काठमाडौँको न्यूनतम् तापक्रम एक डिग्री, चिसो अझै बढ्ने
काठमाडौंमा गए राति न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै यस वर्षकै बढी चिसो महसुस गरिएको छ ।
काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि १९ पुसमा काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो ।
काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार चिसो अझै बढ्ने छ ।
“काठमाडौँ मात्र हैन देशैभर चिसो बढेको छ, हिजोभन्दा आज बढी चिसो छ, देशभर अझै चिसो बढ्नेछ”, उनले भनिन् । पहाडी क्षेत्रमा बिहानैदेखि घाम लागेर केही राहत भए पनि तराईमा लागेको बाक्लो कुहिरोले सर्वसाधारणलाई समस्या भएको छ ।
तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीका कारण नियमित मौसमी कारण भएको र यसमा उत्तर पश्चिम वायुको केही प्रभाव पनि देखिएको मौसमविद् कँडेलको भनाइ छ ।
आज तराईका अधिकांश क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । अपराह्नदेखि क्रमिक सुधार आउने मौषम विभागले जनाएको छ ।
आज सबैभन्दा कम जुम्लामा ऋणात्मक(माइनस) ६ दशमलव ५ र सबैभन्दा बढी विराटनगरमा १० डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।
जाडोले कठ्यांग्रिएर मृत्यु
विराटनगरमा गए राति जाडोले कठ्यांग्रिएर एक तेस्रो लिंगीको मृत्यु भएको छ ।
विराटनगर–१२ बस्ने सत्यनारायण सरदारका घरमा पाहुना आएका कटहरी गाउँपालिका–५ बस्ने ३५ वर्षीय आशा सरदारको घर बाहिर आगो ताप्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हुम्लामा रुघाखोकी
त्यस्तै हुम्ला सदरमुकाम सिमकोटदेखि ५० कोस टाढा पर्ने ताजाकोट गाउँपालिका–५ की २७ वर्षीया रनदेवी परियार र ६० वर्षीया नन्दकला परियारको रुघाखोकी र ज्वरोबाट मृत्यु भएको छ ।
दक्षिणी भेगमा पर्ने सर्केगाड गाउँपालिकाअन्तर्गत वडा नं ७/८ रोडिकोट गाउँका ९१ वर्षीय भ्याले कार्की, ८८ वर्षीय खैरे शाही, ७८ वर्षीय गोरे जैसी र ५० वर्षीय शंकर रोकायासहित छ जनाको पनि पुस दोस्रो हप्तामा मृत्यु भएको छ ।
निमित्त प्रजिअ ऋद्धिप्रकाश सिटौलाले तत्काल उक्त गाउँपालिकामा गई उपचार गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएअनुसार बुधबारै उक्त कार्यालयबाट डा नवीन रोकायासमेत पाँच जनाको टोली औषधि लिएर गएको छ ।
हिमपातले चिसो बढेपछि वृद्धवृद्धा खोकी र घाँटी दुखाइले ग्रस्त भएका छन् ।