रिपोर्टआइतवार, पौष १६, २०७४

पर्यटक भित्र्याउँदै हेरिटेज होम

सविता श्रेष्ठ

जीर्णोद्धार गरी पुरानै शैली र मौलिकपनमा आधुनिकता थपिएका ललितपुर, पाटनका थुप्रै घर यतिबेला हेरिटेज होम (सम्पदा घर) बनेर पर्यटक भित्र्याइरहेका छन्।

ललित हेरिटेज होम । तस्वीरहरुः बिक्रम राई/गोपेन राई

भत्किन थालेको घरलाई मर्मत गरेर बस्नुभन्दा नयाँ घर बनाउनु नै जाती– देवेन्द्र श्रेष्ठका धेरै छिमेकीहरूले यसो भन्दै कंक्रिटका घर ठड्याए ।

तर, ललितपुर पाटनका श्रेष्ठलाई मल्लकालदेखि पुर्खाले जोगाएको घर भत्काउन मन भएन । मनले मात्र घर बलियो पार्ने अवस्था पनि थिएन । 

त्यही बेला नेपालस्थित युनेस्को शाखाले श्रेष्ठको झण्डै ३५० वर्ष पुरानो यो घरको जीर्णोद्धारमा चासो देखायो । ३० हजार डलरसमेत दियो । त्यसमा रु.२० लाख जति थपेर चार वर्ष लगाएर उनले घर बलियो बनाए । ढुक्कले बस्न थाले ।

केही वर्षपछि उनलाई त्यत्रो खर्च गरेर जीर्णोद्धार गरेको घरबाटै केही आम्दानी पनि गर्न सकिन्छ कि भन्ने सोच पलायो । युनेस्कोकै सल्लाहमा घरलाई पर्यटकीय महत्वको होटलकै रुप दिने निर्णय भयो । त्यसपछि श्रेष्ठले बस्नका लागि छेउमै अर्को घर बनाए । पुख्र्यौली घर अहिलेको ‘नेवाःछें’ बन्यो ।

११ वर्षअघि नेवाःछें खोलिनुमा पुरानो घर नभत्काउने आफ्नो निर्णयको प्रतिफल ठान्छन् श्रेष्ठ । “अरुले जस्तै पुरानो भनेर भत्काएको भए आज यो दिन देख्न पाउने थिएनौं”, उनी भन्छन् ।

आठ कोठाको नेवाःछेंलाई उनले नेवारी शैली र संस्कृति झल्काउने गरी तयार पारेका छन् । पर्यटकको आतिथ्य तथा सेवामा परिवारका सदस्य नै खटिन्छन् । रोचक त के छ भने नेवाःछेंकै अनुसरण गर्दै पाटनका धेरै पुराना घर पर्यटकका बसोबास स्थल बन्न थालेका छन् ।

पाटन, सौगलका नवीनमान प्रधानलाई राणाकालीन करीब २०० वर्षे घर पुरानो नलागेको होइन । तर, घर भत्काउने भन्दा पनि प्रधानले इन्टेरियर डिजाइनर तथा आर्किटेक्ट पत्नी मन्तिसँग मिलेर जीर्णोद्धार गर्न थाले ।

नेवाःछें ।

पुरानो घरलाई ‘सम्पदा घर’ बनाई पर्यटकलाई सेवा दिने योजनामा रहेका उनले चार वर्षमा ९५ प्रतिशत काम पनि सिध्याइसकेका छन् । एउटा घरमा त दुई वर्षअघि नै ‘बुटिक हेरिटेज होम’ सञ्चालनमा ल्याइसकेका छन् । 

“घरको स्वरुप, उँचाइ केहीमा परिवर्तन नगरी रेट्रोफिट गरेर बलियो बनाएका छौं” प्रधान भन्छन्, “पर्यटकले पुरानो शैलीको नयाँ घरमा बसेको अनुभव गर्छन् ।” एउटा नयाँ घरसहित तीनवटा घरमा १७ कोठा र दुई अपार्टमेन्ट छन् ।

सिङ्गो काठमाडौं उपत्यकालाई सम्पदाको शहर मानिन्छ । उपत्यकाभित्रका पुराना बस्तीका मौलिकता झल्किने घरले संस्कृति र परम्पराको छुट्टै परिचय बोकेको छ । पाटनका भित्री क्षेत्रमा त ऐतिहासिक बनावट, कला, शैली र मौलिकता भरिएका घरहरू प्रशस्त छन् ।

परम्परागत शैलीमा तेली ईंटाको प्रयोगबाट बनाइएको घर जीर्णोद्धार गरेर नयाँ बनाइएका ‘हेरिटेज होम’ मार्फत पर्यटकले उपत्यकाको संस्कृति र मौलिकपन अनुभव गरिरहेका छन् । २०७२ सालको भूकम्पपछि पुनःनिर्माण गरिएका केही घरहरूले समेत यो सेवा शुरु गरेका छन् ।

पाटन नागबहालस्थित ‘धाख्वा हाउस’ पनि पुरानै घरको परिमार्जित स्वरुप हो । १०० वर्ष पुरानो यो घरलाई मालिक प्रकाश धाख्वाले आठ वर्षसम्म त बन्द नै गरे । त्यहीबेला आर्किटेक्ट साथी जितेन्द्र श्रेष्ठले घरलाई जीर्णोद्धार गरेर ‘टुरिस्ट एकोमोडेशन’ बनाउन सल्लाह दिए ।

