रिपोर्टसोमवार, पौष १७, २०७४

संकट चिर्दै सफल भएका तन्नेरीहरु

रामु सापकोटा

बाल्यकालमा अकल्पनीय पीडा भोगेका तीन तन्नेरी साहस र मिहिनेतको बलमा डाक्टर बन्न सफल भएका छन्।

सम्झना पोखरेल, प्रीया शेर्पा र कृष्णप्रसाद न्यौपाने ।

प्रीया शेर्पा (२२), सम्झना पोखरेल (२४) र कृष्णप्रसाद न्यौपाने (२५) अहिले हाँसी–खुशी पाल्पाको लुम्बिनी मेडिकल कलेजमा ‘इन्टर्न डाक्टर’ छन् । अर्थात्, उनीहरू ‘प्राक्टिसिङ डाक्टर’ बन्नै लागेका छन् । अनुराधा कोइरालाको प्रसिद्ध गैर–सरकारी संस्था माइती नेपालको सहारा पाएर यहाँसम्म आइपुगेका उनीहरूको बाल्यकाल भने अकल्पनीय पीडाबाट गुज्रिएको थियो ।

स्याङ्जाकी सम्झना पाँच वर्षकी हुँदा आमाको मृत्यु भएपछि बुवा पनि थला परे । भर्खर स्कूल जान थालेकी उनलाई स्याहार्ने कोही भएन । आर्थिक अवस्था पनि अत्यन्तै कमजोर भएकाले गाउँमा सम्झनाको हेरचाह र पढाइ नहुने देखेका छिमेकीले १६ वर्षअघि काठमाडौंको गौशालास्थित माइती नेपालमा ल्याइदिए । झापाकी प्रिया चाहिं काठमाडौंमा निकै कहर काटेपछि मात्र माइती नेपाल पुगिन् ।

सानैमा आमा बितेपछि अलपत्र परेका प्रिया र उनकी बहिनीप्रति दया देखाउँदै छिमेकीले काठमाडौं ल्याए, तर बाचा गरेजस्तो व्यवहार गरेनन् । न राम्रोसँग खान दिए न त स्कूल नै पठाए । प्रिया भन्छिन्, “बाल्यावस्थामा गर्नै नसक्ने घरेलु काममा मात्र लगाए ।”

काम गर्न नसक्दा निर्मम ढंगले कुट्न पनि थालेपछि २०५७ सालमा प्रियाकी बहिनी भागेर कसो–कसो प्रहरी चौकी पुगिछन् । त्यसपछि प्रहरीले प्रीयालाई पनि उद्धार गरेर माइती नेपालमा पुर्‍यायो ।

जुम्लाका कृष्णप्रसाद भने बाबुआमासँगै २०५२ सालमा काठमाडौं आएर माइती नेपाल पुगेका हुन् । न्यौपाने दम्पती दिउँसो गौशालाको सडक पेटीमा जडीबुटी बेच्थे, राति चौरमा बास हुन्थ्यो । परिवारका लालाबालाको भविष्य अन्धकार थियो । त्यो अवस्था देखेकी अनुराधा कोइरालाले तीन भाइबहिनीमध्ये कृष्णप्रसादलाई माइती नेपालमा पढ्ने व्यवस्था मिलाइदिइन् ।

टेरेसा एकेडेमीको जग
माइती नेपालले आफ्नो सम्पर्कमा आएका असहाय बालबालिकालाई आफ्नै टेरेसा एकेडेमीमा पढाउँछ । प्रीया, सम्झना र कृष्णले पनि त्यहींबाट राम्रो अंकका साथ एसएलसी उत्तीर्ण गरे । त्यसपछि सानेपाको ज्ञानोदय बालबाटिकाबाट प्लस टु पनि राम्रो अंकका साथ पूरा गरे ।

टेरेसा एकेडेमीमा साथीहरूसँगै प्रिया, सम्झना र कृष्ण (सेतो घेरामा) ।

बेसहारा बालबालिका पढ्न पाउने अधिकारबाट बञ्चित नहुन् भनेर कोइरालाले सन् १९९८ मा स्थापना गरेको स्कूल हो, टेरेसा एकेडेमी, जहाँ अहिले १०औं ब्याच १० कक्षामा छ । स्कूल स्थापना र संचालन स्वदेशी–विदेशी दाताहरूसँग मागेको रकमबाटै भएको कोइराला बताउँछिन् । टेरेसामा अहिलेसम्म २५० विद्यार्थी ‘पासआउट’ भएका छन् ।

तीमध्ये कोही इन्जिनियर, डाक्टर, गायक, कोरियोग्राफर बनेका छन् भने कोही विद्यावारिधि गरिरहेका छन् । “उनीहरूलाई पढ्ने वातावरण मिलाउन म हरेक ठाउँ माग्दै हिंडें” कोइराला भन्छिन्, “आज उनीहरूले मलाई जुन सन्तोष दिएका छन्, त्यो कमैले पाउँछन् ।”

सम्झना, प्रीया र कृष्णको हकमा पनि त्यही भयो । मिहिनेती निस्किएका छोराछोरीले डाक्टर बन्ने चाहना राखेपछि कोइराला फेरि पैसा जुटाउन लागिन् अनि काठमाडौं विश्वविद्यालय (केयू) का पूर्व उपकुलपति डा. सुरेशराज शर्मासँग सल्लाह गरेर तीनै जनालाई एमबीबीएस पढ्ने मेसो मिलाइन् । “हेर्दाहेर्दै डाक्टर बन्न लागेका उनीहरू फोन गर्दै सन्चोबिसन्चो सोधिरहन्छन्” कोइराला भन्छिन्, “एउटी आमालाई खुशी हुन योभन्दा अरू के चाहिन्छ र !”

