डा शशी शर्मालाई चार दिन डिनमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले डा शशी शर्मालाई त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डिनमा पुनर्वहाली गर्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्मालाई हटाएर प्राडा राकेशप्रसाद श्रीवास्तवलाई डिनमा नियुक्त गर्ने त्रिवि कार्यकारी परिषद्को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरेको हो ।
शर्मालाई त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदले २०७० पुस २६ गते डिन नियुक्त गरेको थियो। तर वरिष्ठ र योग्यलाई नियुक्त नगरी सम्बन्धनको चलखेलका लागि स्वार्थबस कनिष्ठलाई डिन नियुक्त गरिएको भन्दै डा गोविन्द केसीले अनसन शुरु गरेपछि त्रिभुवन विश्वविद्यालयले शर्मालाई ८ माघ २०७० मा बर्खास्त गरेको थियो । त्यसपछि प्राडा श्रीवास्तव डिन नियुक्त भएका थिए ।
तर, अहिले आईओएममा प्रा डा जगदिश अग्रवाल डीन छन् ।
सर्वोच्चले आदेशमा भनेको छ, “निवेदकले बहाल हुन चाहेमा आजकै मितिबाट बहाल हुन जानु भनी परमादेशको आदेश जारी गरिएको छ ।”
सर्वोच्चले अग्रवालको नियुक्तिलाई पनि गैर कानूनी भन्ने आधार नभएको र उनको नियुक्तिबारे यो मुद्दामा बोल्न नमिल्ने बताएको छ ।
आदेशमा उल्लेख छ, “जहाँसम्म हाल नियुक्त भएका प्राडा जगदिशप्रसाद अग्रवालको नियुक्ति छ सो नियुक्तिलाई गैर कानूनी हो भन्ने पुष्टि गर्ने आधार नभएको र एउटा संस्थाको संचालनमा डिनको नियुक्तिको अभावमा विपक्षी संस्थालाई पर्न सक्ने असरलाई पनि न्यायको रोहमा विचार गर्नु पर्ने भएकोले यस मुद्दाबाट बोल्न मिलेन ।”
२०७० पुस २८ मा चार वर्षका लागि नियुक्त भएका शर्माको पदावधि २७ पुससम्म छ ।
डा शर्माले सर्वोच्चको फैसलाले आफूले न्याय पाएको भन्दै एक दिनका लागि भए पनि पुनर्वहाली हुने बताएका छन् ।