाँहरूलाई पुरानो तिब्बत यस्तो छ भनेर नेपालका हिमाली क्षेत्रहरू देखाउन सक्दा अन्य पर्यटक संख्या पनि बढ्ने अनुमान लगाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस