थप समाचारशुक्रवार, पौष २१, २०७४

सप्तरीमा चिसो बढ्यो, विद्यालय बन्द

हिमालखबर

विगत एक हप्तादेखि सप्तरी जिल्लामा एक्कासि बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । 

राजविराजलगायत सप्तरीका शहरी तथा ग्रामीण भेगमा जाडोका कारण निमोनिया रुघाखोकी, कोल्ड डायरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोग सर्वसाधारणमा बढ्दै गएको छ । 

खासगरी बालबालिका र वृद्धवृद्धामा उक्त रोग अत्यधिक देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा जाडोबाट उत्पन्न हुने रोगका बिरामीको उपचारका लागि अत्यधिक आउने गरेको पाइएको छ । 

त्यसैगरी सप्तरीका स्वास्थ्य चौकीमा पनि निमोनिया रुघाखोकी, कोल्ड डायरिया, टाउको दुख्ने, दमजस्ता विभिन्न किसिमका रोगका बिरामी आउने गरेको सकरपुरास्थित स्वास्थ्य चौकीबाट बुझिएको छ । 

सामुदायिक विद्यालय बन्द 
यसैबीच, विगत चार दिनदेखि अत्यधिक चिसो बढेका कारण जनजीवन कष्टकर भएपछि सप्तरीका सामुदायिक विद्यालय बिहीबारदेखि बन्द गरिएको छ । 

जिल्ला शिक्षा कार्यालयका अनुसार निरन्तरको शीतलहरले अत्यधिक चिसो बढेपछि बालबालिका बढी प्रभावित हुने भएकाले विद्यालय बन्द गर्नुपरेको हो । ती विद्यालय बिहीबार र शुक्रबार बन्द गर्ने निर्णय भएको जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले बताए । 

चिसोकै कारण कतिपय विद्यालयमा विद्यार्थी आउनेक्रम घटेपछि बाध्य भएर विद्यालय बन्द गरिएको उनले बताए । 

सप्तरी जिल्लामा ४१२ वटा सामुदायिक विद्यालय छन् । जिल्लाका सामुदायिक विद्यालय बिहीबारदेखि बन्द गरिए पनि निजी विद्यालय भने सञ्चालनमा नै छन् । 

प्रतिकृया दिनुहोस