हस्तकला र साइबर क्याफे व्यवसाय सञ्चालन गरिरहेका उनलाई सुझाव मन पर्‍यो । “साइबर व्यवसाय राम्रोसँग चलिराखेको पनि थिएन” सात वर्षअघिको क्षण सम्झँदै उनी भन्छन्, “डेढ वर्ष लगाएर ‘रेनोभेट’ गरें, पाँच वर्षदेखि पर्यटकलाई सत्कार गरिराखेको छु ।” 

सोलार कुकर, सोलार हीटर, सोलार ड्रायर, सोलार वाटर हीटिङ, रेन वाटर हार्भेस्टिङ पद्धति जडान गरिएको यो धाख्वा हाउसको व्यवस्थापनमा पत्नी प्रमिलासँगै छोरा प्रणय पनि खटिन्छन् ।

पर्यटकलाई वरिपरिको ठाउँ, बजार घुमाउने, किनमेल तथा खानेकुरा बनाउनमा पनि सहभागी गराउँछन् । “घरमै पर्यटकलाई नेवारी र नेपाली स्वादका खानेकुरा खुवाउँछौं”, उनी भन्छन्, “कहिलेकाहीं पर्यटकले पनि आफ्नो देशका परिकार बनाएर खुवाउँछन् । परिवार जसरी बस्छौं ।”

बीएण्डबी सेवा
बीएण्डबी सर्भिस अर्थात् बेड एण्ड ब्रेकफास्ट सेवा । पाटनका अधिकांश हेरिटेज होममा पर्यटकका लागि यो सेवा उपलब्ध छ । ट्राभल पोर्टल ट्रिपएडभाइजरका अनुसार, पाटनमा मात्र यस्ता ५४ वटा होम छन् ।

‘ललित हेरिटेज होम’ पाटन, मंगलबजारको अर्को घर हो, जहाँ तीन वर्षदेखि पर्यटक पाहुना बनिरहेका छन् । पाटन दरबार स्क्वायरको दृश्य छतबाटै प्रष्ट देखिने यो होमले पनि बीएण्डबी सुविधा प्रदान गर्छ ।

बुटिक हेरिटेज होम ।

ललितपुर पिम्बहालका शैलेन्द्र श्रेष्ठले दुई वर्षदेखि सञ्चालन गरेको ‘तःजा फ हेरिटेज होम’ मा पनि यो सुविधा छ । शान्त वातावरण तथा संस्कृतिबारे चासो राख्ने पर्यटक अनलाइनमार्फत बुकिङ गरेर यो होममा आइपुग्छन् । विदेशमा बसिरहेका नेपाली पनि अनुभवका लागि आउने गरेको श्रेष्ठ बताउँछन् ।

ठूला व्यावसायिक होटल भन्दा पनि पर्या–पर्यटनबाट थालिएका यस्ता ‘हेरिटेज होम’ मा बीएण्डबी अवधारणा लागू गरिएको पाइन्छ । बीएण्डबी सेवाले पर्यटक र हेरिटेज होम सञ्चालक दुवैलाई सजिलो बनाएको छ ।

पर्यटकले बिहानको नास्तापछि आफूखुशी लञ्च र डिनर बाहिर खान पाउँछन् । सञ्चालकलाई पनि लञ्च, डिनरको प्रबन्ध नगर्दा घरकै सदस्यले मात्र पनि सेवा दिन सक्छन् । “यो अवधारणामा घरधनीले नै पर्यटकको हेरचाह गर्छन्”, नेवाःछेंका देवेन्द्र श्रेष्ठ भन्छन् ।

पाटनमा बीएण्डबी सेवा दिइरहेका हेरिटेज होमहरू संगठित प्रयासमा छन् । सात महीनाअघि गठित पाटन बीएण्डबी एसोसिएसनमा ३५ जना हेरिटेज होम सञ्चालक सदस्य छन् ।

एसोसिएसन तदर्थ समितिका अध्यक्ष शैलेन्द्र श्रेष्ठ हेरिटेज होम सञ्चालनले पाटनमा पर्यटकको बसाइ लम्बिएको बताउँछन् । “अहिले पाटनलाई आधा दिनको टुरमा मात्र राखिने गरिएको छ” उनी भन्छन्, “स्थानीय परम्परा, संस्कृति र मौलिकता बुझाएर उनीहरूलाई तीन/चार दिनसम्म मजाले राख्न सकिन्छ ।”

पर्यटकलाई स्थानीयपनको अनुभूति गराउन हेरिटेज होमहरूले प्रयास गरिरहेको बताउँदै श्रेष्ठ होमस्टे र होटल भन्दा फरक अवधारणामा हेरिटेज होम सञ्चालन भइरहेको दाबी गर्छन् । “संस्था दर्तापछि हेरिटेज होमलाई छुट्टै वर्गमा राख्न सरकारसमक्ष आग्रह गर्छौं”, उनी भन्छन् ।

प्रतिकृया दिनुहोस