परिपक्व सपना
कक्षा पाँचदेखि बास्केटबल खेल्न थालेकी सम्झनालाई भविष्यमा ‘बास्केटबल प्लेयर बन्छु’ जस्तो लाग्थ्यो । कक्षा १० सम्म टेरेसा एकेडेमीमा हुँदासम्म खासमा उनलाई भविष्यमा के बन्ने भन्ने प्रष्ट थिएन ।

विज्ञान विषयमा ८३ प्रतिशत अंक ल्याएर प्लस टु उत्तीर्ण भएपछि आफूमा एमबीबीएस पढ्ने सपनाले आकार लिएको उनी बताउँछिन् । “तीन महीने तयारी कक्षा लिएर केयूले लिएको एमबीबीएस प्रवेश परीक्षा पास गरें” सम्झना भन्छिन्, “अनि लुम्बिनी मेडिकल कलेजमा एमबीबीएस पढ्न छनोट भएको दिन डाक्टर बन्ने सपना पक्का भयो ।”

प्रीया पनि टेरेसा एकेडेमीबाट ८१ प्रतिशत ल्याएर एसएलसी उत्तीर्ण हुँदासम्म भविष्यमा यही बन्छु भन्ने निधो नगरेको बताउँछिन् । उनले जीव विज्ञान लिएर प्लस टु पढिन् । प्लस टु पढ्दै गर्दा बनाउन थालेको मेडिकल पढ्ने सोच प्रथम श्रेणीमा पास भएपछि बल्ल पक्का बनेको उनी बताउँछिन् ।

त्यस्तै, ६ वर्षको उमेरमा टेरेसा एकेडेमी पुगेका कृष्णले पनि ८२ प्रतिशत अंकका साथ एसएलसी पास गर्दासम्म भविष्यमा यही बन्छु भन्ने सपना देखेका थिएनन् । विज्ञान विषयमा ७४ प्रतिशत अंकका साथ प्लस टु सकेपछि मात्र उनले डाक्टर बन्ने सपना देख्न थालेका थिए ।

बाल्यकालीन घनघोर दुःखका बीच पाएको अवसरमा राम्रो मिहिनेत गरेर उठेका तीनै जना अहिले एमबीबीएस सकेर ‘इन्र्टनसिप’ मा छन् । पढाइ र उमेरले परिपक्व हुँदै गर्दा देखेको सपना पूरा हुने ढोकाको सँघारमा पुगेका तीनै जना औधी खुशी छन् ।

२०१२ अगष्टदेखि लुम्बिनी मेडिकल कलेजमा एमबीबीएस तहको पढाइ शुरू गरेका सम्झना, प्रीया र कृष्ण साढे चार वर्षपछि अहिले त्यहीं ‘इन्टर्न डाक्टर’ छन् । समाजमा डाक्टरी पेशालाई उच्च महत्व दिइन्छ, जहाँ उनीहरू पुग्दैछन् । “एकदमै खुशी छौं” सम्झना भन्छिन्, “माइती नेपालमा नपुगेको भए हाम्रो जीवनमा यो खुशी आउने थिएन ।”

सम्झना, प्रीया र कृष्ण अहिले अस्पतालमा व्यस्त पनि छन् । उनीहरूलाई बिहान आठ बजेदेखि अपराह्न चार बजेसम्म बिरामी हेर्न भ्याई नभ्याई हुन्छ । उनीहरू कन्सल्ट्यान्ट डाक्टरको निगरानीमा बिरामी जाँच्नेदेखि औषधि लेख्ने र ड्रेसिङ गर्नेसम्मको काममा व्यस्त हुन्छन् ।

सानोमा घरेलु हिंसाबाट पीडित प्रीया शेर्पा आफूहरूले अरूले भन्दा राम्रो अवसर पाएको बताउँछिन् । स्कूल र कलेजको पढाइले यो पेशा तय गरेको उनको अनुभव छ ।

पढेको कुरा व्यवहारमा उतार्न र दुःख पाएका बिरामीको उपचार गर्न पाइने भएकाले उनलाई डाक्टरी पेशा मन परेको हो । उपचार नपाएका गरीब बिरामीलाई सहयोग गर्ने मन बनाएकी प्रियाले अहिले नयाँ विचार बनाएकी छन् । “मानिसलाई उपचारै गर्नु नपर्ने अवस्था सिर्जना गर्नु अझ राम्रो हो” उनी भन्छिन्, “त्यसैले ‘पब्लिक हेल्थ’ मा काम गर्ने चाहना छ ।”

कृष्णले सर्जन बन्ने योजना बनाएका छन् । सर्जरीको पढाइ सकेर माइती नेपालकै ‘हेल्थ क्लिनिक’ मा काम गर्ने उनको योजना छ । त्यस्तै, सम्झनालाई विशेषज्ञ डाक्टर बन्न एमडी/एमएस तह पढ्ने इच्छा छ । उनी भन्छिन्, “भविष्यमा गरीब र विभिन्न खालको हिंसामा परेर उपचारबाट बञ्चित बिरामीको सेवा गर्ने चाहना छ ।”

प्रतिकृया दिनुहोस