वार्षिक २० अर्बको फलफूल आयात
मुलुकमा वार्षिक करिब रु २० अर्बको फलफूल आयात हुने गरेको छ ।
नेपाल फलफूल थोक व्यवसायी संघले २६ औँ वार्षिक साधारणसभाको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उक्त जानकारी गराइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै व्यवसायी प्रकाशचन्द्र न्यौपानेले उच्च गुणस्तरको फलफूल युरोपका विभिन्न बजारबाट समेत आयात गरिँदै आएको जानकारी दिँदै ती मुलुकमा नेपालमा उत्पादन भएका फलफूलको ग्रेडिङ गरी पठाउनका लागि सरकारले लगानी गर्नुपर्ने बताए ।
नेपाल फलफूल थोक व्यवसायी महासंघका अध्यक्ष खेमप्रसाद घिमिरेले फलफूल व्यवसायलाई व्यवस्थित बनाउनका लागि सरकारले बजारको व्यवस्थापन गर्नुपर्नेमा जोड दिदैं कृषि बजार ऐन चाँडो कार्यान्वयन गर्न आग्रह गरे ।
नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले व्यवसायीको हक, हित र अधिकारको संरक्षणका लागि संस्था क्रियाशील रहेको धारणा व्यक्त गरेका थिए ।
रासस