कला/साहित्यशनिवार, माघ ६, २०७४

मिस्टर झोले: बजारकै लोभ

मस्त केसी

रिटायर्ड सुवेदार (पुष्कर गुरुङ) लाई एक मात्रै छोरी नानीमैयाँ (दिया पुन) को जसरी पनि विवाह गराउनु छ । औंसीमा जन्मिएकीले ‘पोई टोक्ने’ जस्ता अन्धविश्वासकै कारण नानीमैयाँसँग विवाह गर्न कोही राजी हुँदैनन् ।

दर्जीको छोरा कर्णे (प्रवीण खतिवडा) ले भने नानीमैयाँलाई असाध्यै मन पराउँछ । उता नानीमैयाँ भने बच्चैदेखि पूर्णे (दयाहाङ राई) प्रति समर्पित छे ।

आमाले दाइजोमा टन्न सम्पत्ति पाइन्छ भनेपछि पूर्णेले पनि नानीमैयाँलाई माया गरेजस्तो गर्छ । गुणप्रसाद मास्टर (बुद्धि तामाङ) पनि एउटै स्कूलमा पढाउने कमली मिस (वर्षा राउत) लाई प्रेम गर्छन् । यही प्रेमकथा र उतारचढाव नै चलचित्रको कथावस्तु हो ।

चलचित्रमा भरुवा बन्दूकको प्रयोग अधिक गरिएको छ । सुवेदारलाई अलिकति रिस उठ्यो कि बन्दूक पड्काइहाल्छन् । छोरी माग्न आएका पूर्णे र कर्णेको घरघर गएर बन्दूक तेस्र्याउँछन् । सुवेदारको घरमा कोही आएर उनलाई चित्त नबुझ्ने कुरा गरे बन्दूक पड्काइहाल्छन् ।

भरुवा बन्दूक र खुकुरीको प्रयोग हेर्दा दर्शक आफैंले यो चलचित्र माओवादी द्वन्द्वकालअघिकै हो भनेर बुझ्नुपर्ने हुन्छ । तर, पात्रको लवज सुन्दा यो अहिलेकै समयको लाग्छ ।

चलचित्रका कुनै पनि पात्रको निश्चित उद्देश्य छैन । विदामा घर गएको पूर्णे र कर्णे दुवै नानीमैयाँकै पछि लागेर समय बिताउँछन् । ब्यांकले घर लिलाम गर्ने पत्र हातमा हुँदा समेत पूर्णेलाई कुनै पर्वाह छैन । मास्टर गुणप्रसाद जहिल्यै रक्सी खाएर स्कूल जान्छन् ।

पर्यटक बनेर गाउँ छिरेका टोले गुन्डा (विजय बराल) र गुणप्रसादसँग कमली मिस उस्तै मस्किन्छिन् । छोरासँग अलिकति तनाव भयो कि पूर्णेकी आमा (अरुणा कार्की) झेला बोकेर माइत हिंड्छिन् । ‘न्यारेसन’ मार्फत नानीमैयाँले पूर्णेलाई माया गर्छे भनिए पनि दृश्यमा त्यो छनक पाइँदैन ।

नानीमैयाँ कहिले कर्णेसँग लहसिन्छिन् त कहिले ऊसँग विनाकारण रिसाउँछिन् । घरबाट झेला बोकेर निस्किएको कर्णे विना कारण आँगनको डिलबाटै फर्कन्छ, कारण पत्तो लाग्दैन । नानीमैयाँले पूर्णेलाई निकैबेरसम्म लखेटेको दृश्य पट्यारलाग्दो छ । ‘न्यारेसन’ को प्रयोग पनि अनावश्यक लाग्छ ।

चलचित्रको गीत बलियो नभए पनि पाश्र्व संगीत भने उपयुक्त लाग्छ ।

पात्र, ग्रामीण परिवेश, संवाद मात्र होइन निर्देशक रामबाबु गुरुङले आफ्नो अघिल्लो चलचित्र ‘कबड्डी’ को हास्यरसको बजार सूत्रलाई ‘मिस्टर झेले’ मा पनि दोहोर्‍याएका छन् । त्यही रसकै कारण नयाँपन नभए पनि चलचित्रले दुई घण्टासम्म दर्शकलाई बाँधेर राख्छ । गाउँघरमा देखिने जातपात, कुरीति र लाहुरेको संस्कृतिले गाउँबाट शहर पसेका दर्शकलाई ‘नोस्टाल्जिक’ बनाउँछ ।

दयाहाङको भूमिकालाई निर्देशकले कबड्डीको ‘काजी’ भन्दा फरक देखाउन सकेका छैनन् । गरीब दयाहाङलाई सोही अनुसारको लवज दिन नसक्नु निर्देशकको कमजोरी हो । दियाको अभिनय चाहिं अस्वाभाविक लाग्दैन । कर्णेको भूमिकामा प्रवीणको अभिनय सबैभन्दा अब्बल छ ।

पछुताउनै नपरे पनि मिस्टर झेले ले दर्शकको अपेक्षा पूरा गर्दैन । गज्जबको चलचित्र हेरें भन्ने गरी धित मार्दैन । 

आफ्ना पुरानै चलेका चलचित्रको मात्र सिको गर्दै जानु नयाँ केही नहुनुको संकेत पनि हो । प्रतिभाशाली निर्देशक गुरुङ अब आफ्नै ‘कम्फर्ट जोन’ बाट बाहिर निस्कने जोखिम मोल्नुपर्छ ।

प्रतिकृया दिनुहोस